ad ad

खेल


वैशाख १२ ले दिएको अर्को पीडाः फुटबल खेलाडी समिक्षाको आँखामा गम्भीर चोट

वैशाख १२ ले दिएको अर्को पीडाः फुटबल खेलाडी समिक्षाको आँखामा गम्भीर चोट

लक्ष्मी जि.सी
बैशाख २३, २०७७ मंगलबार २:३३,

वैशाख १२ गतेसँग नेपालीको दुःखद स्मरण जोडिएको छ। २०७२ बैशाख १२ गते विनाशकारी भूकम्पले ९ हजार बढीको ज्यान लियो। २२ हजार बढी घाइते भए, हजारौं घर ध्वस्त भए। यही कारण नेपालीका लागि वैशाख १२ को सम्झना सुखद छैन।

यो वर्षको वैशाख १२ उदयपुर, बेलका नगरपालिका—५ की महिला फुटबल खेलाडी समिक्षा मगरका लागि दुःखद बनेर फर्कियो, संसार अन्धकार बनाउने गरी। बारीमा काम गर्दागर्दै आँखामा चोट लागेपछि उनले दायाँ आँखाको ज्योती गुमाएकी छिन्।

चोट लागेको भोलिपल्ट उनी उपचारका लागि विराटगनर आँखा अस्पताल पुगेकी थिइन्।

समिक्षाको आखाँको ज्योती फर्काउन नसकिएको अस्पतालालई उदृत गर्दै प्रशिक्षक भगवती राना मगर बताउँछिन्। ‘इन्फेक्सन कम गर्न एन्टिवायोटिक औषधी चलाइरहेको छ। आइतबारबाट केही कम भएको छ’,उनले भनिन्, ‘डाक्टरका अनुसार आखाँको ज्योती गुमिसकेको छ।’

अब उनको आँखाको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्। ‘अप्रेसन कहिले गर्ने भन्ने बारेमा भोली वा पर्सि मात्र थाहा हुन्छ’, प्रशिक्षक मगर भन्छिन्, ‘उपचारमा ढिलो आउँदा समस्या भएको भनिएको छ। आखाँमा पसेको ढुंगा निकाल्न सक्ने अवस्था छैन। ढु‌ंगा पसेको ठाउँ बन्द भइसकेकोछ।’

सुनसरीको धरान फुटबल क्लबबाट खेल्दै आएकी समिक्षा मगर निकै सम्भावना भएकी खेलाडी हुन्। प्रशिक्षक मगर उनलाई मिहिनेती र छिटो प्रगति गर्ने खेलाडी मान्छिन्।

‘६ महिना भयो मैले उनलाई हेरेको, निकै छिटो प्रगती गरिरहेकी छिन्। मोरङ, सुनसरी, काठमाडौमा खेल्दा कति वटा खेलमा वुमन अफ द म्याच समेत बनेक थिइन्’, प्रशिक्षक मगर भन्छिन्, ‘समीक्षा निकै सम्भावना भएको खेलाडी हुन्।’

काठमाडौंको तिलगंगा आँखा अस्पतालमा आँखा प्रत्यारोपण हुनेगर्छ। सो अस्पतालले दानस्वरुप आँखा पनि लिन्छ। आँखा बिरामीलाई प्रत्यारोपण गर्छ।

समिक्षाको उचारका लागि प्रशिक्षक मगर उनीसँगै अस्पतालमै छिन्। ‘उनले एउटा आँखा गुमाउनु भनेको हामीले राम्रो खेलाडीलाई मैदानमा देख्न नपाउनु हो। उपचारका लागि हामी कोसिसमा छौं’, उनी भन्छिन्।

समिक्षाको चोट र उनको कमजोर आर्थिक अवस्थाबारे समाचार प्रकाशित भएपछि उनलाई सहयोग गर्नेहरु अगाडि सरेका छन्। घरेलु फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपचार सुरुमा २५ हजार रुपैयाँ सहयोग गरेको थियो। समान्य सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि एन्फाले आइतबार मात्र उपचारमा लाग्ने सबै खर्च व्यहोर्ने जनाएको छ।

एन्फाले बनाउनुपर्छ मापदण्ड

‘हामीले सुरुमै भनेका थियौ सबै खर्च एन्फाले नै व्यहोर्ने छ भनेर तर अन्य ठाउँबाट सहयोग आउँदा औषधी उपचार र खाना सहयोग होस् भनेर संकलन गरिएको हो। उचारमा हुने सबै खर्च एन्फाले नै व्यहोर्नेछ’, एन्फा प्रवक्ता किरण राईले भने, ‘प्रशिक्षक मगरले भनेदेखि नै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग छलफल गरेर सुरुमा २५ हजार र अन्य सहयोग दिने भनेका थियौं बाहिर आएको कुरा गलत हो।’

samixa footballअनिता श्रेष्ठको फेसबुक स्ट्याटस

समिक्षाको उपचारका लागि नेपाली राष्ट्रिय महिला टोली, पूर्व प्रशिक्षक हरि खड्का र अफिसीयलले ५० हजार रुपैयाँ सहयोग गरेका छन्। व्यक्तिगत रुपबाट पनि उनको उपचारका लागि सहयोग संकलन भइरहेको छ। समिक्षाको उपचारमा २६ हजार रुपैयाँ सहयोग गर्दै अनिता श्रेष्ठले समाजिक सञ्जालमार्फत् एन्फा कार्यसमितिको चर्को आलोचना गरेकी छिन्।

खेलाडीको उपचारमा एन्फाले ध्यान नदिएको गुनासो बाहिर आएको यो पहिलो पटक होइन। राष्ट्रिय खेलाडीको हकमा सबै उपचार खर्च व्यहोर्ने गरेको एन्फाको दाबी छ। देखिएको कुरा के हो भने फुटबल खेलाडीको अभिभावक संस्थासँग खेलाडीलाई उपचार सहयोग गर्ने कुनै मापदण्ड छैन। अहिलेसम्मको 'ट्रेन्ड' हेर्दा  एन्फाका उपचार निर्णयहरु सार्वजनिक प्रतिक्रिया हेरेर हुने गरेका छन्।

समीक्षाको हकमा पनि यो दोहोरिएको हो।

एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आइतबार फेसबुकमा एउटा स्टाटस राख्दै एन्फाले सबै खर्च व्यहोर्न माग गरको थिए। ‘फेरि पनि, समिक्षाको सम्पूर्ण उपचार खर्च एन्फाले ब्यहोर्नु पर्छ भनेर एन्फा अध्यक्ष लगायत कार्यसमिति सबैमा हार्दिक अनुरोध गर्दछु। सहयोगी सबैमा हार्दिक धन्यवाद। शीघ्र स्वास्थ्य लाभको कामना, समिक्षा।’

यो पनि: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .