ad ad

खेल


भारत ‘ए’ लाई नेपालले दियो १६८ रनको लक्ष्य

भारत ‘ए’ लाई नेपालले दियो १६८ रनको लक्ष्य

फाइल तस्बिर


नेपालखबर
साउन १, २०८० सोमबार १७:१७, काठमाडौँ

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारत ‘ए’लाई १६८ रनको लक्ष्य दिएको छ।

निराशाजनक प्रदर्शन गरेको नेपालको स्कोर १६७ रनको अवस्थामा पुर्‍याउने क्रममा कप्तान रोहित पौडेलले ८५ बलमा ६५ रनको शानदार पारी खेले। 

नेपालले ३९.२ ओभर ब्याटिङ गर्दा अलआउट भएर उक्त स्कोर खडा गर्न सफल भएको हो। 

ओपनरहरु फ्लप सावित खेलमा चौथोक्रममा आएका रोहितले सोमपाल कामी र गुलशन झासँग मिलेर नेपालको स्कोर उठाएका थिए।

उनले अर्धशतकीय पारी खेल्ने क्रममा ७ चौका पनि हानेका थिए।

रोहितपछाडि नेपालका लागि ३० बलमा ३८ रनको पारी खेले। उनले २ चौका र २ छक्का पनि हानेका थिए। 

त्यसैगरी देव खनालले १५ र सोमपाल कामीले १४ रनको योगदान दिए। अन्य नेपाली खेलाडीको प्रदर्शन निराशाजनक रह्यो। 

टेस्ट मान्यता प्राप्त छिमेकी राष्ट्रको ‘ए’ टिमविरुद्ध पहिले टस जितेर ब्याटिङमा उत्रिएको नेपालले पाकिस्तानविरुद्धकै कमजोरी दोहोर्‍याएको थियो।

भारत ‘ए’विरुद्ध पनि नेपालका ओपनर र टप अर्डरका ब्याटरहरु फ्लप भए। 

नेपाली ओपनर कुशल भुर्तेल केबल २ बलको सामना गर्दै शून्यमै एलबीडब्लु धरापमा परेर पवेलियन फर्किए।

त्यस्तै अर्का ओपनर आशिफ शेख पनि १५ बलमा केबल ७ रन जोड्दै क्याच आउट भए। उनले आफ्नो पारीमा एक चौका हाने।

उता लामो समयपछि सिनियर टिममा अवसर पाउँदै तेस्रो क्रममा ब्याटिङमा उत्रिएका देव खनाल २१ बलमा १५ रन जोड्दा क्याच आउट भए। उनले आफ्नो पारीमा ३ चौका हाने।

पाँचौ क्रमका भीम सार्की पनि आजको खेलमा फ्लप भए। उनी पनि क्रिजमा टिक्न सकेनन्। भारतीय खेलाडीले धारिलो बलिङ गर्दा उनी पनि ८ बल खेल्दै ४ रन जोडेर पबेलियन फर्किए।

अर्कातिर छैटौँ क्रमका कुशल मल्लले खाता नखोली क्याच आउट हुन पुगे। उनले ६ बलको सामना गरेर खाता खोल्नै नपाई आउट भए।

भारतका लागि निशान्त सिन्धुले सर्वाधिक ४ विकेट लिए। त्यस्तै राजाबर्द्धन हंगरकेकरको नाममा ३ विकेट र हर्षित रानाको नाममा २ विकेट रह्यो।

पहिलो प्रतिस्पर्धात्मक खेलमा पाकिस्तानसँग ४ विकेटले पराजित नेपालले भारतलाई टक्कर दिने अपेक्षा थियो। 

उता भारत लगातार दोस्रो जितसहित सेमिफाइनल पुग्ने तयारीमा छ। यता नेपालले अन्तिम चारको यात्राका लागि भारतलाई हराउनै पर्ने छ।

नेपालले पहिलो खेल ४ विकेटले पाकिस्तान ‘ए’लाई सुम्पिएको थियो। उता भारत ‘ए’ यूएई ‘ए’ लाई ८ विकेटले पराजित गरेको थियो। 

घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको च्याम्पियन नेपाल इमर्जिङ कपमा पुगेको थियो।

भारतपछि नेपालले समूह चरणको अन्तिम खेल बुधबार यूएईविरुद्ध खेल्दैछ।

इमर्जिङ एसिया कप प्रतियोगितामा ६ टिम सहभागी छन्। दुई समूहमा विभाजित टोलीबाट शीर्ष दुईले सेमिफाइनल पक्का गर्नेछन्। 

यो प्रतियोगितामा नेपाल समूह 'बी' मा छ। जहाँ भारत र पाकिस्तानसँगै यूएई पनि छन्। असार २८ गतेदेखि प्रतियोगिता सुरु भएको हो। 

दुई बलिया टोलीसँगको खेलपछि नेपाल र यूएई साउन ३ गते आमनेसामने हुँदै छन्। 

अर्को समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। यो समूहबाट पनि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .