मधेशी समुदायबारे विवादास्पद अभिव्यक्ति दिएपछि विवादमा आएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई आगामी दिनमा यस्ता अभिव्यक्ति नदोहोर्याउन मधेशी आयोगले सचेत गराएको छ।
आयोगले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै शेर्पाले आपत्तिजनक शब्द प्रयोग भएकोमा आयोगको ध्यानाकर्षण भएको जनाएको हो।
‘केही व्यक्तिहरुले सो अभिव्यक्तिविरुद्ध उजुरी पर्न आएको सन्दर्भमा आयोगले सम्बन्धित व्यक्तिलाई मौखिक सोधनी हुँदा निज अध्यक्ष स्वयं आयोगमा उपस्थित भई लिखित स्पष्टीकरण दिनुभएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँले अन्तर्वार्तामा बोलेको कुराप्रति आत्मालोचना गर्दै खेल भावनाबाहेक कुनै मनसाय राखेर वा कुनै क्षेत्र, प्रदेश र भूगोललाई होच्याउने र नकारात्मक सन्देश प्रवाह गर्न खोजेको हैन यद्यपि अन्तर्वार्ताको क्रममा नेपाली दाजुभाइ दिदीबहिनी एवं त्यस क्षेत्रका नेपालीहरुमा व्यक्त शब्दावलीबाट कुनै चोट वा ठोस पुग्न गएमा क्षमायाचना गर्ने प्रतिबद्धतासहितको निवेदन दिनुभएको प्रति आयोग सकारात्मक छ।’
जेठको सुरुतिर एक अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा अध्यक्ष शेर्पाले ग्रासरुट फुटबलका विषयका बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा आएका थिए। यसबारेमा उनले एक विज्ञप्ति जारी गर्दै क्षमा पनि मागिसकेका छन्।
प्रतिक्रिया