ad ad

खेल


पहिलो लिगमै उत्कृष्ट रक्षक बनेका अनन्त

पहिलो लिगमै उत्कृष्ट रक्षक बनेका अनन्त

लक्ष्मी जि.सी
फागुन ७, २०७६ बुधबार १४:२५,

शनिबार मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीचको लिगको अन्तिम खेल अनन्त तामाङले टीभीको प्रत्यक्ष प्रसारणमा हेरिरहेका थिए।

आफ्नो टोली थ्री स्टारले चाैथाे स्थानमा रहेर लिग पुरा गरेपछि उनी अन्तिम खेल घरमैं टीभीमैं हेरिरहेका थिए। त्यति नै बेला उनकाे माेवाइलमा घण्टी बज्यो र अखिल नेपाल फुटबल संघ (एन्फा) बाट उनलाई उत्कृष्ट रक्षकको पुरस्कार थाप्न निम्ताे दिइयाे।

खेल जीवनमैं पहिलोपटक खेलेको सहिद स्मारक ए डिभिजन लिगमा नै उनी उत्कृष्ट रक्षक चुनिए।

त्यतिबेलासम्म उत्कृष्ट रक्षक चुनिन्छु भन्ने आफूले अपेक्षा समेत नगरेको उनी बताउँछन्।

पहिलो सहभागितामै आफ्नो पोजिसन (रक्षक) को उत्कृष्ट खेलाडी ठहरिँदा खुसी हुनु त स्वभाविक नै भयो।

अनन्त उनै खेलाडी हुन जसले गतवर्ष आफ्नै कारण लिग खेल्न पाएका थिएनन्। त्यो पीडा उनीसँग ताजै छ।

युवापुस्ताका उदियमान खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्टकै ब्याचका एन्फा एकेडेमीका उत्पादन हुन् अनन्त। चार वर्षअघि स्वदेशमै आयोजना भएको साफ अन्डर–१९ च्याम्पियनसिपमा च्याम्पियन बनेपछि अनन्तले सिनियर टोलीमा स्थान पाएका थिए। त्यसयता उनी टोलीका नियमित सदस्य रहेका छन्।

AnantaTamang 1

पछिल्लो चार वर्षमा राष्ट्रिय टोली र २३ वर्ष मुनिकाले जितेका सबै टोलीमा अनन्त महत्वपूर्ण सदस्य हुन्।

२०७२ मा बंगबन्धु गोल्डकप, १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण, २०७३ मा एएफसी सोलिडारिटी कप होस् वा यसै वर्ष स्वदेशमा आयोजना गरिएको १३औं सागमा स्वर्ण जित्दा होस् अनन्त टोलीका नियमित सदस्य रहेका छन्।

तर, राष्ट्रिय टोलीबाट खेल्न थालेको चार वर्षभन्दा लामो समयपछि मात्र उनले लिग खेल्ने अवसर जुर्यो। उनी जतिबेला खेल जीवनलाई अघि बढाइरहेका थिए, त्यतिबेला एन्फाको आन्तरिक द्वन्द्वका कारण ए डिभिजन लिग रोकिएको थियो।

गतवर्ष लिग सुरु हुँदा उनी आफ्नै गल्तिका कारण मैदानबाहिर बस्नुपर्‍यो। थ्री स्टार र मनाङ दुवै टोलीमा सम्झौता गरेका कारण अनन्तले लिग गुमाउनुपरेको थियो।

यसपटक उनले त्यो गल्ती दोहोर्‍याएनन्। बेलैमा थ्री स्टारबाट खेल्ने निर्णय गरेका थिए।

लिग सुरु हुनुअघि नै उनले नेपालखबरसँग भनेका थिए, ‘गतवर्ष खेल्न नपाएको पीडा मैले बिर्सेको छैन। त्यतिबेला एन्फा एकेडेमीबाट निस्केको केही समय भएको थियो। लिग खेल्न उत्साहित थिएँ। तर आफ्नै गल्तीका कारण खेल्न पाइनँ,’ उनले स्मरण गरेका थिए, ‘झन्डै डिप्रेसनमा जाने अवस्थामा समेत पुगेको थिएँ।’

त्यो अवस्थाबाट पनि अनन्तले आफुलाई सम्हालेर आफूले खेलेको पहिलो लिगमा नै उत्कृष्ट खेलाडी भएको प्रमाणित गरे।

यद्यपि उनको टोली थ्री स्टारले चौथो स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो।

AnantaTamang 2

यो वर्ष टोलीको संरचनामा निकै परिवर्तन भएको थियो। स्थापित खेलाडीहरुले क्लब छाडेका थिए। विक्रम लामा, अनन्त, रुपेश केसीहरु जस्ता केहि सिनियर खेलाडी मात्र थिए।

कतिपय खेलाडी पहिलो पटक थ्री स्टार जस्तो स्थापित क्लबको जर्सीमा रंगशालामा उत्रेका थिए। दबाबका बीचमा टोलीले लिगको यात्रा सुरु गरेको थियो।

सुरुमा उपाधि जित्ने लक्ष्य राखेपछि लिग अघि बढ्दै जाँदा भने शीर्ष ६ भित्र लिगको अन्त्य गर्ने क्लबको योजना पुरा भएको अनन्त बताउँछन्।

व्यक्तिगत रुपमा उपाधि जित्दा खुसी लागे पनि टोलीका लागि अझै सोचे जस्तो गर्न सकिएन की भन्ने उनलाई महसुस हुन्छ।

अनन्तकै नजरमा भने उत्कृष्ट रक्षकको अर्का दाबेदार आर्मीका विकास खवास लाग्छ। उनले भने, ‘विकासको खेल मलाई लिग कै राम्रो लाग्यो। हामी एउटै पोजिसनमा भएर पनि हो। आर्मी आज जहाँ छ त्यसमा उनको भुमिका महत्वपुर्ण छ।’

उनले थ्री स्टारका कप्तान विक्रम लामासँग रक्षापंक्तिमा आफ्नो उत्कृष्ट तालमेल रहेको सुनाए। ‘हाम्रो कम्बिनेसन १३औं सागदेखि नै हो। दाईले डिफेन्समा एकदम राम्रो गरिराख्नु भएको छ,’ उनले भने, ‘हाम्रो तालमेल मिलेको छ। त्यसले टोलीलाई पनि सहयोग गरेको छ। यो कम्बिनेसन म बिर्सन सक्दिन।’

उनले थ्री स्टारबाटै खेल जीवनलाई अघि बढाउन चाहेको पनि प्रष्ट पारका छन्। अहिले अरु क्लबमा जानेबारे सोँचाई नबनाएको उनले बताए।

‘हाम्रो जस्तो युनिटी सायदै अर्को क्लबमा होला,’ उनले थपे, ‘अहिले तत्कालका लागि कतै जाने सोचेको छैन।’

यसपटक लिगमा विगतमा भन्दा दर्शकको उपस्थिति कम हुँदा अनन्त पनि केहि निराश देखिए। ‘फुटबलमा दर्शक हुँदामात्र खेल्ने जोश बढि हुन्छ,’ उनले अनुरोध गरे, ‘अर्को वर्ष फुटबललाई माया गर्नेहरु रंगशाला आइदिनु होला। त्यसले हामीलाई हौसला मिल्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .