ad ad

खेल


प्रतिबन्धपछि मैदान फर्केका अन्जन भन्छन्- जिन्दगीभरीलाई पाठ सिकेँ

प्रतिबन्धपछि मैदान फर्केका अन्जन भन्छन्- जिन्दगीभरीलाई पाठ सिकेँ

लक्ष्मी जि.सी
माघ ६, २०७६ सोमबार ७:३६,

‘फुटबललाई नै भनेर सबैथोक त्यागेको मान्छेको जीवनमा फुटबल नै नरहेपछि के बाँकी रह्यो र!’

प्रतिबन्धमा परेको ४५ दिनपछि खेलमा फर्किएका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर अन्जन विष्टले भने।

फिफा विश्वकप–२०२२ छनोट अन्तर्गत गत भदौमा नेपालले आफूभन्दा ४१ स्थानमाथिको चाइनिज ताइपेइलाई सनसनीपूर्ण खेलमा हराएको थियो। विश्वकप छनोट खेल्न थालेको ३३ वर्षपछि नेपालले हात पारेको त्यो पहिलो ‘अवे’ खेल थियो। त्यसका नायक थिए, अघिल्लो (कुवेतविरुद्ध) खेलमा पहिलो रोजाइमै नपरेका अन्जन। राष्ट्रिय टोलीका लागि २९औं खेल खेल्ने क्रममा चाइनिज ताइपेविरुद्ध उसैको मैदानमा डेब्यु खेलमै दुई गोल गरेपछि अन्जनको चर्चा ह्वात्तै चुलिएको थियो। उनी सेलिब्रेटी खेलाडी बनेका थिए।

तर, त्यसको दुई महिनापछि भएको अर्को घटनाले अन्जनलाई जीवनमा अविष्मरणीय पाठमात्रै सिकाएन, उनको छविसमेत धमिल्यायो।

‘त्यो घटना र समयले धेरै कुरा सिकायो। त्यो घटनापछि आगामी दिनका लागि मैले धेरै पाठ सिकेजस्तो लाग्छ,’ अहिले उनी सम्झन्छन्।

000
३० कात्तिक २०७६ मा अन्जन राष्ट्रिय टोलीसँगै भुटान यात्रामा (कुवेतविरुद्धको होम खेल खेल्न) जाँदै थिए। अखिल नेपाल फुटबल संघ (एन्फा) मा बिहान विदाई कार्यक्रम थियो। विदाई कार्यक्रममा उनीसहित विमल घर्तीमगर, सन्तोष तामाङ र दिनेश राजवंशीको हाउभाउमाथि मुख्य प्रशिक्षक योहान कालिनले शंका गरे।

कालिनले एन्फा पदाधिकारीलाई त्यसबारे जानकारी गराए। एन्फा महासचिव इन्द्रमान तुलाधरसहितका पदाधिकारीहरुले चारैजनालाई बोलाए र सोधपुछ गरे। उनीहरुको पोल खुल्यो। अघिल्लो राति ठमेलको डिस्कोमा गएको र मादक पदार्थ सेवन गरेको उनीहरुले स्वीकारे।

परिणाम, अन्तिम समयमा अन्जनसहितका चारै खेलाडी टोलीबाट फालिए नै, एन्फा अनुशासन कमिटीले छानबिन पश्चात उनलाई फुटबलबाट ४५ दिनको प्रतिबन्ध र ५० हजार जरिवाना पनि लगायो।

प्रतिबन्धका यी ४५ दिन अन्जनका लागि जीवनकै सबैभन्दा कठिन थिए। एकातिर फुटबलबाट टाढा हुनुको पीडा थियो, अर्कातिर आफूसँग सम्बन्धित समाचारले पीडा थप्थ्यो।

‘सबैथोक सकिएजस्तो लाग्यो,’ अन्जनले भावुक मुद्रामा नेपालखबरसँग भने, ‘सुरुका दिन त डिप्रेसनमा नै पुग्छु जस्तो लागेको थियो। एकोहोरो समाचार आइरहेका थिए।’

तर, उनले लत्तो छोडेका छैनन्। ‘जे भयो त्यो कुराले मलाई अझ बलियो बनाएको छ। यो बीचमा सबैसँग र आफैसँगपनि अब यस्तो हुँदैन भनेर प्रतिबद्धता जनाएको छु। मैले धेरै गर्न बाँकी छ,’ उनी आशावादी देखिन्छन्।

परिवार र राजेशको साथ
उनका दाजु रन्जन पनि राष्ट्रिय खेलाडी हुन्। फुटबलबाट टाढा हुँदाको अवस्थामा परिवार र दाजुले उनलाई सहयोग गरे। तर, पीडाका यी ४५ दिनमा अन्जनको हौसला समाप्त हुन नदिने कोही थिए भने उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग)का सहायक प्रशिक्षक राजेश मानन्धर। राजेशप्रति उनी कृतज्ञ छन्।

‘जे भयो त्यो एउटा गल्ती थियो। सुरुमा परिवार, दाजुले सम्हाल्नुभयो। राजेश दाइले ठूलो साथ र हौसला दिनुभयो। उहाँहरुकै साथ र सहयोगले मैले केही गर्नुपर्छ भन्ने भावना आएको थियो,’ अन्जन भन्छन्।

४५ दिन प्रतिबन्ध कटाएर गत पुस २१ गते अन्जन मैदान फर्किएका थिए। त्यसदिन मनाङले मछिन्द्रसँग खेल्दैथियो। हेभीवेटले भरिएको मछिन्द्रलाई मनाङले २–२ को बराबरीमा रोकेको थियो। त्यसदिन मछिन्द्रसँग अंक खोस्न खेलको दोस्रो मिनेटमा नै मनाङले गरेको गोलमा अन्जनले सहायकको भूमिका खेलेका थिए।

गोल गरेपछि खुशी मनाउँदै अन्जनसहित मनाङका खेलाडीहरु। तस्बिर: एन्फा

नेपाली घरेलु फुटबलका चिरप्रतिद्वन्द्वी क्लब हुन्, मनाङ र थ्रीस्टार। यी बीचको खेल हुँदा रंगशालामा दर्शकको ओइरो लाग्छ। शनिबार यी दुई क्लब जारी सिजनमा आमने सामने हुँदा दशरथ रंगशाला भरिभराउ थियो।

त्यही खेलमा पुनः अन्जनले आफूलाई प्रमाणित गरे। थ्रीस्टारविरुद्ध दुवै गोल गर्दै अंक खोसेका अन्जन राजेशलाई नै त्यसको श्रेय दिन्छन्।

खेलपछि उनले राजेशलाई भेटेरै अंकमाल गर्दै धन्यवाद दिए। उनले आफ्नो गोल पनि मानन्धरका लागि समर्पित गर्दै भने, ‘यो गोल हजुरको लागि। धेरै धेरै धन्यवाद!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .