फिफा महिला विश्वकपको उपाधि उचालेपछि जेनी हर्मोसोलाई ओठमा चुम्बन गर्ने स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसको तीव्र आलोचना भैरहेको छ।
आइतबार भएको फाइनलमा इंग्ल्याण्डलाई १–० ले पराजित गर्दै उपाधि जितेपछि रुबियालेसले स्पेनी फरवार्डलाई चुम्बन गरेका थिए।
हर्मोसोले सामाजिक सञ्जालमा आफुलाई यो मन नपरेको बताएकी थिइन्।
रुबियालेसले आफुले गरेको चुम्बनका लागि माफी समेत मागेका छन्। सोमबार रुबियाल्सले भने, ‘म पुर्णतया गलत थिए, मैले यो स्वीकार गर्नुपर्छ,’ उनले भने, ‘यो धेरै उत्साहका साथ खराब नियत बिना थियो। यो समयमा यसलाई स्वभाविक रुपमा देख्यौं तर बाहिर नकारात्मक सन्देश गएछ। मैले माफी माग्नुपर्छ र यसबाट पाठ सिक्नुपर्छ र बु्झ्नुपर्छ जब तपाई अध्यक्ष हुनुहुन्छ भने धेरै सावधान हुनुपर्छ।’
रुबियल्सले चुम्बन गरेपछि सामाजिक सञ्जालमा धेरै आलोचना भएको थियो।
उनको यो हर्कतको सरकारका केही मन्त्रीहरुले पनि आलोचना गरेका थिए। स्पेनको समानता मन्त्री इरेन मोन्टेरोले भनिन्, ‘यो एक प्रकारको यौन हिंसा हो, जुन महिलाहरुले दैनिक रुपमा भोग्नु परिरहेको छ।’
स्पेनका खेलकुदमन्त्री मिकेल इसेटाका अनुसार रुबियालेसको हर्मोसोलाई चुम्बन गर्नु अस्वीकार्य थियो।
‘उनले पहिलो कुरा स्पष्टिकरण दिनुपर्छ र माफी माग्नु। यो तार्किक र व्यवहारिक कुरा हो,’ खेलकुदमन्त्री इसेटाले भने।
चुम्बन मन नपराउने खेलाडीको प्रारम्भिक टिप्पणीपछि स्पेनी फुटबल महासंघले विज्ञप्ती जारी गर्दै यो क्षण स्नेहको प्राकृतिक इशारा रहेको बताएको छ।
यो भिडियो फुटेज बाहिरिएपछि धेरैले रुबियालेसको राजिनामा मागेका छन्।
Shares
प्रतिक्रिया