नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेल सम्मिलित स्पोर्टस् उडिसाले भारतीय महिला लिगमा चौथो जित हासिल गरेको छ।
मंगलबार बिहान भएको खेलमा उडिसाले इस्ट बंगाल एफसीलाई २–१ गोलअन्तरले हराएको हो।
उडिसाको जितमा रेखा पौडेल र रितु देवीले एक/एक गोल गरे। इस्ट बंगालका लागि मौसमी मुर्मुले एक गोल फर्काइन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा भए।
खेलको ६०औं मिनेटमा रेखाले गोल गर्दै उडिसालाई सुरुवाती अग्रता दिलाइन्। ६३औं मिनेटमा इस्ट बंगालकी मौसमी मुर्मुले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।
खेलको इन्ज्युरी समयको चौथो मिनेटमा रितु देवीले गोल गर्दै उडीसाको जित पक्का गरिन्।
जितसँगै उडिसा समूह बीको अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ। उडिसाले ५ खेलमा चार खेलमा जित र एक खेलमा हार भोग्दै १२ अंक बनाएको छ।
समूहको तेस्रो स्थानमा किकस्टार्ट एफसी कर्नाटक छ। किकस्टारमा नेपाली राष्ट्रिय टोलीकै मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटे आबद्ध छन्। किकस्टार पनि १२ अंकमा तालिकाको तेस्रो स्थानमा छ।
राष्ट्रिय टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा सम्मिलित सेथु एफसी भने १५ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
Shares
प्रतिक्रिया