बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग बराबरी खेलेको छ।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग १–१ गोलको बराबरी गरेका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भयो।
खेलको इन्ज्युरी समयमा सावित्राको गोलमा नेपाल हारबाट जोगिएको हो। रश्मी कुमारी घिसिङको फितलो प्रहार डिफेन्डरले क्क्लीयर गर्न खोज्दा सावित्राले पोस्टको गति दिँदै नेपाललाई बराबरीमा ल्याएकी थिइन्।
त्यसअघि खेलको ६५ औं मिनेटमा बंगालदेशकी कप्तान सविना खातुनले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। सविनाले तोहुरा खातुनको पासमा नेपालका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरिन्।
खेलको २४ मिनेटमा सावित्रा भण्डारीको हेडर बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले बचाउँदा नेपालले अग्रता बनाउने मौका गुमायो।
खेलको ५४ मिनेटमा सावित्राको फ्रीकिक क्रसबारको थोरै माथिबाट बाहिरियो।
७२औं मिनेटमा सावित्राको क्रसमा रश्मी कुमारी घिसिङको प्रहार बंगलादेशकी गोलरक्षकले सहजै बचाउँदा नेपालले बराबरीको मौका गुमायो।
नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ।
Shares
प्रतिक्रिया