ad ad

खेल


मधेशीबारे विवादास्पद अभिव्यक्ति दिएका एन्फा अध्यक्ष शेर्पाले माफी मागे

मधेशीबारे विवादास्पद अभिव्यक्ति दिएका एन्फा अध्यक्ष शेर्पाले माफी मागे

नेपालखबर
जेठ २१, २०७७ बुधबार १४:१६,

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूले खेल भावनाबाहेक कुनै मनसाय राखेर वा कुनै क्षेत्र, प्रदेश र भूगोललाई होच्याउने वा नकारात्मक सन्देश प्रवाह गर्न नखोजेको स्पष्टोक्ति दिएका छन्।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष शेर्पाले आफूले दिएको अभिव्यक्ति कुनै सम्प्रदाय, वर्ग, जाति, लिङ्ग, भाषाभाषी, प्रदेश र भूगोलप्रति लक्षित नगरेको बताएका हुन्।

आफ्नो भनाइलाई तोडमोड गरी फुटबलप्रति वितृष्णा उत्पन्न गराउने मनसायबाट पे्ररित तत्वले एन्फा र यसको नेतृत्वको छवि धमिल्याउने र हुँदै आएको फुटबलको विकासको गतिमा अवरोध पुर्याउने योजनामुताबिक दुष्प्रचार गरेको दाबी गरेका छन्।

आफूले दिएको अन्तर्वार्तामा भावनालाई भन्दा पनि शाब्दिक अर्थमा मात्र ध्यान दिएको बताएका छन्।

‘मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, धर्म, वर्ग, लिङ्ग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि’, विज्ञप्तिमा उनले भनेका छन्, ‘यद्यपि अन्तर्वार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाइ दिदीबहिनी एवं त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट पुग्न गएमा त्यसप्रति क्षमायाचना गर्दछु।’

नेपाली राष्ट्रियता र राष्ट्र पहिचानको सन्दर्भमा अन्य क्षेत्रभन्दा तराईको गौरवशाली इतिहासबाट नेपाली फुटबल क्षेत्रमा केही कमी भएकोमा नेपाली फुटबल खेलको अभिभावकको आफूलाई पछूतो भएको उल्लेख गरेका छन्।

तराईका सप्तरी, सिरहा, धनुषा र महोत्तरी गरी ४ जिल्लाको गतिविधिको बारेमा पूर्वाधारलाई अझ बढी प्रभावकारी सञ्चालन गर्दै अन्य क्षेत्रमा जस्तै तराईका क्षेत्रबाट पनि अधिक संख्यामा प्रतिभावान् खेलाडी उत्पादन गर्ने योजना अघि सारेको उनको भनाइ छ।

अध्यक्ष शेर्पाले केही समयअघि एक अनलाइनमा अन्तर्वार्ताका क्रममा तराई मधेशका जनतामा राष्ट्रियताको भावना कम भएकाले उनीहरुलाई फुटबलको माध्यमबाट राष्ट्रियता सिकाउन जरुरी रहेको बताएपछि विवादमा तानिएका थिए।

नेपाल आर्मीसँगको सहकार्यमा तराईका सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा ग्रासरुट फुटबल सुरु गरेको बताउँदै अध्यक्ष शेर्पाले तराईका बच्चाहरुलाई फुटबलप्रति आकर्षण गर्नका लागि र राष्ट्रियता सिकाउनका लागि गरिएको बताएका थिए।

फुटबल सिक्नका लागि ब्यारेकमा आउँदा राष्ट्रिय गीत सिक्ने, नेपालको विषयमा चर्चा हुने र फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्न यस्तो गरिएको बताएका थिए।

शेर्पाको अभिव्यक्ति विवादास्पद र बेठीक भएको भन्दै काठमाडौ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघले कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका थिए।

त्यसअघि पनि संघीय संसद्को प्रतिनिधिसभाको बैठकमा सांसद विमल प्रसाद श्रीवास्तवले शेर्पालाई कारबाही गर्न माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .