सातौँ प्रधानमन्त्री कप (एनभीए) राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार अन्तिम साता हुने भएको छ।
नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै असार २३ देखि ३० गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो।
संघले आयोजना गर्दै आईरहेको क्लव लिग भलिबलको सातौँ संस्करणमा प्रधानमन्त्रीको नाममा क्लब लिग आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद्को स्वीकृती एवं सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
गत माघमा भएको सातौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनोट भएका टोलीले लिगमा स्पर्धा गर्नेछन्।
लिगको विजेताले काभा क्लव लिग च्याम्पियनसिपमा भाग लिनेछ।
लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लव, नेपाल प्रहरी, दावाली मिलन क्लब काठमाण्डौं, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ बागढुङ्गा स्पोर्टस् क्लब रामेछाप गरी ८ क्लबले स्पर्धा गर्नेछन्।
महिलातर्फ नेपाल प्रहरी, होङवान्जी न्यु डायमण्ड युथ स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टोलीले भाग लिनेछन्।
लिगमा एक क्लवले ३ जना विदेशी खेलाडी राख्न पाउनेछन्।
प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेताले समान ६ लाख रुपैयाँ पाउनेछन्। दोस्रो हुनेले ३, तेस्रोले १ लाख ५० हजार र चौथौ हुनेले ७५ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा पुरुष तथा महिलातर्फका सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार रुपैयाँ पाउनेछन्।
यस्तै, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ हात पार्नेछन्।
प्रतियोगिता सम्पन्न गर्न ७५ लाख रुपैयाँ लाग्ने अनुमान संघले गरेको छ।
प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख रुपैयाँ दिएको छ। राखेप लिगको मुख्य प्रायोजकको रुपमा रहनेछ।
Shares
प्रतिक्रिया