ad ad

खेल


साग महिला भलिबल: जवाफ फर्काउने बेला

साग महिला भलिबल: जवाफ फर्काउने बेला

लक्ष्मी जि.सी
मंसिर ११, २०७६ बुधबार ५:४,

नेपाल भलिबल संघले गत जेठ १५ गते १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि २५ सदस्यीय प्रारम्भिक राष्ट्रिय महिला टोली घोषणा गर्दा धेरै अचम्मित बने। कारण, घोषित प्रारम्भिक टोलीबाट कप्तान, उपकप्तानसहित ७ जना सिनियर तथा अनुभवी खेलाडीहरु फालिएका थिए।

कप्तान विनिता बुढाथोकी, उपकप्तान मन्जु गुरुङसहित अनुभवी खेलाडीहरु नेविका चौधरी, कोपिला उप्रेती, कृपा अधिकारी र मनिषा चौधरी लगायतको स्थानमा भलिबल संघले अधिकांश निकै नयाँ खेलाडीहरुलाई समावेश गरेको थियो।

दक्षिण एसियाली खेलकुद (साग) जस्तो प्रतिस्पर्धी र देशकै प्रतिष्ठासँग जोडिएको प्रतियोगितामा ह्वात्तै आफूहरुलाई फालिएकोमा अनुभवी खेलाडीहरुलाई चित्त बुझेको थिएन। तत्कालिन कप्तान विनिता बुढाथोकीले पनि झन्डै १५ जनाभन्दा बढी अनुभवी खेलाडीहरुलाई बाहिर राखेको र भर्खर सिक्दै गरेकालाई टोलीमा समावेश गरेको भन्दै खुलेरै असन्तुष्टि व्यक्त गरिन।

उनले मनिषा चौधरी, मनिषा तामाङ, नेविका चौधरी, मन्जु गुरुङ, पुजा चौधरीजस्ता खेलाडीलाई प्रारम्भिक चरणमै पछार्ने कस्ता खेलाडी रहेछन् भनि सागमा ‘हेर्ने इच्छा’ रहेको समेत भन्न भ्याइन।

भलिबल संघले भने त्यसबेला भविष्य मध्यनजर गर्दै युवा टोली खेलाडीलाई समावेश गरेको भन्दै आफ्नो निर्णयको बचाउ गर्यो। घोषित २५ सदस्यीय प्रारम्भिक टोलीमा अरुणा शाही, रेश्मा भण्डारी, प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन, हीरा केसी र उषा विष्ट बाहेक सबै नयाँ अनुहार थिए।

त्यही टोलीबाट छानिएका ६ नयाँ अनुहारसहितको नेपाली राष्ट्रिय महिला टोलीले बुधबार (मंसिर ११) सागको पहिलो खेलमा बंगलादेशको सामना गर्दैछ। सागको उद्घाटन अघि नै शुरु भइरहेको भलिबलको पहिलो खेलमा नेपालले दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बंगलादेशविरुद्ध खेल्न लागेको हो।

मैदानमा उत्रदा नेपाली टोलीका सदस्यले एकातिर पूराना खेलाडीको ‘हेर्ने इच्छा’ को जवाफ खेलेर फर्काउनु पर्नेछ। अर्कातिर यसपटक नेपालको स्वर्ण सपनालाई साकार पार्ने जिम्मेवारी उनीहरुको काँधमा हुनेछ।

कप्तान अरुणा शाहीका मनमा यी दुवै कुरा खेलिरहेका छन्। उनी भन्छिन्, ‘सिनियर खेलाडीहरुको बर्हिगमनले त्यसबेला मलाई पनि दुखी बनाएको थियो। तर, पुराना खेलाडीहरु सधै टिममा रहने हो भने नयाँ खेलाडीले कहिले अवसर पाउने?’

अरुणाको टिमले अघिल्लो महिना बंगलादेशमा भएको पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्दै आफूहरु राष्ट्रिय टिममा ठाँउ ओगट्नमात्रै नआएको र ‘हेर्ने इच्छा’ भएकाहरुलाई एक चरणमा जवाफ भने फर्काइसकेको छ।

सेन्ट्रल जोनको उपाधि जित्दै नेपाली चेलीहरुले इतिहास रचेका थिए। जुन नेपाली भलिबल इतिहासकै पहिलो उपाधि थियो। त्यसको सम्मानस्वरुप सरकारले मंगलबारमात्रै सो टोलीका सदस्यलाई प्रतिखेलाडी ३ लाखसहित पुरस्कृत गरिसकेको छ।

स्वर्णिम अवसर

सेन्ट्रल जोन खेल्नुअघि नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड गएको थियो। त्यहाँ तीन हप्ताको प्रशिक्षणका क्रममा खेलेका ७ खेलमध्ये नेपालले ४ मा जित हात पारेको थियो।

सागमा यसपटक नेपाली महिला टोलीलाई बलियो उपाधि दाबेदार टोलीका रुपमा हेरिएको छ। घरेलु मैदान, राम्रो प्रशिक्षण, सेन्ट्रल जोनको उपाधि र सरकारको सम्मानले नेपाली महिला टोली हौसिएका छन्।

सागमा तीनपटक सहभागिता जनाएको नेपाली महिला टोलीले हालसम्म रित्तो हात फर्कनु परेको छैन। सन् १९९९ मा भएको आठौं साग, सन् २००६ मा भएको दशौं साग र सन् २०१६ मा भएको १२औं सागमा गरि तीनवटै सहभागितामा नेपाली महिला टोलीले कास्य पदक जितेको छ। यसपटक भने त्यो भन्दा राम्रो प्रदर्शनको अपेक्षा गरिएको हो।

‘हाम्रो लक्ष्य स्वर्ण नै हो। हाम्रो त्यसै अनुसारको तयारी छ। सेन्ट्रल जोनको उपाधिले पनि हौसला थपिएको छ,’ कप्तान शाहीले भनिन।

समूह ए मा रहेको नेपालसँग लिग चरणमा बंगलादेश र भारत भिड्नेछन। बंगलादेशलाई अघिल्लो महिना भएको सेन्ट्रल जोनमा नेपाली टोलीले सोझो सेटमै पराजित गरेका थिए। भारतलाई पनि पराजित गर्नेमा प्रशिक्षक जगदिश भट्ट विश्वस्त देखिए।

‘भारत बलियो प्रतिद्वन्द्वी हो तर, हामीले आफ्ना कमीकमजोरी सुधार्दै उनीहरुका कमजोरी केलाएका छौं। घरेलु मैदानको फाइदा उठाउँदै लिग चरणमै उनीहरुलाई स्तब्ध पार्ने हाम्रो योजना छ,’ प्रशिक्षक भट्टले भने।

नेपाली टोलीको बलियो पक्ष स्पाइक हो। टोलीका स्पाइकरहरु यसपटकको तयारीले सन्तुष्ट देखिनुका साथै नजिता आउनेमा समेत विश्वस्त देखिए।

‘यसपटक प्रशिक्षण र तयारी पनि राम्रै भएको छ,’ नेपाली टोलीकी स्टार स्पाइकर प्रतिभा मालीले भनिन्, ‘पहिलेको भन्दा टिम बलियो देखिएको छ। थाइल्याण्डमा पनि खेल्यौं। प्रशिक्षण र तयारी अनुसार नतिजा पनि उत्कृष्ट आउने अपेक्षा गरेका छौं।’ प्रतिभा सेन्ट्रल जोनमा उत्कृष्ट स्पाइकर समेत घोषित भएकी थिइन।

woman volleyball 4राखेप कभर्डहल त्रिपुरेश्वरमा अभ्यास गर्दै खेलाडीहरू। तस्बिर स्नेहा केसी।

नेपाली महिला टोली

अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, पुनम चन्द र सलिना श्रेष्ठ जगदिश भट्ट (मुख्य प्रशिक्षक), सलिना श्रेष्ठ (प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र रीता कोइराला (व्यवस्थापक)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .