अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन्दीप लामिछानेमाथि लागेको आरोपको विषयमा चासो देखाएको छ।
आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई सम्पर्क गरेर सन्दीपमाथि लागेको बलात्कारको आरोपको विषयमा चासो देखाएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए।
‘आईसीसीले पनि बारम्बार चासो राखेको छ। के हुन सक्छ भनेर सोधेको थियो। हामीले नेपालको कानुनअनुसार यो गम्भीर आरोप भएको बतायौँ। उहाँहरुले पनि गम्भीर रुपमा लिनु भएको छ’, बिहीबार सचिव मल्लले भने।
आईसीसीको शीर्ष नेतृत्वले नै यस बारेमा आफूलाई बारम्बार सोधेको मल्लले बताए। नेपाली क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध बलात्कारको आरोपमा मंगलबार १७ वर्षीया किशोरीले जाहेरी दिएकी छन्। उनको जाहेरीसँगै घटना बारे प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
घटनामा उनीहरु बसेका होटलका सीसीटीभी फुटेज संकलन तथा यससँग जोडिएका व्यक्तिहरुसँग सोधपुछ थालेको छ। सन्दीपविरुद्ध पक्राउ पुर्जी भने जारी भइसकेको छैन। सन्दीपले क्यानसँग सम्पर्क गर्दै आरोप झुटो भएको र आफू नेपाल फर्किएर कानुनी प्रतिवाद गर्ने बताएका छन्।
यसका लागि उनले क्यानसँग कानुनी सल्लाह तथा वकिलको बन्दोबस्त गर्न सहयोग समेत माग गरेका छन्। क्यानले कानुनी उपचारमा जान सन्दीपलाई सहयोग गर्ने बताएको छ। क्यानले भने उनको विषयमा अहिले कुनै छानबिन अगाडि नबढाउने भएको छ।
Shares
प्रतिक्रिया