नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा एसियन गेम्स खेल्नका लागि स्वदेश फर्किएकी छिन्।
यूरोपियन लिग खेल्न इजरायल पुगेकी साम्बा शनिबार स्वदेश फर्किएकी हुन्।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै साम्बाले भनिन्, ‘एसियन गेम्समा हाम्रो लागि केही कठिन छ, एसियाको पावर हाउस जापान छ, जसले महिला विश्वकपमा इतिहासमा रचेको थियो। त्यस्तै भियतनाम पनि बलियो टोली हो। उनीहरूबाट केही कुरा सिकेर आगामी दिनमा सुधार गर्नेछौँ।’
साम्बा भोलि आइतबार नै टोलीको प्रशिक्षणमा सामेल हुनेछिन्।
युरोपियन लिगबारे साम्बाले भनिन्, नेपाल र भारतको लिगभन्दा त्यहाँको लिग धेरै फरक रहेछ। क्यामराबाट हेर्नु र त्यहाँ गएर खेल्नुमा धेरै फरक रहे।
आफूहरूको टोलीमा अहिले जुनियर खेलाडीहरू धेरै रहेको र यो पटक भएको कमीकमजोरीलाई सुधार गर्दै अर्को पटक बलियो हुने प्रयासमा रहेको साम्बाले बताइन्।
उनले थपिन्, ‘लिगमा खेलहरू निकै प्रतिस्पर्धात्मक छ, हामीले सबैले सक्ने मेहनत गरिरहेका छौँ। टिममा सबैमा पोजेटिभ भाइब्स छ टोलीमा रहेका विदेशी खेलाडीका कारण पनि केही बलियो देखिएको छ। त्यहाँको एकै क्लबमा राष्ट्रिय टोलीका भएका ९ खेलाडीसँगै विदेशी खेलाडी पनि छन्। त्यसैले केही कठिन पनि छ तर हामीले पनि त्यसै अनुसार प्रशिक्षण गरिरहेका छौँ।’
नेपालबाट युरोपियन लिग खेल्ने साम्बा पहिलो महिला खेलाडी हुन्। लिगका २ खेलमा ५ गोल गरेकी साम्बा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्।
पहिलो पटक एशियन गेम्स्मा सहभागी हुन लागेको महिला फुटबल टोली सोमबार हाङझाउ प्रस्थान गर्नेछ। चीनको हाङझाउमा हुने एसियन गेम्सका खेलहरू असोज २ गतेदेखि सुरु हुनेछन्।
Shares
प्रतिक्रिया