सन् २००८ देखि राष्ट्रिय फुटबल टोलीबाट खेलिरहेका नेपाल पुलिस क्लबका रक्षक (डिफेन्डर) रविन श्रेष्ठ झन्डै डेढ बर्षदेखि राष्ट्रिय टोलीमा छैनन्।
घाइते भएपछि उनले राष्ट्रिय टोलीबाट खेल्न पाएनन्। दुई पटकसम्म घुँडामै गम्भीर घाइते भएपछि उनलाई फेरि खेलमा फर्किन निकै संघर्ष गर्नुपर्यो। दोस्रो पटक पनि घुँडामै गम्भीर चोट लागेपछि कतिलाई लागेको थियो अब चाहिँ रविनको खेल जीवनमा पूर्णविराम लाग्यो। तर, उनले हिम्मत हारेनन्।
दुई पटकसम्म घुँडाको शल्यक्रिया गरेर ठीक हुँदै उनी मैदानमा फर्केका छन्।
राष्ट्रिय टोलीमा लामो समय लेफ्ट ब्याक (बायाँ छेऊ) बाट खेलेका रविनले पुरानै लय समाउन सक्छन्, सक्दैनन् अहिले उत्सुकताकै विषय बनेकाे छ। त्यसको लागि केहि दिन कुर्नैपर्नेछ।
‘घुँडाको सर्जरीपछि कैयाै खेलाडीहरु खेलमा फर्कन नसकेकाे इतिहास छ। पहिलो सर्जरी हुँदा मलाई पनि कमब्याक (खेलमा फर्किन) गर्न गाह्रो होला भन्ने लागेको थियो, आत्मविश्वास घटेको थियो,’ रविनले स्मरण गरे, ‘तर, फुटबल खेल्नका लागि म हरसम्भव प्रयास गर्ने पक्षमा थिएँ। गरेँ र सफल पनि भएँ। तर, फेरि चोट लागेपछि लामो समय मैदान बाहिर रहनुपर्याे।’
उनीभन्दा केहि पहिले राष्ट्रिय टोलीकै अर्का नियमित सदस्य रोहित चन्द पनि चोटग्रस्त भएका थिए। उनी झन्डै एक वर्ष मैदान बाहिर रहे। चोटमुक्त भएर उनले राष्ट्रिय टोलीमा पुनरागमन पनि गरे।
रोहितले पुनरागमनका लागि निकै मेहनत गरेका थिए। उमेरमा आफुभन्दा कान्छो भएपनि रोहितको पुरागमनले ‘म पनि कुनैदिन फेरि फुटबलमा फर्कन्छु’ भन्ने विश्वास रविनमा पनि पलायो।
‘दोस्रो चोटपछि म फर्कन्छु भन्नेमा विश्वस्त थिएँ,’ झन्डै डेढ बर्षपछि ए डिभिजन लिगमार्फत फुटबलमा फर्केका रविनले भने, ‘रोहितको पुनरागमनबाट मलाई निकै प्रेरणा मिल्यो। चोटपछि पनि उनले कमब्याक गरे। त्यो देखेर म पनि सक्छु भन्ने विश्वास जाग्यो। रोहितले पनि मलाई निरन्तर हौसला दिइरह्यो।’
जारी ए–डिभिजन लिगमा पुलिसले पहिलो जीत दर्ता गर्नका लागि तेस्रो खेलसम्म कुर्नुपरेको थियो। त्यहि खेल रविनका लागि सुखद रह्यो। उनले पुनरागमन गर्दै कप्तानी सम्हालेको त्यो खेलमा पुलिसलाई सफलता मिल्यो। अझै त्यहि दिन उनको जन्मदिन परेकोले सूनमा सुगन्ध थपिए जस्तै भयो।
संयोग नै मान्नुपर्छ रविनको खेल हेर्न रोहित पनि दशरथ रंगशाला पुगेका थिए। इन्डोनेसियामा फुटबल सिजन सकिएर रोहित स्वदेश फर्केकै बेला यता रविन फुटबलमा पुनरामगन गर्ने संयोग जुरेको थियो।
‘रोहितको कुरा सुन्दा कमब्याक गर्न सक्दिन भन्ने लाग्नै छाड्यो,’ उनले भने, ‘रोहितको पनि एसिएलकै शल्यक्रिया भएको थियो। त्यसपछि फिट (निको) भएर ऊ अहिले पुरै लयमा छ।’
तर जारी लिगकाे छैटाैं चरणकाे न्यूराेड टिमबिरुद्धकाे खेलमा रविन पुन: घाइते भएपछि आगामी दुई साता मैदानबाहिर रहने भएका छन्।
सन् २०१६ मा नेपालले एएफसी सोलिडारिटी कप जितेको थियो। त्यसै जितेको आधारमा नेपालले एसियन कप २०१९ को छनोट खेल्ने मौका पायो।
त्यहि सिलसिलामा २०१७ मार्च २८ मा फिलिपिन्सविरुद्धको पहिलो खेल मनिलामा भएको थियो। नेपालले त्यो खेल ४–१ ले गुमायो। नेपालका लागि एकमात्र गोल रविनको क्रसमा विशाल राईले गरेका थिए।
तर दुर्भाग्य, खेल सकिन ४ मिनेट मात्र बाँकी रहँदा रविनको दाहिने घुँडामा चोट लाग्यो र उनले मैदान छाडे। स्वदेश फर्केपछि उनले ग्रान्डी अस्पतालमा घुँडाको लिगामेन्टको शल्यक्रिया गराए।
शल्यक्रियाको ९ महिनापछि उनले पुनरागमन गरे।
बुटवलको तिलोत्तमा गोल्डकपबाट उनी घरेलु फुटबल मैदानमा फर्के। त्यहि बीचमा राष्ट्रिय टोलीका तत्कालिन मुख्य प्रशिक्षक ग्योतोकु कोजीले उनलाई ‘क्याम्प’ मा बोलाए।
गतवर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीको सिलसिलामा टोली मैत्रीपूर्ण खेलका लागि बैंकक गयो। पहिलो खेल नेपालले टेरो एएफसीसँग १–० ले गुमायो। अर्को खेल थाइल्यान्डको यू–२३ टिमविरुद्ध थियो। त्यो खेलमा पनि नेपालले ४–० नतिजा सुम्पियो।
रविनले थामासाट विश्वविद्यालय खेलमा खेल्ने मौका पाए। तर, खेल सुरु भएको २० मिनेटमै उनले मैदान छाड्नुपर्यो। कारण थियो– चोट। पुरानो चोट लागेको दाहिने घुँडामा फेरि चोट लाग्यो। त्यति बेलाको अवस्था स्मरण गर्दै उनले भने, ‘टर्न’ गर्दा बाङिगएको थियो।
त्यसपछि उपचारको व्यवस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले मिलाइदियो। कतारको दोहामा उनले दोस्रो पटक घुँडाको शल्यक्रिया गरे। एक महिना अस्पतालमै बिताए। पुनर्स्थापनाका लागि करिब दुई महिना त्यहिँ नै बसे। त्यहाँ रहँदा बलमा अभ्यास पनि सुरु गरे। त्यसपछि स्वदेश फर्केर पुलिस टोलीमा अभ्यास गरेपछि उनी लिगमार्फत् घरेलु फुटबलमा फर्किएका छन्।
पुलिसमा आबद्धता
एन्फा एकेडेमीको तेस्रो ब्याचका उत्पादन रविनले माथिल्लो स्तरको फुटबलको सुरुवात संकटा क्लबबाट गरेका थिए।
‘२०६३ को ए डिभिजन लिगबाट मैले व्यवसायिक रुपमा फुटबल खेल्न थालेको हुँ,’ रविनले भने, ‘त्यसअघि नकआउट प्रतियोगिता पनि खेलेको थिएँ। १७ वर्षमुनि (यु–१७) टोलीमा रहेर आहा रारा, बुढासुब्बा लगायतका ठूला प्रतियोगिता पनि खेलेँ,’ संकटामा खेलेपछि उनको रोजाई बन्यो विभागीय टोली पुलिस। अन्य क्लबमा धेरै पारिश्रमिक थियो तर त्यसले उनलाई तानेन। उनले त्यसको कारण यसरी खुलाए, ‘पुलिसले पनि राम्रो मौका दिन्छ भन्ने विश्वास थियो।’
पुलिसबाट खेल्नुलाई उनी गौरव ठान्छन्।
‘त्यतिबेला पुलिसमा धेरै युवा खेलाडी थिए। पुलिसबाट नै ८-९ जना राष्ट्रिय टोलीमा हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँहरुसँग खेल्न पाउनु गर्वको कुरा थियो। पुलिसमा रहँदा प्लेइङ सेटमा स्थान पाउँछु कि पाउँदिन भन्ने आशंका थियो।’
लिग च्याम्पियनका रुपमा २००७ मा पाकिस्तानमा भएको एएफसी प्रेसिडेन्ट कपमा पुलिसले नेपालको प्रतिनिधित्व गरेको थियो। पुलिस फाइनलमा पुग्यो। नेपाली क्लब प्रेसिडेन्ट्स कपको फाइनल पुगेको त्यो पहिलो अवसर थियो। सुमन सुवेदी चोटग्रस्त भएपछि त्यसमा रविनले मौका पाएका थिए।
त्यसपछि पनि उनले पुलिसको पहिलो रोजाईमा पर्न लामो समय कुर्नुपरेको थियो। अर्को वर्ष मलेसियामा प्रेसिडेन्ट कपको पुलिस पहिलो चरण पार गर्न सफल भएको थियो। त्यतिबेला दिपेन्द्र पौडेल घाइते भएपछि फेरि रविनले मौका पाएका थिए। पुलिसका सिनियर खेलाडीले खेल छाड्दै जाने र रविन आफै पनि अनुभवी हुदै गएपछि उनी टोलीको नियमित सदस्य बनेका थिए।
राष्ट्रिय टोलीबाट यात्रा
२००८ मा राष्ट्रिय टोलीको क्याम्पमा सहभागी हुन एन्फाबाट उनलाई फोनबाट खबर गरियो। खेलमा देशलाई प्रतिनिधित्व गर्न पाउनु चानचुन विषय थिएन।
उत्तर कोरियाविरुद्ध खेल्दै उनले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए। त्यो दिन उनका लागि स्मरणीय हुने नै भो। त्यसयता राष्ट्रिय टोलीबाट खेल्दा उनीसँग सुखद् तथा दुखद् दुवैखाले अनुभव सँगालिँदै गयो।
९ वर्षअघि नेपाली राष्ट्रिय टोली विश्वकप छनोटको पहिलो खेलमा जोर्डनसँग ९–० ले पराजित भएको थियो। त्यसको ५ दिनपछि दशरथ रंगशालामा भने नेपाल र जोर्डनको खेल १–१ को बराबरी खेलेका थिए।
‘जोर्डनसँगको पहिलो खेलको नतिजा जति निराशाजनक थियो, दोस्रो खेलले भने नेपाली खेलाडीको मनोबललाई उच्च बनायो,’ राष्ट्रिय टोलीमा खेल्दाका उतारचढावपूर्ण क्षणहरुबारे घोत्लिँदै उनले भने।
त्यस्तै उत्तर कोरियासँगको खेलमा १–० को हार बेहोरेपनि त्यो खेल रविनलाई विशेष लाग्छ।
२०७२ सालमा बंगलादेशमा बगंबन्धु गोल्डकप जित्नु र अर्को वर्ष सोलिडारिटी कप जित्नु उनलाई खेल जीवनका विशेष क्षण लाग्छन्।
‘बगंबन्धु गोल्डकप जित्दाको टोलीको सदस्य हुुनुमा गर्व छ। त्यो बेला हामीमात्र हैन, सबै नेपाली खुसी थियौं। २३ वर्षपछि बगंबन्धु जित्दाको सदस्य हुनु भनेको खुसीको कुरा थियो, उनले सम्झिए, ‘त्यो टोलीको सदस्य हुन पाउनु मेरो लागि ठूलो उपलब्धी हो।’
घरेलु मैदानमा २०१३ मा साफ च्याम्पियनसिपमा सेमिफाइनलमा हार्दाको क्षण खेल जीवनको सबैभन्दा दुःखद क्षणको रुपमा सम्झिन्छन् उनी।
अफगानिस्तानविरुद्धको खेलमा नेपाल पराजित भएको थियो। त्यो खेलमा रोहितले दुई पटकसम्म पेनाल्टी चुकाउँदा अन्ततः नेपाल पराजित भएको थियो।
‘हामीले राम्रो खेल्दाखेल्दै हारेका हौं। त्यो बेला नेपाली टोलीबाट उत्कृष्ट खेलाडी पनि चुनिदा खुसी लाग्यो,’ तर पनि उनलाई त्यो क्षणको स्मरणले अहिले पनि सताउँछ, ‘व्यक्तिगत ट्रफी जित्दा क्षणिक खुसी त मिल्छ। तर देशले जितेको भए मेरो लागि त्यो बढी खुसीको कुरा हुन्थ्यो।’
प्रतिक्रिया