पाकिस्तानले क्रिकेट विश्वकप २०१९ अन्तर्गत शनिबार राति भएको खेलमा अफगानिस्तानमाथि अन्तिम दुई बल बाँकी रहँदा ३ विकेटको जित हात पारेको छ।
यो जितसँगै पाकिस्तान अंकतालिकामा यसअघि इंग्ल्याण्ड रहेको चौथो स्थानमा उक्लिएको छ। शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्छन्।
पाकिस्तान ८ खेलबाट ९ अंक जोड्दै चौथो स्थानमा उक्लिएको हो। इंग्ल्याण्डको भने ७ खेलबाट ८ अंक छ। पाँचौं स्थानमा रहेको इंग्ल्याण्डमाथि सेमिफाइनलमा पुग्न यसपछि दुई खेलमा जित हात पार्नुपर्ने दबाब बनेको छ।
इंग्ल्याण्डले यसपछि भारत र न्यूजिल्याण्डको सामना गर्दैछ। भारत अपराजित रहँदै दोस्रो स्थानमा छ भने न्यूजिल्याण्ड तेस्रो स्थानमा छ।
२ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ८१-३ तथा १५६-६ को स्थिस्तिमा थियो। अन्तिम ३६ बलमा ४८ रन आवश्यक हुँदा पाकिस्तानमाथि निकै दबाब थियो।
तर, अफगानिस्तानका कप्तान गुलवदिन नइबले फालेको ४६औं ओभरमा १८ रन जोडेपनि पाकिस्तान खेलमा फर्कियो। अर्को ओभरमा सदाब खान रन आउटभएपछि पाकिस्तानलाई जितका लागि २२ रन आवश्यक थियो। अमिद वासिम र वाइब रइजले खेल पाकिस्तानको पक्षमा पारे।
वाइबले ४७औं ओभरमा छक्का प्रहार गरे। जुन पाकिस्तानको पूरै इनिङको पहिलो समेत थियो। उक्त छक्काले आवश्यक रनरेट कम गरायो।इनिङमा दुई बल बाँकी रहँदा नइबलाई चौका प्रहार गर्दै अमिदले विजयी रन बटुल्नुका साथै आफू ४९ मा नटआउट रहे।
त्यसअघि अस्घर अफगान र नाजिबुल्ला जार्दनको समान ४२-४२ रनको पारीमा इंग्ल्याण्डको लिड्समा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो।
जार्दन र अफगानसँगै रहमत शाहले ३५, इक्राम अलिखिल २४, अविजित समिउल्ला सिन्वारिले १९, मोहमद नाबी १६, कप्तान गुलबदिन नाइब १५ रन जाेडे।
पाकिस्तानका सहिन शाह अफ्रिदीले ४ विकेट हात पारे। यस्तै वाहब रियाज र इमाद वासिमले समान २/२ विकेट लिए।
अफगानिस्तानले जारी विश्वकपमा कुनैपनि खेल जित्न सकेको छैन्।
Shares
प्रतिक्रिया