गोलरहित बराबरी खेलेसँगै एफसी चितवन र स्पोटिङ इलामको दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ।
दशरथ रंगशालामा शनिबार दिनको दोस्रो खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।
चितवन अहिलेसम्म खेलेको ७ खेलमा ६ अंक जोड्दै सातौं स्थानमा रहँदा इलाम भने समान ७ खेलमा ५ अंकसहित पुछारमा छ।
दुवै टोलीको प्लेअफन स्थान बनाउने सम्भावना पनि लगभग समाप्त नै भएको छ। चौथो स्थानमा रहेको काठमाडौंको तीन खेल खेल्न बाँकी रहँदा नै ८ अंक रहेको छ।
चितवनले आजको खेलमा दुई परिवर्तन सहित सुरुवाती ११ घोषणा गरेको थियो। विदेशी डिफेन्डर मार्को इभानोभिचको स्थान विक्रम धिमालले लिँदा नवयुग श्रेष्ठको स्थानमा रोशन राना मगर टोलीमा फर्किएका थिए।
उता इलामले भने तीन परिवर्तन गरेको थियो। गत खेलमा रातो कार्ड खाँदै निलम्बनमा परेका कप्तान विकेश कुथुको स्थान समित श्रेष्ठले लिएका थिए भने ओमार थिओम र आशिष चापागाईंको स्थानमा सौरभ लिम्बु र नवीन लामा टोलीमा अटाएका थिए।
दोस्रो मिनेटमा नै चितवनका रफिक अमिनुको प्रहार समितले सहजै समाते। छैठौं मिनेटमा चितवनका छिरिङ गुरुङको क्रसले कोही सहकर्मी भेटाउन सकेन।
१२औं मिनेटमा इलामका फोडे कमाराको क्रसले पनि कसैलाई भेटाउन सकेन। २६औं मिनेटमा चितवनका टोरिक जेब्रिनले बक्स बाहिरबाट गरेको प्रहार पोस्टको केही माथिबाट बाहिरियो।
३०औं मिनेटमा इलामका नवीन लामाको प्रहार पनि पोस्ट माथिबाट बाहिरियो। ४५औं मिनेटमा चितवनले ठूलो मौका खेरा फाल्यो। अफ्रीए अक्वाहको बक्स बाहिरबाट लिएको प्रहार रोशन राना मगरको खुट्टामा लागेर अमिनुको खाली रहेको अवस्थामा उनको खुट्टामा पुगेको थियो।
तर उनको प्रहार सिधै समितको ज्यानमा लाग्न पुग्यो। ५९औं मिनेटमा अमाथ एनडवलाई विशालले बक्स बाहिर आएर विफल पारे। ६१औं मिनेटमा अमिनुले बललाई जालि चुमाएपनि छिरिङले त्यसअघि बक्स भित्र गरेको फाउलका कारण गोल मान्य भएन।
अर्को मिनेटमा विशालले राम्रो बचाउ गर्दै इलामलाई विफल पारे। एनडवको क्रसमा फोडे कमाराको हेडर विशालले आफ्नो दायाँतर्फ डाइभ गर्दै बचाएका थिए।
७७औं मिनेटमा विमलले अमिनुको क्रस राम्ररी नियन्त्रणमा लिएपनि प्रहार भने पोस्ट भन्दा धेरै माथि गरे।
८१औं मिनेटमा इलामका दिपेश घलेले राम्रो मौकामा गोल गर्न सकेनन्। नवीन लामाको क्रसमा उनको हेडरमा चाहेजस्तो सम्पर्क बनेन र बल पोस्टको केही बाहिर जान पुग्यो।
खेलको अन्त्यतिर इलामका एनडव दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेपछि अन्तिम केही मिनेट इलाम १० जनाले खेलेको थियो।
थपिएको समयको पाँचौं मिनेटमा विमलले सिक्स यार्ड बक्स भित्रबाट अमिनुको क्रसलाई गोलमा परिणत गर्न असफल रहे।
त्यसको तीन मिनेट पछि टोरिक जेब्रिनको फ्रिकिक पनि पोस्टको दिशामा नगएपछि खेल गोलरहित बराबरीमा सकिएको हो।
Shares
प्रतिक्रिया