कीर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै श्रींलकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा पाँचौ स्थान हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न खेलमा श्रीलंकाले कीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै पाँचौं स्थान हात पारेको हो।
एक पक्षीय खेलमा श्रीलंकाले कीर्गिसतानलाई २५–११, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गरेको हो। त्यस्तै माल्दिभ्सले बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै सातौं स्थान हात पारेको छ।
शनिबार नै सम्पन्न खेलमा माल्दिभ्सले पहिलो सेट गुमाएपनि त्यसपछि लगातार तीन सेट जित्दै सातौं स्थान हात पारेको हो। माल्दिभ्सले २१–२५, २५–१४, २५–२३ र २५–१५ ले हराउँदै सातौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको हो।
बंगलादेश भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रहँदै प्रतियोगिता टुङ्गाएको छ।
प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको लागि आइत्बार नेपाल र उज्वेकस्तानबीच प्रतिस्पर्धा हुनेछ। नेपाल र उज्वेकस्तानबीचको खेल बिहान ११ बजे सुरु हुनेछ।
नेपाल दोस्रो सेमिफाइनल खेलमा काजस्कतानसँग ३–२ को सेटमा पराजित हुँदै बाहिरिएको थियो भने उज्वेकिस्तान भारतसँग पराजित भएको थियो।
उज्वेकस्तान पहिलो सेमिफाइनल खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। उपाधिको लागि आइतवार नै भारत र काजस्तानबीच दिउँसो ४ बजे खेल हुनेछ।
Shares
प्रतिक्रिया