चीनको हाङ्झाउमा हुने १९ औँ एसियन गेम्सका लागि एथ्लेटिक्सका खेलाडी प्रशिक्षण लिन हरेक बिहान दशरथ रंगशाला पुग्ने गर्छन्।
नेपाली खेलाडीले एसियाडमा जितेका अधिकांश पदक व्यक्तिगत स्पर्धामा छन्। अहिले पनि अवस्था फेरिएको छैन, उस्तै छ।
एसियाडमा पदक जित्न त्यसै पनि नेपाललाई हम्मे पर्छ। जिते पनि व्यक्तिगत स्पर्धामै हो। नेपालकाा लागि एसियन गेम्स पदक जित्नेभन्दा स्तर मापन गर्ने थलो बन्दै आएको छ। एसियाड नेपाली खेलाडीको व्यक्तिगत प्रदर्शन सुधार्दै राष्ट्रिय कीर्तिमान बनाउने ठाउँ हो।
एथ्लेटिक्समा महिला र पुरुष गरी ४८ विधामा स्पर्धा हुने गर्छ। तर नेपालका ८ खेलाडीले स्पर्धा गर्दैछन्।
नेपालबाट म्याराथनमा १० र ५ हजार मिटर दौडमा एक एक महिला पुरुष खेलाडीले भाग लिनेछन्। यस्तै ८ सय र १५ सय मिटर दौडमा १–१ महिला पुरुष खेलाडी सहभागी हुँदैछन्।
हाई परर्फमेन्स कमिटीले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक ल्याएका र सम्भावना भएका इभेन्टलाई मात्रै समावेश गर्न निर्देशन दिएपछि नेपालका ८ खेलाडीले एसियाडमा स्पर्धा गर्न पाउने भएका हुन्।
नेपालले सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औं सागमा पदक ल्याएका र अब पनि पदक ल्याउने सम्भावना भएका इभेन्टलाई मात्रै जोड दिँदै नेपालले तयारी थालेको हो।
एसियन गेम्सको तयारीमा जुटेका खेलाडीहरु सके पदक ल्याउने नभए राष्ट्रिय कीर्तिमान बनाउने योजनामा छन्।
घरेलु ट्रयाकमा थुप्रै उपाधि जितिसकेकी फुलमती रानाले एसियाडमा दुई इभेन्टमा स्पर्धा गर्ने छिन्। उनले एसियाडमा राष्टिय कीर्तिमानको योजना बनाएकी छन्।
‘आफूमा विश्वास भए पनि कहिलेकाहीँ शरीरले साथ दिँदैन, यस्तोमा आफूले चाहेजस्तो प्रर्दशन गर्न नसकिने हुन्छ’, फूलमती बताउँछिन्।
उनले एसियन गेम्सको लागि प्रशिक्षण राम्रो भइरहेको बताइन्। ‘मैले सकेसम्म राम्रो दिनेछु। व्यक्तिगत स्पर्धा भएकाले थप जिम्मेवारी छ’, उनले भनिन्।
अन्य खेलको प्रशिक्षण विदेशमा पनि भयो। एथ्लेटिक्सको पनि त्यस्तै भएको भए अझै नतिजा राम्रो गर्न सकिने उनको भनाइ छ।
‘भारतमै भए पनि प्रशिक्षण गर्न पाएको भए हुन्थ्यो। सोचेको जस्ते नतिजा ल्याउने विश्वास छ’, उनले भनिन्, ‘चीनमा नै अलिक छिटो गएर प्रशिक्षण गर्न पाए राम्रो नतिजा आउने थियो।’
एसियाड तयारीका लागि केही खेल वैदेशिक प्रशिक्षणमा छन्। वैदेशिक प्रशिक्षण नपाए पनि प्रतियोगिता आयोजनास्थलमा केही साताअघि पुगेर प्रशिक्षण गर्न पाउँदा प्रदर्शनमा सहयोग पुग्ने खेलाडीहरुको बुझाई छ।
उच्च प्रतिस्पर्धाका लागि विदेशी प्रशिक्षण राम्रो भए पनि घरेलु मैदानको तयारीका आधारमा राम्रो नतिजा ल्याउने विश्वासमा धावक दीपक अधिकारी छन्।
दीपकले घरेलु मैदानमा भएको १३ औं सागमा १० हजार मिटरमा कास्य, नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण र गत फागुनमा भएको एसियन क्रसकन्टीमा स्वर्ण पदक जितेका थिए।
एसियन गेम्समा सके पदक नभएर रेकर्ड ब्रेक गर्ने योजनामा छन् उनी। एसियन गेम्स खेल्न पाउनु महत्वपूर्ण उपलब्धि भएको दीपक सुनाउँछन्। उनले भने, ‘गुरुले एकदम ध्यान दिएर प्रशिक्षण गराइराख्नु भएको थियो। चीनमा एक दुई साताअघि गएर प्रशिक्षण गर्न पाए केही सहज हुने थियो’, उनले थपे।
एसियाडका लागि खेलाडी छनोट गर्दा अनुभवी र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलको अनुभव भएकालाई छनोट गरेको एथ्लेटिक्समा मुख्य प्रशिक्षक चन्द्र गुरुङले बताए।
‘राष्ट्रिय प्रतियोगिताका लागि १,२ वर्षअघि नै प्रशिक्षण गरेका कारण धेरै कीर्तिमन बने’, उनले भने, ‘तर कोरोनाका कारण प्रशिक्षण प्रभावित भएको थियो। गत वर्षदेखि तयारी गरेका थियौँ। फेरि खेल समय सर्दा केही प्रभवित भयो। यो सिजन सबैले बेस्ट गरेका छन्।’
प्रशिक्षक गुरुङका अनुसार एसियन गेम्समा नसके साउथ एसियन गेममा पदक ल्याउने लक्ष्य छ।
एसियाड एसियाली क्षेत्रमा आफ्नो स्तर मापन गर्ने पनि क्षण हो। दक्षिण एशियाका भारत, श्रीलंकालगायत पदकका दावेदार हुँदा नेपालको स्तर मापन गर्ने ठाउँ एसियन गेम पनि हो।
त्यसैले सबै इभेन्टमा सहभागिता गराउन सक्ने हो भने यसले खेलाडीको क्षमता बढाउन पनि सहयोग पुग्नेछ। वैदेशिक प्रशिक्षणका लागि कम्तीमा एक साताअघि खेलाडीलाई लगेर त्यहाँको वातावरणमा घुलमिल गराउन सके प्रर्दशनमा सुधार आउने विश्वास खेलाडी प्रशिक्षक दुवैले लिएका छन्। तस्बिर/भिडिओ : सरोज नेपाल
प्रतिक्रिया