ad ad

खेल


आहा रारा गोल्डकपः आर्मीले जित्न नसकेको अर्को चुनौती

आहा रारा गोल्डकपः आर्मीले जित्न नसकेको अर्को चुनौती

लक्ष्मी जि.सी
फागुन ३०, २०७६ शुक्रबार १०:२५,

यसपटक आर्मीका लागि सहिद स्मारक ए डिभिजन लिग जित्ने सुनौलो अवसर थियो। १२ औं चरणको खेलको अन्त्यसम्ममा टोली सबैभन्दा बलियो अवस्थामा थियो पनि। फागुन ३ गते निर्णायककै रुपमा रहेको खेलमा मछिन्द्र क्लबलाई १–० ले नतिजा सुम्पदै आर्मी लिग उपाधिबाट बिमुख भयो। बराबरी गर्दा पनि आर्मीका लागि लिग जित्न पर्याप्त थियो। तर आर्मीले खेल मात्र गुमाएन, हातमा आइसकेको उपाधि मछिन्द्रले उचालेको हेर्ने दर्शकमा सीमित भयो।

यस्तो संयोग ए डिभिजन लिगमा पहिलो पटक भएको भने थिएन। २०६३ मा पनि बराबरी गर्दा पुग्ने अन्तिम खेल गुमाउँदा अर्को विभागीय टोली नेपाल पुलिस क्लब पहिलो पटक लिग च्याम्पियन बनेको थियो। त्यति बेलामा आर्मीले दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो।

ए डिभिजन लिगमा अभागी सावित भएको त्रिभुवन आर्मी क्लब पोखराको आहा रारा गोल्डकप फुटबलमा पनि उस्तै देखिएको छ। अहिलेसम्म आर्मीले लिग मात्र होइन आहा रारा गोल्डकपको पनि उपाधि जित्न सकेको छैन। यस अर्थमा लिग र आहा रारा गोल्डकपमा आर्मीलाई अभागी भन्दा फरक पर्दैन। यद्दपि आर्मीले लिग वा आहा रारा गोल्डकपमा दाबेदारी भने पटक पटक प्रस्तुत गरेको छ।

नकआउट प्रतियोगिता भए पनि आहा रारा गोल्डकपमा आर्मीको अवस्था राष्ट्रिय लिगको जस्तै छ। १८ औं सस्करणसम्म आइपुग्दा आर्मीले एक पटक पनि उपाधि जितेको छैन। जब कि अर्को विभागीय टोली पुलिसले सर्वाधिक ६ पटक आहा रारा गोल्डकपको ट्रफी उचालेको छ। २०६० सालदेखि १२ पटक आहा रारा गोल्डकप खेल्दा आर्मी उपाधि विमुख फर्किनु परेको हो। ४ पटक फाइनल खेलेको आर्मीले उपविजेतामा चित्त बुझाउनुपरेको हो। गत संस्करणमा फाइनल खेलेको आर्मी यो पटक भने सेमिफाइनलबाटै बाहिरियो। ए डिभिजन प्रतिद्वन्द्वी मनाङ मर्स्याग्दी क्लबसँग बिहीबार ३–२ ले पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो।

लिगमा जस्तै पोखरामा पनि असफलता मिलेको जनाउँदै आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘हामी एउटा लक्ष्य लिएर पोखरा आएका थियौं, लिगमा इतिहास रच्नबाट चुक्यौं। त्यसपछि पोखरामा च्याम्पियन बन्ने सपना थियो तर सफल हुन सकेनौ। राष्ट्रिय टोलीमा रहेका खेलाडीहरु भर्खरै रिलिज भएकाले पनि उपाधि जित्छौं भन्ने आशा थियो।’

विश्वकप छनोट अन्तर्गत अर्को महिना चाइनिज ताइपेइ र अष्ट्रेलियाविरुद्ध हुने खेल कोराना भाइरस संक्रमणका कारण स्थगित भएपछि एन्फाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण रोकेको थियो। त्यस कारण बन्द प्रशिक्षणमा रहेका खेलाडी आ-आफ्नो क्लबमा फर्केका छन्। आर्मीका प्रशिक्षक न्यौपाने लिगको दवाबाट खेलाडी बाहिर निस्कन नसकेको अनुमान गर्छन्। भन्छन्, ‘लिगको अन्तिममा चुक्न पुग्दा हार भोगेका थियौं, त्यसको प्रेसरबाट खेलाडीहरु बाहिर आउन सकेका छैनन्। पोखराको प्रर्दशनमा पनि त्यो देखियो। लिगमा उपाधि दाबेदारको रुपमा हामी थियौं तर अन्तिममा चुक्न पुग्यौं। त्यही तनाबका कारण पनि खेलाडीहरुले राम्रो खेल्न सकेनन्।’

 न्यौपाने पोखरामा टोली केही दुर्भाग्यशाली रहँदै आएको स्वीकार्छन्।

‘एक हिसाबले हेर्ने हो भने पोखरा हाम्रो लागि नफापेको पनि हो। खेलाडीले पनि जसरी खेल्नुपर्ने हो त्यसरी खेल्न पनि सकेनन्, उनले सुनाए, 'डिफेन्सिभ र स्ट्राइकिङमा समस्या देखियो। सुरुवातमा नै गोल खाँदा पनि प्रेसर भयो।’

खेलाडीले पर्याप्त आराम नपाउँदा सोचे अनुरुपको गर्न नसकेको उनको बुझाइ छ। ‘लिगपछि लगातार मोफसलमा खेल भइरहेका छन्। त्यस कारण खेलाडीले आराम पाएका छैनन्’, उनी भन्छन्, ‘त्यो प्रेसरका कारण कतिपय खेलाडी घाइते भइरहेका छन्। मोफसलका अन्य प्रतियोगितामा बी टोलीले भाग लिइरहेका छन्। लिगपछिको पहिलो पटक सेट टिम पोखरा रगंशालामा उतारेका हौं।’

लिगमा पनि आर्मीले १३ मध्ये २ खेल गुमाएको थियो। मछिन्द्रसँग अघि एक मात्र खेलमा आर्मी मनाङसँग १–० ले पराजित भएको थियो। यद्दपि मनाङ लिगमा तेस्रो भएको थियो। लिगपछि आर्मीले मोफसलका ४ वटा प्रतियोगितामा भाग लिँदा नवलपुरको राइनो कपको उपाधि उचालेको थियो। त्यो विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै आर्मीले वर्षको पहिलो नकआउट उपाधि जितेको थियो।

झापाको सताक्षी गोल्डकप, इलामको माइभ्याली गोल्डकप र आहा रारा गोल्डकपबाट आर्मी खाली हात फर्केको छ। लगातार उपाधिबाट विमुख हुनु पछाडिका कारण केलाउँदै प्रशिक्षक न्यौपाले पहिलो रोजाईका गोलकिपर विकेश कुथुको अभाव खड्किएको स्वीकार्छन्। मछिन्द्रविरुद्धको अन्तिम खेलमा घाइते भएका उनी अझै पूर्ण रुपमा फिट भइसकेका छैनन्।

‘विकेश घाइते हुनु हाम्रो लागि दुभाग्य हो, उनको अभाव खड्किनु स्वभाविक हो’, उनी भन्छन्, ‘अर्का गोलकिपर विवश चौधरी अझै परिपक्क भइसकेका छैनन्। संकटाविरुद्ध क्वार्टरफाइनलमा राम्रै खेले पनि मनाङसँग प्रदर्शन राम्रा हुन सकेन।’

आर्मीमा कप्तान भरत खवास पनि विकेशको कमी भएको मान्छन्। विवशले राम्रो खेले पनि उनमा विकेशजस्तो अनुभव नभएको उनी बताउँछन्।

आर्मी असफल रहँदा आहा रारा गोल्डकपमा मुख्यतः पुलिस, मनाङ र थ्री स्टार क्लबकै दबदबा देखिन्छ। पुलिसले सर्वाधिक ६ पटक जित्दा मनाङ र थ्री स्टारले समान ५ पटक उपाधि उचालेका छन्। यस पटक फेरि एक पटक पुलिस र मनाङ १८ औं संस्करणको फाइनलमा भिड्दैछन्। सेमिफाइनलमा थ्री स्टारलाई हराउँदै पुलिसले फाइनल यात्रा तय गरेको हो। आहा रारा गोल्डकपमा एक पटक अफ्रिकन युनाइटेड र एक पटक आयोजक सहारा क्लबले जितेको रेकर्ड छ।

 देशका अधिकांश नकआउट प्रतियोगिता जितिसकेको आर्मीका लागि लिग र आहा गोल्डकप यो वर्ष पनि कठिन सावित भएका हुन्। लिग जस्तै आहा रारा गोल्डकप जित्न आर्मीले अझै कति कुर्नुपर्ने हो त्यो भने आउने दिनले बताउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .