ad ad

खेल


च्याम्पियन्स लिग : साविक विजेता म्यानचेस्टर सिटी र पीएसजीको विजयी सुरुवात

च्याम्पियन्स लिग : साविक विजेता म्यानचेस्टर सिटी र पीएसजीको विजयी सुरुवात

नेपालखबर
असोज ३, २०८० बुधबार १२:२५, काठमाडौँ

युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन सुरू भएको छ।

च्याम्पियन्स लिगअन्तर्गत गएराति समूह चरणका आठ खेल भएका छन्। जसमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसहितका ठूला क्लबहरुले विजयी सुरुवात गरेका छन्। 

च्याम्पियन्स लिगको समूह चरणमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले  पनि विजयी सुरुवात गरेको छ।

डिफेन्डिङ च्याम्पिन सिटीले पहिलो हाफमा १ गोलले पछि परेको अवस्था उल्ट्याउँदै रेड स्टार बेलग्रेडलाई ३-१ गोलअन्तरले हराएको छ।

रेड स्टारले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै घरेलु मैदानमा सिटीलाई झट्का थिएको थियो। ओसमान बुकारीको गोलमा पहिलो हाफमा पकड बनाएको रेड स्टारले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन।

पहिलो हाफमा पछि परेको सिटीले दोस्रो हाफमा पुनरागमन गर्‍यो। उसका लागि अर्जेन्टाइन युवा स्ट्राइकर जुलियन अल्भारेजले गोल गरेर खेललाई बराबरीमा ल्याए। 

अल्भारेजले नै खेलको ६० औँ मिनेटमा अर्को गोल थपेपछि सिटीले अग्रता बनायो। त्यसपछि खेलको ७३ औँ मिनेटाम रोड्रीले गोल गरेपछि सिटीले ३–१ को सहज जित निकाल्यो।

रोड्रीकै गोलमा गत सिजन इन्टरमिलानलाई फाइनलमा हराउँदै सिटीले च्याम्पियन्स लिग जितेको थियो। यस जितपछि समूह 'जी' सिटीले ३ अंक बनाएको छ।

अर्कातिर लामो समयदेखि च्याम्पियन्स लिगको उपाधिका लागि लगानी गरिरहेको पीएसजीले जर्मन क्बल बोरुसिया डर्टमण्डलाई २–० गोलले हराएको छ।

पेरिसमा भएको खेलको ४९ औँ मिनेटमा पीएसजीका किलियन एमबाप्पेले अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५८ औँ मिनेटमा आर्चर हाकिमीले गोल गरेपछि पीएसजी २-० ले अघि बढ्यो। यससँगै समूह 'एफ'मा पीएसजीले ३ अंक बनाएको छ।

अन्य खेलमा इङ्लिस क्लब न्युक्यासल र इटालियन क्लब एसी मिलानले गोलरहित बराबरी खेले। त्यसैगरी बेल्जियमको बीएससी योङ ब्वाइजलाई जर्मन क्लब आरबी लाइपिजले ३-१ ले हरायो।

अर्को खेलमा फेयनरुडले सेल्टिकलाई २-० ले हराउँदा एट्लेटिको मड्रिड र लाजियोले १-१ गोलको बराबरी खेले।

त्यस्तै एफसी पोर्टोले सख्तर डोनेस्ट्कमाथि एक पक्षीय ३-१ को जित दर्ता गरायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .