अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान उपाध्यक्ष दावा लामा तत्कालीन पुनरावेदन (उच्च अदालत) पाटनको फैसला अनुसार ५ वर्षका लागि जेल जानुपर्ने भएको छ।
लागुऔषध मुद्दामा दोषी ठहर भएका लामाले उच्चको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनसमेत नगरेपछि कैद भुक्तानका लागि जेल जानुपर्ने पक्का भएको हो।
सर्वोच्च अदालतले जिल्ला अदातलाई काठमाडौंलाई एक पत्र पठाएर लामाले उच्चको फैसलाविरुद्ध पुनरावेदन नगरेको जानकारी दिएपछि अब सजाय भुक्तान गर्नुपर्ने भएको हो।
सर्वोच्चले गत माघ १२ गते काठमाडौं जिल्ला अदालतलाई पत्र पठाउँदै उच्च अदालतको फैसला अन्तिम भएर बसेको जनाएको छ।
उच्चको फैसलाविरुद्ध लामाले पुनरावेदनको निवेदन नदिएको पत्र सर्वोच्चले काठमाडौंलाई पठाएको हो। सर्वोच्चको अभिलेखमा पुनरावेदनको निवेदन दिएको नपाइएको पत्रमा उल्लेख छ।
उच्चको फैसलाविरुद्ध तोकिएको समयमा सर्वोच्चमा पुनरावेदनको निवेदन नदिएसँगै लामाले सजाय कार्यान्वयनमा जानुपर्ने भएको हो।
तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लामाविरुद्धको मुद्दामा फैसला सुनाउँदै लामाले ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
उनले लागुऔषध कारोबार गरेको ठहरसहित भएको फैसला हालसम्म कार्यन्वयन नभए लगतमा रहेको थियो।
लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दोषी ठहर लामा कैद भुक्तान नभएर ‘फरार सूची’ मा थिए।
लामालाई एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले 'सी' डिभिजन क्बल संयोजक बनाएर लामालाई भित्र्याएका थिए। उनी एन्फा छिर्नु ८ वर्षअघिबाटै फरार सूचीमा थिए।
लामालाई २०६१ साउन ८ गते काठमाडौंको वनस्थली चोक नजिकबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। लामा सर्लाही घर भएर काठमाडौं बस्दै आएका थिए।
त्यसपछि लामालाई २०६१ भदौ २५ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसपछि उनलाई २०६२ जेठ १० मा जिल्ला अदालतबाटै ६ महिना मात्र कैद सजायको फैसला भएको थियो। उक्त फैसलासँगै उनी कारागारबाट निस्केका थिए।
जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले २०६ ४ कात्तिक १२ गते पुनरावेदन गरेको थियो।
त्यसपछि दावा लागुऔषध प्रयोगकर्ता मात्रै भएको र कारोबारी नभएको जिल्लाको फैसला उच्चका न्यायाधीशद्वय अली अकवर मिकरानी र जनार्दनबहादुर खड्काको संयुक्त इजलासले उल्ट्याएको थियो।
त्यसबेला उनलाई ५ वर्ष जेल सजाय र ५ हजार जरिवाना तोकिएको थियो। काठमाडौं अदालतको फैसलाअनुसार २०६१ साल साउन ८ गते देखि २०६२ जेठ १० गतेसम्म १० महिना २ दिन उनी थुनामा थिए।
उच्चले उक्त अवधिको सजाय कट्टा गरी बाँकी ४ वर्ष १ महिना २८ दिन र ५ हजार जरिवाना भराउन भनेको थियो।
गत वर्ष लामा अध्यक्ष पंकजविक्रम नेम्बाङको प्यानलबाट एन्फा उपाध्यक्षमा निर्वाचित भएका थिए।
Shares
प्रतिक्रिया