ad ad

खेल


मछिन्द्र च्याम्पियनको रुपमा उदाउँदा आर्मीको पीडादायी इतिहास दोहोरियो

मछिन्द्र च्याम्पियनको रुपमा उदाउँदा आर्मीको पीडादायी इतिहास दोहोरियो

लक्ष्मी जि.सी
फागुन ३, २०७६ शनिबार १६:५७,

मछिन्द्र क्लबलाई नयाँ च्याम्पियनको रुपमा पाएसँगै यो वर्षको सहिद स्मारक ए डिभिजन लिग फुटबल सकिएको छ।

मंसिर २७ गते सुरु भएको लिगले रोमाञ्चक उतारचढाव पार गर्दै शनिबार नयाँ च्याम्पियनको टुंगो लागेको हो।

यसअघि ७ वटा क्लबलाई विजेताको रुपमा पाएको लिगमा यसपटक नयाँ विजेताको रुपमा मछिन्द्र उदाएको छ। तीव्र प्रतिस्पर्धाबीच त्रिभुवन आर्मी क्लबलाई पछि पार्दै मछिन्द्रले बाजी मारेको हो।

 

अंकका आधारमा, अंक बराबर भए हेड टु हेड, त्यो पनि बराबर भए गोलअन्तरबाट ए डिभिजन लिग विजेता चुनिने अभ्यास छ। तर, कहिलेकाँही लिगको रोमाञ्चकता अन्तिम खेलसम्मै रहने गरेको छ।

त्यसले गर्दा लिग पनि नकआउटको फाइनल सरह हुने गर्दछ। यसपटकको पनि त्यस्तै प्रतिस्पर्धा देखियो। लिगको अन्तिम खेल नै निर्णायक बन्ने अवस्था थियो।

यसपटक नयाँ च्याम्प्यिन बन्ने निश्चित त अघिल्ला चरणका खेलबाट नै भइसकेको थियो। तर, को च्याम्पियन बन्ला भन्ने कौतुहलता शनिबारको खेलको अन्तिम समयसम्मै कुर्नुपर्ने अवस्था बन्यो। त्यसअर्थ खेल दुवै टोलीका लागि उत्तिकै महत्वपूर्ण थियो।

दुवै टोली एक एक पटक उपाधि नजिक पुगेर रित्तो हात हुनुपरेको थियो। यसअघि २०७० सालमा थ्रीस्टारसँग पछि पर्दै मछिन्द्र उपविजेतामा सीमित भएको थियो।

यो वर्ष घरेलु फुटबलका स्टारहरुलाई अनुबन्ध गरेर बलियो शक्तीको रुपमा उदाएको मछिन्द्रले अधिकांश समय आर्मीलाई दबाबमा राख्दै कडा चुनौती पेश गरेको थियो। मछिन्द्रलाई यो वर्ष सुरुवातबाट उपाधि दाबेदारका रुपमा हेरिएको थियो।

दशरथ रगंशालामा शनिबार भएको लिगको अन्तिम खेलमा आर्मी मछिन्द्र क्लवसँग १–० ले स्तब्ध भएको भयो। खेलअघिको अवस्था मछिन्द्रलाई भन्दा आर्मीका लागि सहज थियो। बराबरले आर्मी च्याम्पियन बन्न सक्थ्यो। मछिन्द्रलाई भने जित्नैपर्ने बाध्यता थियो।

मुखैमा आएको गाँस खोसिदा कति दुःख लाग्छ भन्ने तीतो अनुभव घरेलु लिगमा आर्मीले भोगेको छ। त्यस्तो नतिजा आर्मीले दुईपटक व्यहोर्नुपर्यो।

२०६१ सालमा लिग खेल्न सुरु गरेको आर्मीले २०६३ मा च्याम्पियन बन्ने सम्भावना थियो। अहिले जस्तै अन्तिम खेलमा आर्मीले बराबरी मात्र गर्दा उपाधि जित्ने अवस्था थियो।

च्याम्पियन बन्नका लागि नेपाल पुलिस क्लबलाई भने जित्नै पर्ने बाध्यता थियो। त्यो खेल पुलिसले जित्यो र पहिलो पटक च्याम्पियन बन्यो। आर्मी निराश भएर फर्कियो।

फेरि यसपटक पनि परिस्थिति ठ्याक्कै उस्तै आइपर्यो। मछिन्द्र नयाँ च्याम्पियन बन्दा आर्मी फेरि निराश बन्नुपरेको छ।

इतिहास दोहोरिएपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले अन्तिम खेल सोचे जस्तो हुन नसकेको बताए। ‘आज गोल गर्ने अवसर नै सिर्जना गर्न सकेनौं। अन्तिम समयमा केही अवसर बने पनि सफल हुन सकेनौं,’ उनले भने, ‘गरेका केहि आक्रमणलाई पनि मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोके।’

खेलको ३५औं मिनेटमा गोलरक्षक विकेश कुथु घाइते हुनु आर्मीका लागि अर्को दुर्भाग्य बन्यो। चोटका कारण उनलाई मैदानबाट सोझै अस्पताल लानुपर्दा टोलीमा स्वभाविक रुपमा त्यसको मानसिक दबाब पर्यो।

उनको ठाँउ लिएका अर्का गोलरक्षक विवश चौधरीको प्रदर्शनमा भने प्रशिक्षक न्यौपाने सन्तुष्ट देखिए। तथापी टोलीको समग्र प्रदर्शन भने कमजोर रहेको उनले स्वीकारे। उनले भने, ‘हामीले लिगभर जसरी खेलेका थियौं, त्यस्तो प्रदर्शन गर्नबाट आजको निर्णायक खेलमैं चुक्यौं।’

इतिहास बनाउने अवसरमा चुक्दा न्यौपाने दुःखी बनेका छन्। उनले तय गरेको ‘एट्याकिङ’ रणनीति सफल हुन सकेन। ‘हाम्रो लागि त्यहि दुर्भाग्य भयो। इतिहास बनाउने अवसर थियो, त्यसमा हामी चुक्यौ,’ न्यौपानेले भने, ‘खेलाडीकै रुपमा पनि ४ पटक लिग उपाधि जितेको थिएँ। प्रशिक्षकको रुपमा जित्ने सपना थियो सफल हुन सकेन। केहि खड्किए जस्तो भएको छ।’

BharatKhawas withMedal

आर्मीका कप्तान भरत खवास पनि प्रशिक्षक न्यौपानको भनाईमा सहमत छन। ‘हामीले लिगका यसअघिका खेलमा जस्तो खेल्न सकेनौ।

एकपटक हैन २ पटक एउटै नतिजा दोहोरिएको छ,’ हारको जिम्मेवारी लिदै भरतले भने, ‘हामीले जुन जिम्मेवारी पाएका थियौं। त्यो पुरा गर्न सकेनौ। लिगमा व्यक्तिगत रुपमा म उत्कृष्ट फरवार्ड भएपनि टोलीलाई च्याम्पियन बनाउन नसकेकोमा दुःखी छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .