ad ad

समाज


विज्ञ भन्छन्ः संक्रमणको अर्को लहर सुरु भयो, लकडाउन खुकुलो हुँदा फैलिन सक्छ

विज्ञ भन्छन्ः संक्रमणको अर्को लहर सुरु भयो, लकडाउन खुकुलो हुँदा फैलिन सक्छ

सागर न्यौपाने
जेठ २१, २०७७ बुधबार १४:३६,

नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेका बेला कोभिड–१९ फैलिने अर्को लहर आउनसक्ने भन्दै त्यसका लागि व्यवस्थित तयारी हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।

सरकारले भारतलगायत विश्वभर रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेका बेला नेपालमै रहेका संक्रमित अब देखिँदै जाने र त्यो क्रम केही समय जारी रहने विज्ञहरुले बताए।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा अनुवांशिक वैज्ञानिक गिरी त्रिपाठीले कोरोना कुनैपनि मौसममा फैलनसक्ने भाइरस भएकाले यसको जोखिम नेपालमा सधैँ भइरहने बताए।

नेपालले कोरोनाको संक्रमण व्यवस्थापनमा काम नै गर्न नसकेको र मुख्य जोखिम बल्ल सुरु हुन थालेको उनले बताए।

पछिल्ला केहि दिनयता नेपालमा दैनिक २ सयभन्दा बढी संक्रमित देखिइरहेका छन्।

‘अहिलेसम्म व्यवस्थापनका लागि प्राप्त अमूल्य समय चुकायौं, लकडाउन मात्र गरियो तर त्यसपछि के गर्ने भनी व्यवस्थापनमा ध्यान दिइएन, यो समयसम्म धेरै तयारी गर्नुपथ्र्याे,’ नेपालखबरसँग गिरीले भने, ‘संक्रमणको लहर आउने क्रम छ, भर्खरै देखिन थालेको हो, व्यापक लहर आउनै वाँकी छ।’

त्यसो त अहिलेसम्म देखिएका अधिकांश संक्रमित छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएकाहरुलाई परीक्षण गर्दा देखिएको विज्ञहरु बताउँछन्।

khulna thale pasal 5 copy

नेपालमा लकडाउन गरिएको ७१ दिन भइसकेको छ। लकडाउनका कारण कोरोना धेरै फैलिन नपाएको र अहिलेसम्मको संक्रमण आयातित नै भएको उनीहरु बताउँछन्।

‘अहिलेसम्म जति पनि परीक्षण भएको छ, ती अधिकांश भारतबाट फर्केकाहरु हुन्,’ एक विज्ञ डाक्टरले भने, ‘लकडाउनका कारण समुदायमा संक्रमण फैलनबाट रोकिएको छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा.अनुप बास्तोलाले पनि हालसम्म देखिएका संक्रमित आयातित भएपनि स्थानीय संक्रमणको लहर भने अब सुरु हुनसक्ने बताए।
बुधबारसम्म २३ सयमा संक्रमण पुष्टि भएको छ।

‘अहिलेसम्म देखिएमा अधिकांश भारतबाट आएकालाई परीक्षण गर्दा देखिएको हो,’ डा. बास्तोलाले नेपालखबरसँग भने, ‘समुदायमा सर्न समुदाय खुल्नुपर्छ, लक्षण भएकाको परीक्षण नै भएको छैन, लकडाउन खुकुलो पार्ने बित्तिकै सबैतिर देखिन थाल्छ।’

निरन्तरको लकडाउनले दैनिक जीवन मारमा परेको भन्दै व्यवसायीदेखि सर्वसाधारणले समेत लकडाउन उलंघन गर्न थालिसकेका छन्।

डा. बास्तोला यही कुरालाई अबको मुख्य चुनौति देख्छन्।

‘लकडाउनपछि संक्रमणको झन् ठूलो छाल आउँदैछ,’ डा. बास्तोलाले थपे, ‘अहिलेसम्म आएकै छैन, हावा मात्र चलेको हो, भारतमा संक्रमित भएको छाल आयो, हामीमाझ रहेको संक्रमणको छाल प्रकट हुन बाँकी छ।’

नयाँ भाइरसबारे जसरी अध्ययन र विश्लेषण गरिनुपथ्र्याे त्यसो पनि नभएको विज्ञहरु बताउँछन्।

अनुवांशिक वैज्ञानिक प्रा. गिरी त्रिपाठी भाइरस महामारीकै रुपमा फैलने संभावना बाँकी नै रहेको बताए।

‘भाइरस देशभित्र समुदायमा छिरिसकेको छ, कोरोना फैलने क्रम बढ्दैछ, यो कुनै पनि मौसममा देखिन सक्छ,’ त्रिपाठीले भने, ‘यो भाइरस फेरि दोहोरिन सक्ने प्रकृतिको भएकाले यसको जोखिम रहिरहन्छ।’

यो मौसमी फ्लु जस्तो नभएकोले यसको जोखिम कहिलेसम्म रहन्छ भन्ने यकिन गर्न गाह्रो हुने उनीहरु बताउँछन्।

परीक्षणमा तीव्रता नदिँदा अर्काे समस्या
सरकारले जुन रुपमा परीक्षण गर्नुपर्थ्याे त्यसो नगरेकोप्रति विज्ञहरुले असन्तुष्टि जनाए।

प्रा. त्रिपाठीले नेपालमा उपलब्ध रहेका २६ वटा ल्याब मेसिन समेत सरकारले सञ्चालन गर्न नसकेको र नयाँ पनि किन्न नसकेको बताए।

‘लकडाउन खुकुलो पारेपछि गर्नुपर्ने तीव्र परीक्षण हो, त्यसका लागि २६ वटा मेसिन सञ्चालन गर्नुपथ्र्याे तर, सरकारले अहिलेसम्म भएकै मेसिन पनि प्रयोग गरेन, नयाँ पनि किन्न सकेन,’ त्रिपाठीले भने।
मेसिनको संख्या बढाएर परीक्षण बढाउँदा संक्रमितको संख्या पनि धेरै देखिने उनी दाबी गर्छन।

अहिले दैनिक तीन हजारमाथि परीक्षण भइरहेको छ, जसमा दैनिक २ सय माथि संक्रमित देखिएका छन्। यदि परीक्षण बढाइयो भने यो संख्या १० हजार माथि हुने उनीहरुले बताए।
त्यसो त जहाँ परीक्षण गर्नुपर्ने हो त्यसो नभएकोप्रति पनि विज्ञहरुको चिन्ता छ।

khulna thale pasal 7 copy

लकडाउनपछि झन् चुनौति
लकडाउनलाई खुकुलो बनाएपछि मानिसहरुको आवागमन बढ्ने र पहिचान नभएका संक्रमितहरु समेत यताउता गर्दा संक्रमण ह्वात्तै बढ्नसक्ने उनीहरुको आकलन छ।

‘रोगग्रस्त क्षेत्रका मानिस र शंकास्पद लक्षण भएका बिरामी परीक्षणमा आउन सकेका छैनन्, लकडाउन खुकुलो भएपछि त्यो संख्या आउँदा संक्रमितको संख्या बढ्छ,’ उनले भने।

लक्षण भएर पनि कतिपय घरमै रहेको उनीहरुको विश्लेषण छ। घरभाडामा बस्नेहरुको परीक्षण रिपोर्ट मागेका कारण अर्काे समस्या भएको उनीहरु बताउँछन्।

प्रा. त्रिपाठीले लकडाउनलाई जनताले उल्लंघन गर्न थाले स्थिति भयावह हुने चेतावनी दिए।

‘हामीले समय बर्वादीमा खेर फाल्यौं,’ उनले थपे, ‘अबको मुख्य चुनौति नै हामी सबैको जीवनशैली परिवर्तन गर्नुपर्ने हो, त्यो नै काम सुरु गरेका छैनौं, जसले समुदायमा फैलाउने खतरा रहिरहन्छ।’
सरकारले लकडाउन मात्र गरेको र त्यसको व्यवस्थापनमा ध्यानै नदिएको उनले आरोप लगाए।

प्रा. त्रिपाठीले भने, ‘हाम्रो अर्थतन्त्र कसरी चलायमान गराउने? यो भाइरस निमिट्यान्न नहुने भएकोले विकल्पहरु खोज्ने बाटोमा सरकारको ध्यान पुगेन, अब जीवनशैली परिवर्तन गर्न आवश्यक छ, भोज गर्ने, समूहमा बस्ने अब हुँदैन, सरकारले यही कुरा कार्ययोजना बनाउनै सकेन।’

बाहिरबाट आएकाको व्यवस्थापन जटिल छैन?
सरकारले भारत, खाडी, युरोप, अमेरिका लगायतका मुलुकबाट नेपालीहरु फिर्ता ल्याउँदैछ। विदेशबाट ल्याइने ती नेपालीकै कारण संक्रमणको जोखिम बढ्ने आँकलन गरिएका बेला विज्ञहरु भने त्यसमा खासै समस्या देख्दैनन्।

बाहिरबाट ल्याउनेहरुलाई व्यवस्थापन गर्न कुनै समस्या नभएको र ट्रेसिङ र टेस्टिङमा समेत समस्या नहुने उनीहरुको तर्क छ।

‘ठूलो संख्यामै भएपनि उनीहरुको सबै विवरण लिन समस्या हुँदैन, कहाँ व्यवस्थापन गर्ने भन्ने मात्रै हो’, त्रिपाठीले भने, ‘यहाँ भित्रै बढ्ने संक्रमितको व्यवस्थापन कसरी गरिन्छ भन्ने मुख्य कुरो हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .