ad ad

खेल


खराब सुरुआत गरेको म्यानचेस्टर युनाइटेडको अर्को हार

खराब सुरुआत गरेको म्यानचेस्टर युनाइटेडको अर्को हार

नेपालखबर
असोज १७, २०८० बुधबार ७:८, काठमाडौँ

यो सिजन खराब सुरुआत गरेको म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा अर्को हार बेहोरेको छ। 

मंगलबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा गालाटासारेले युनाइटडेलाई ३–२ ले पाखा लगाएको हो।

१० खेलाडीमा सीमित युनाइटेडका लागि युवा स्ट्राइकर रासमुस होजलुन्डले दुईपटक अग्रता दिलाए पनि टोलीको हार टार्न भने सकेनन्।

खेलको १७औं मिनेटमा २० वर्षीय फरवार्डले ५० यार्ड टाढाबाट डेभिन्सन सान्चेजको स्लिपको फाइदा उठाउँदै बललाई उत्कृष्ट फिनिसिङ दिएका थिए। 

तर खेलको २३औं मिनेटमा विल्फ्रेड जाहाको गोलमा गालाटासारे खेलमा फर्किएको थियो। 

६७औं मिनेटमा होजलुन्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाएका थिए। तर ७१औं मिनेटमा केरेम अक्टुरकोग्लुले गोल गर्दै गालाटासारेलाई फेरि खेललाई बराबरीमा ल्याए। 

खेलको ७७औं मिनेटमा कासेमिरो दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाड्दा युनाइटेड १० खेलाडीमा समेटिन पुग्यो। ७८औं मिनेटमा माउरो इकार्डीले पेनाल्टीमा गोल गर्न सकेनन्। 

१० खेलाडीमा सीमित युनाइटेडको फाइदा उठाउँदै ८१औं मिनेटमा इकार्डीको गोलमा लगातार अग्रता थप्दा गालाटासारेले जित निकालेको थियो। त्यसपछिको समयमा डिफेन्सिभ देखिएको गालाटासारेले पहिलो जित निकालेको हो। 

युनाइटेडले च्याम्पियन्स लिगको समुह चरणमा लगातार दोस्रो हार बेहोरेको यो पहिलो पटक हो। 

समूह चरणमा लगातार दोस्रो हार बेहोरेको युनाइटेड समूह चरणको पुछारमा रहँदा दबाबमा छ। 

शनिबार राति प्रिमियर लिगमा घरेलु मैदानमा क्रिस्टल प्यालेसँग हारेपछि युनाइटेडले यो सिजनका सबै प्रतियोगितामा विगतको सातमध्ये पाँच र १० मध्य ६ खेलमा हार बेहोरेको छ। 

सोही समूहअन्तर्गत गएराति नै भएको खेलमा बायर्न म्युनिखले भने एफसी कोपेनहेगनविरुद्ध २–१ को जित हासिल गरेको छ। 

लगातार दोस्रो जित निकालेको बायर्न ६ अंकमा समूह चरणको शीर्ष स्थानमा छ। गालाटासारे ४ अंकमा दोस्रो स्थानमा रहँदा कोपेनहेगन १ अंकमा तेस्रो स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .