अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई पछि पार्दै नर्वे म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडीको उपाधि हात पारेका छन्।
बिहीबार राति मोनाकोमा भएको च्याम्पियन्स लिगको ड्रसँगै भएको वर्ष खेलाडी घोषणा समारोहमा हालान्डले पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जित्न सफल भएका हुन्।
सिटीका हालान्डले गत सिजन प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप गरी तीन उपाधि जितेका थिए।
हालान्डले अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र केभिन डी ब्रुएनलाई पछि पारे। हालान्डले गत सिजन क्लब र नर्वेका लागि ६२ खेलमा ६० गोल गरेका थिए।
महिलातर्फको वर्ष खेलाडी उपाधि भने बार्सिलोना र स्पेनकी आइटाना बोनमाटीले जितेकी छन्।
महिला विश्वकप विजेता उनले गत सिजन बार्सिलोनाका लागि स्पेनिस शीर्ष डिभिजनको उपाधि, सुपरकोपा र च्याम्पियन लिग उपाधि जितेकी थिइन्। महिला विश्वकपमा उनी उत्कृष्ट खेलाडीसमेत भएकी थिइन्।
उत्कृष्ट प्रशिक्षक अवार्ड स्पेनिस तथा म्यानचेस्टर सिटीका पेप गार्डीओलाले जिते।
उत्कृष्ट महिला प्रशिक्षक अवार्ड इंग्ल्यान्डकी सरिना विगमनले जितिन्।
महिला विश्वकपमा इंग्ल्यान्ड स्पेनसँग १–० ले हराएको थियो।
Shares
प्रतिक्रिया