बलात्कार मुद्दाको टुंगो नलाग्दा राष्ट्रिय टिमसँग दक्षिण अफ्रिका जान नपाएका सन्दीप लामिछानेले टोलीलाई शुभकामना दिएका छन्। मैत्रिपूर्ण खेलका लागि नेपाली टोली राति २ बजे त्यसतर्फ प्रस्थान गर्दैछ।
दक्षिण अफ्रिका जाने टोलीमा सन्दीप पनि समावेश थिए। प्रशिक्षक मोन्टी देसाइले सन्दीपलाई समेट्दै १६ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए। यही टोलीले असार ३ गतेदेखि सुरु हुने विश्वकप छनौट पनि खेल्नेछ।
तर सन्दीप लामिछानेले भने अन्तिम समयमा टोलीसँगै नजाने निर्णय लिए। जिल्ला अदालत काठमाडौंमा उनीविरुद्धको बलात्कार मुद्दाको पेशी तोकिएको थियो। अदालतबाट सफाइ पाएमा ढुक्कले खेल्न जाने सोचमा सन्दीप थिए।
तर यसपटक पनि अदालतले फैसला नगरेपछि सन्दीप निराश हुँदै टोलीबाट बिदा भए। मंगलबार पेशी तोकिएपछि फैसला हुने अपेक्षामा उनी बन्द प्रशिक्षणबाट समेत बिदा लिएर मुद्दाको तयारीमा लागेका थिए।
तर पटक पटक पेशी तोकिए पनि अदालतले फैसला गरेन। न्यायाधीश शंकरबहादुर राईले किशोरीले क्षतिपूर्तिका लागि दिएको निवेदन पनि सँगै राखेर पेश गर्न भन्दै मंगलबार मुद्दाको सुनुवाई नै गरेनन्। यसअघि पनि विभिन्न बहानामा अदालतले पेशी फैसला पछि धकेल्दै आएको छ।
यो मुद्दा छिटो टुंग्याउन तीन महिना पहिले नै सर्वोच्च अदालतले आदेश दिएको थियो। तर सर्वोच्चको आदेश जिल्ला अदालतका न्यायाधीशहरुले मानेनन्। जसले सन्दीपको मुद्दा फास्ट ट्रयाकमा फैसला हुन सकेन।
अदालतको ढिलासुस्तीले सन्दीपले अफ्रिकामा हुने दुई खेल गुमाउने पक्का भएको छ। अर्को साता पेशी तोकिने भएपछि सन्दीप अफ्रिका जान नपाएका हुन्। पेशी पछि धकेल्न सन्दीपले निवेदन दिन सक्ने भएपनि मानसिक रुपमा खेल्नका लागि तयार नरहेकाले उनले क्यान र प्रशिक्षकलाई निवेदन दिँदै टोलीबाट बिदा लिएका हुन्।
सन्दीप यसअघि टोलीसँगै रहेको होटलबाट बिदा भएर घर फर्किएका छन्।
अफ्रिका जाने टोलीलाई उनले शुभकामना दिएका छन्। जहाँ उनले नेपाली क्रिकेट टिमका सहकर्मीको तस्बिर पनि पोष्ट गरेका छन्। फेसबुक र ट्विटरमा उनले गरेको पोष्टमा आफ्नो तस्बिर भने हटाएका छन्।
यसअघि नेपालले घरेलु मैदानमा त्रि देशीय सिरिज जितेको थियो। जुन तस्बिरको छेउमा सन्दीप थिए। उनले आफ्नो तस्बिर हटाएका छन्।
सन्दीपले फेसबुकमा लेखेका छन्, ‘मलाई तपाईहरु र तपाईहरुको क्षमतामा विश्वास छ। तपाईहरु सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वलाई आफ्नो क्षमता देखाउनु भएको छ। यो तपाईहरु सबैले आफ्नो क्षमतामा विश्वास गर्ने समय हो। तपाई जहाँ जाँदैहुनुहुन्छ आफ्नो उत्कृष्ठ दिनुहोस्। टोलीलाई सफलता र सुरक्षित यात्राका लागि शुभकामना।’
नेपाली टोली यहि महिनाको अन्तिममा दुई अभ्यास खेलका लागि जिम्बाबे पुग्ने छ। त्यतिबेलासम्म फैसला भए र सफाइ पाएमा सन्दीप जिम्बावे जानेछन्। जिम्बावेमा असार ३ गतेदेखि विश्वकप छनौट सुरु हुँदैछ। त्यसअघि नेपालले ओमान र युएईसँग अभ्यास खेल खेल्नेछ।
Shares
प्रतिक्रिया