साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगर पालिका वडा नम्बर ११ का यमबहादुर गुरुङले राष्ट्रिय महिला फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेका छन्।
गुरुङले साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिप खेलेका २३ सदस्यीय टोलीलाई एकमुष्ट १० लाख रुपैयाँ प्रदान गरेका हुन्। च्याम्पियनसिपको फाइनल हेर्न पुगेका गुरुङले महिला टोलीको प्रर्दशनबाट प्रभावित भएर रकम दिएको बताएका छन्।
गुरुङले अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रिय सदस्य, एन्फा महिला संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम पठाइ सकेका छन्।
लामाले प्राप्त रकम केही दिनमा एक कार्यक्रम आयोजना गर्दै खेलाडीलाई हस्तान्रण गर्ने बताएकी छिन्।
पहिलो पटक वाफ च्याम्पियनसिप खेलेको नेपाली टोली फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित भएको थियो। निर्धारित समयमा २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
त्यसअघि नेपालले सेमिफाइनलमा लेबनानलाई २–१ ले हराउँदै ६ पटकको विजेता जोर्डनसँगको भेट पक्का गरेको हो।
समुह चरणमा नेपालले इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो।
१५ वर्षदेखि साउदी बस्दै आएका गुरुङले रियादमा लालीगुरास नेपाली रेष्टुरेन्ट सन्चालन गर्दै आएका छन्।
Shares
प्रतिक्रिया