उदीयमान एथलेटिक्स खेलाडी निशा चौधरी नेपाली खेलकुदका लागि साताअघिसम्म गुमनाम नाम हो।
खेलाडीदेखि संघसम्म उनलाई धेरैले चिन्दैनथे। तर गत साता काठमाडौमा सम्पन्न १२ औँ केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उनी चर्चामा आइन्।
छोटो समयबीच हतार हतारमा गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४ कीर्तिमान बने। ती ४ कीर्तिमानमध्ये तीनवटा निशाका नाममा रहे
लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै खेलेकी निशाले २ व्यक्तिगत र एक टिम स्पर्धामा कीर्तिमान बनाइन्। छात्रा लङ जम्पमा उनले ५.४७ मिटर जम्प गर्दै कीर्तिमान बनाइन्।
शिला चौधरीले सन् २०१८ अप्रिल २३ मा बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमान निशाले भंग गरिन्। १ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै उनले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन्।
४ गुणा १ सय मिटर रिलेमा निशाले रेशु थारु, रामकुमारी थारु र सम्झना थारूसँग मिलेर ५४.२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाइन्।
छात्र लङ जम्पमा भने सुदिप थारूले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाए।
प्रतियोगिता सुरु हुँदासम्म निशालाई पनि लागेको थिएन यतिका कीर्तिमान आफ्नो नाममा लेखिन्छन् भनेर। विद्यालयबाट जिल्ला र प्रदेश छनोट छिचल्दै काठमाडौंमा खेल्न आएकी निशा खेलेर घर फर्किने सोचमा थिइन्।
एक महिनाको छोटो प्रशिक्षण मौका पाएकी निशा राष्ट्रिय प्रतियोगितामा तीन कीर्तिमान आफ्नो नाममा लेखाउन पाउँदा दङ्ग छिन्।
***
साता अघिसम्म कसैले वास्ता नगर्ने निशा अहिले धेरैको नजरमा परिसकेकी छन्। उनी विभिन्न ठाउँबाट सम्मान थापिरहेकी छन्। यो देखेर उनको परिवार पनि दङ्ग छ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१६, भेलागी गाउँमा जन्मिएकी १७ वर्षीया निशा एथलेटिक्स मात्र होइन, तेक्वान्दो पनि खेल्छिन्। खेल जीवन थालेको ५ वर्षमै उनले राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन्।
कक्षा ८ मा पढ्दै गर्दा उनी खेलकुदमा तानिइन्। परिवारमा बुवाको साथ मिलेपछि उनी खेल्न थालिन्। बुबाआमा, तीन दिदीबहिनी र एक भाइसहितको परिवार छ उनको।
परिवारमा निशाबाहेक भाइ पनि खेलकुदमा रुचि राख्छन्। उनका भाइ विद्यालयबाटै फुटबल र एथलेटिक्स खेल्छन्। निशाका बुवा भारतको होटलमा काम गर्छन्। आमा घरमा नै खेतीमा व्यस्त हुन्छिन्।
परिवारको आर्थिक अवस्था कमजोर भए पनि खेल यात्रालाई रोक्नुपर्ने अवस्था अहिलेसम्म आएको छैन उनले। खेलकुदका लागि चाहिने सामाग्री आमाबुवासँग नै पैसा मागेर किन्ने गर्छिन्। आमाबुवाले आफूसँग नहुँदा छिमेकीसँग सापट मागेर भए पनि दिन्छन्। निशा पनि पुरस्कारबाट आएको रकम परिवारलाई नै दिन्छिन्।
निशा प्रशिक्षणका लागि सँधै जान सक्दिनन्। घरबाट केही टाढा भएकाले उनी शुक्रबार र शनिबार प्रशिक्षण गर्न प्रशिक्षककहाँ पुग्छिन्।
उनलाई दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरीले प्रशिक्षण दिन्छिन्। 'निशा एकदमै मिहिनेती खेलाडी हुन्', प्रशिक्षक चौधरी भन्छिन्, 'हामी नहुँदा पनि उनी एक्लै प्रशिक्षण गर्छिन्।'
आर्थिक स्थिति कमजोर भए पनि खेलकुदमा बलियो पकड जमाउने प्रयासमा छिन् निशा। उनको घरबाट प्रशिक्षणस्थल पुग्न धेरै समय लाग्छ। गाउँबाट शहरसम्म प्रशिक्षणमा आउन टाढा हुनाले उनी सेल्फ ट्रेनिङमा जोड दिन्छिन्।
***
निशा हरेक दिन बिहान एथलेटिक्स अभ्यास गर्छिन्। साँझमा तेक्वान्दो। अहिले पनि तेक्वान्दोको प्रशिक्षणलाई निरन्तरता दिइरहेकी निशा अब भने एथलेटिक्सलाई मात्रै अगाडि बढाउने योजनामा छिन्।
उनी पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्ने तरखरमा छिन्। नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्सबाटै खेल्ने मनसायमा छिन्। 'अहिले तयारी सुरु गरेको छैन। अब पद्मा गुरुले (पद्मा चौधरी) बोलाएपछि प्रशिक्षण जान्छु होला', उनी भन्छिन्, 'घरमा एक्सरसाइज गर्ने अनि प्रशिक्षणमा जाने हो।'
काठमाडौ आउँदा राष्ट्रिय कीर्तिमानबारे नसोचेकी निशा अब कीर्तिमान सुधार गर्दै जाने लक्ष्यमा छिन्। 'कीर्तिमान बन्दा खुसी लाग्यो', निशा भन्छिन्, 'विद्यालय र जिल्लामा खेल्दा धेरैले चिन्दैनथे। कीर्तिमान बनाएपछि धेरैले चिन्ने रहेछन्।'
कीर्तिमान बनाएपछिको खुसी उनी शब्दमा बयान गर्न सक्दिनन्। तीन कीर्तिमान बनाउँदा कस्तो लाग्यो भनेर सोध्दा उनी मज्जाले हाँसिन्।
'एकदम खुसी लागेको छ', उनले भनिन्। कम शब्द प्रयोग गरे पनि उनको हाँसोले सबै कुरा बयान गरेको हुन्छ।
अबको उनको लक्ष्य लुम्बिनी प्रदेशका लागि खेल्ने हो। बिस्तारै राष्ट्रिय टोलीको लागि यात्रा तय गर्ने योजना बुनिसकेकी छन्। खेल जीवनलाई अगाडि बढाउने भन्ने ठोस योजना उनीसँग छैन। तर निशाले नेपालबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै खेल्ने ठूलो सपना साँचेकी छन्।
तस्बिरहरु- उत्सव शाक्य
Shares
प्रतिक्रिया