एनएससी काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपालले विजय सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबारदेखि सुरु प्रतियोगितामा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा पाखा लगाएको हो।
एकपक्षीय खेलमा नेपालले पाहुना टोलीमाथि २५–११, २५–१९ र २५–११ को सहज जित निकालेको हो।
कीर्गिस्तानविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लबकी संगम महतो र न्यु डायमण्ड स्पोर्टस् क्लबकी रिमा कुँवरले डेब्यु गरे।
समुह ए मा रहेको नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्ने तालिका छ।
आजै भएको समूह बी को पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो।
उज्वेकिस्तानले श्रीलंकालाई २७–२५, २५–२० र २५–१४ ले हराउँदै विजयी सुरुवात गरेको हो।
सोमबारको दोस्रो तथा समुह ए को पहिलो खेलमा भारतले बगंलादेशलाई सोझो सेटमा नै हरायो। एकपक्षिय खेलमा भारतले बंगलादेशमाथि २५–३, २५–९ र २५–६ को सहज जित निकाल्यो।
सोमबारको लिग चरणको अन्तिम खेलमा समुह बी का मालदिभ्स र काजकस्तान खेल्नेछन्। खेल साँझ ७ बजे हुनेछ।
संगम र रिमाको डेब्यु
सोमबारदेखि सुरु काभा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत कीर्गिस्तानविरुद्धको खेलमा संगम महतो र रिमा कुँवरले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्।
मिडल ब्लकर संगम महतोले किर्तिस्ताविरुद्धको खेलमा राष्टिय टोलीमा डेब्यु गरिन्।
घरेलु भलिबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमा आवद्ध छिन्। पछिल्लो समय घरेलु प्रतियोगिता उच्च प्रर्दशन गर्दै आएकी संगमले छनोटमा पनि त्यसलाई कायम राखेपछि विदेशी प्रशिक्षक जान डे ब्रान्टको नजरमा पर्न सफल भइन्।
कीर्गिस्तानविरुद्धकै खेलबाट न्यु डायमण्ड युथ स्पोट्र्स क्लबकी रिमा कुँवरले छोटो समयमा नै राष्ट्रिय टोलीमा डेब्यु गरिन्।
घरेलु प्रतियोगितामा रिमा न्यु डायमण्डबाट खेल्दै आएकी छिन्। न्यु डायमण्ड सहभागी नभएको प्रतियोगितामा भने बाग्लुङकी रिमाले रिमाले गण्डकी प्रदेशबाट खेल्दै आएकी छिन्।
रिमाले नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको प्रतिनिधित्व गरेकी थिइन्।
Shares
प्रतिक्रिया