दक्षिण एसियाको महिला फुटबलमा सावित्रा भण्डारी नौलो नाम होइन। सावित्रा भन्दा पनि साम्बाको नामबाट उनी चर्चित छिन्।
उनलाई दक्षिण एसियाकै उत्कृष्ट महिला फरवार्ड मान्नेको पनि कमी छैन। राष्ट्रिय टोलीबाट खेल्दा होस् वा व्यवसायिक क्लबबाट होस् उनी नियमित स्कोरर हुन्।
उनी अधिकांश खेलमा गोल गरिरहेकी हुन्छिन्।
स्वदेशमा मात्र होइन विदेशी लिगमा पनि उनको चर्चा हुने गर्छ। केही साताअघी सम्पन्न भारतीय महिला लिगमा गोकुलम केरला एफसीलाई च्याम्पियन बनाउँदा साम्बाको भूमिका महत्वपूर्ण रह्यो।
टोलीले फाइनल सम्म खेलेका १० खेलमा उनले ८ खेलमा गोल गरेकी थिइन्। उनी २९ गोलका साथ सर्वाधिक गोलकर्ता बनिन्। सर्वाधिक गोलकर्ता बनेको उनको यो दोस्रो पटक हो।
भारतीय लिगमा तीन सिजन खेलिसकेकी साम्बा दुई पटक गोलकुलमबाट च्याम्पियन बनिन् भने पहिलो सिजनमा सेथुलाई च्याम्प्यियन बनाउन आफ्नो बलियो उपस्थिति जनाएकी थिइन्। चोटका कारण उनले यसअघिको भारतीय लिग गुमाएकी थिइन्।
पुनरागमनपछि उनले खेलेको यो पहिलो विदेशी लिग थियो। भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपबाट उनले राष्ट्रिय टोलीमा पूनरागमन गरेकी थिइन्।
पहिला पहिला भारतमा पनि भाषाका कारण उनलाई असहज हुने गरेको थियो। यो पटक भने उनले भाषामा त्यस्तो कठिनाई भोग्नु परेन।
भारतीय लिगमा सेथबाट खेल्दा उनको साथमा एपिएफ र राष्ट्रिय टोलीकी सहकर्मी अनिता बस्नेत थिइन्। अर्को सिजन साम्बाले गोकुलम रोज्दा अनिताले सेथुमै निरन्तरता दिएकी थिइन्।
यो सिजन पनि साम्बाले गोकुलममा नै निरन्तरता दिदा राष्ट्रिय टोलीका अन्य ५ खेलाडीले पनि फरक क्लबबाट मौका पाए।
जसमा राष्ट्रिय टोलीकी कप्तान एवंम गोलकिपर सेथु, मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटे किक स्टार्ट, अनिता लर्डस र रेखा पौडेल स्पोर्टस उडिसाबाट खेलेकी थिइन्।
लिगमा पहिलो पटक ६ खेलाडी एकै पटक मौका पाउनुलाई साम्बाले सकारात्मक रूपले लिछिन्। महिला फुटबलको घरेलु प्रतियोगिता नियमित हुँदैनन्।
तीन विभागिय टोलीले महिला फुटबलको टोली बनाएका कारण महिलाको राष्ट्रिय टोली दक्षिण एसियामा चुनौती दिन सक्षम रहँदै आएको छ।
राष्ट्रिय महिला लिगका दौरान २०७७ फागुन ३ गते नेपाल पुलिस क्लब विरुद्धको खेलमा उनको घुँडामा गम्भिर चोट लागेको थियो। जसका कारण उनले सन् २०१४ पछि पहिलो पटक राष्ट्रिय टोलीबाट बाहिर रहनुपर्यो।
त्यतिबेला लयमा रहेकी साम्बाको रफ्तारमा चोटले ब्रेक लाग्यो। कतारमा शल्यक्रिया, फिजियोपछि एक वर्षभन्दा लामो समयपछि उनले फुटबलमा पुनरागमन गरेकी थिइन्।
त्यो समयलाई उनी आफ्नो खेल जीवनको सबैभन्दा कठिन समयका रुपमा लिन्छिन्। उनलाई त्यति बेला फुटबल जीवननै सकिएको लागेको थियो।
भदौमा भएको साफमा पुनरागमन गरिन् तर त्यो बेलामा पनि उनलाइ डेंगु लाग्यो।
मैदानमा गोल नहुँदा साम्बा प्रोसरमा देखिन्छन्।
‘म आफैं पनि प्रेसर लिन्छु टोलीले पनि त्यही आशा गरिरहेको हुन्छ। तर त्यसलाई म कम गर्ने प्रयास गर्छु,’ साम्बाले भनिन्।
तनावमा आउँदा उनले आफ्नो वास्तविक खेल नै देखाउन नसकेको आफैं स्वीकार्छिन्।
‘इन्टरनेशनल एक्पोजर पायो भने यति गोल गर्छु भन्ने लक्ष्य लिने हो, खेल नै नहुँदा लक्ष्य पनि लिएको छैन। खेल नहुँदा मैले बनाउने कीर्तिमानमा पनि बाधा पुग्छ जस्तो लाग्छ,’ साम्बा भन्छिन्।
फोटो/भिडिओ : सरोज नेपाल
प्रतिक्रिया