ad ad

खेल


सिलवाल राखेपबाट बिदा हुने पक्का, यी हुन् सम्भावित कार्यवाहक सदस्यसचिव

सिलवाल राखेपबाट बिदा हुने पक्का, यी हुन् सम्भावित कार्यवाहक सदस्यसचिव

लक्ष्मी जि.सी
असार १९, २०७७ शुक्रबार ८:१५,

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल राखेपबाट बिदा हुने पक्का भएको छ। 

तत्कालीन सदस्यसचिव केशवकुमार विष्टले चार वर्षे पदावधि पूरा गरेपछि २०७६ असारमा नियुक्त भएका सिलवाल एक वर्षपछि पदमुक्त हुने भएका हुन्। 

खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै राखेपमा नयाँ सदस्यसचिव आउने पक्का भएको हो।

युवा तथा खेलकुदमन्त्री जगत सुनार विश्वकर्माले राखेपमा नयाँ सदस्यसचिव नियुक्तीका लागि केही दिनमा नै प्रक्रिया सुरु गरिने बताएका हुन्।

नयाँ ऐनअनुसार नै सदस्यसचिव तोक्नको लागि केही दिनमा नै काम सुरु गरिने मन्त्री विश्वकर्माले बताए। सदस्यसचिव तोक्नको लागि लामो प्रक्रिया हुने भएकाले ऐनमा टेक्दै अघि बढ्ने विश्वकर्माले बताए।

‘नयाँ ऐन आइसकेको छ, नयाँ ऐन बमोजिम नै हुन्छ। अब नियुक्ती प्रक्रिया नयाँ थालनी हुन्छ,’ मन्त्री विश्वकर्माले भने, ‘ऐनले जे व्यवस्था गरेको छ। त्यही बमोजिम नै अगाडी बढ्छ। ऐन अनुसार सदस्यसचिव तोक्नको लागि छिटै नै प्रक्रिया सुरु गर्नेछौं।’

संघीय संसदका दुवै सदनबाट उक्त ऐन पास भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार ११ गते ऐन प्रमाणीकरण गरेकी थिइन्।

यो पनि: जसले साग सम्भव बनाए 

ऐनको दफा ५८ को उपदफा १ मा खेलकुद विकास ऐन २०४८ खारेज गरिएको उल्लेख छ। सोही व्यवस्थामा टेक्दै मन्त्री विश्वकर्माले सदस्यसचिवसहित पुराना पदाधिकारीको पद खाली हुने र नयाँ नियुक्तिको प्रक्रिया थालनी हुने बताएका हुन्।

राखेप सदस्यसचिव सिलवालले पनि नयाँ ऐनले पदाधिकारीका बारेमा स्पष्ट नबोलेकाले सरकारबाट निर्णय नआएसम्म परिषद् नजाने बताएका छन्। 

सिलवालले भने, ‘नयाँ ऐन लागू भएको छ, पदाधिकारीहरुको निरन्तरता र खारेजीका बारेमा केही भनेको छैन। अब के गर्ने भन्ने विषय मन्त्रालयले गर्ने हो। म मन्त्रालयको निर्णय कुरिरहेको छु।’

कार्यवाहकका सम्भावित को?
ऐनको दफा १७ को उपदफा १२ मा कुनै कारणले सदस्यसचिवको पद रिक्त भएमा वा कुनै कारणले निलम्बन भएमा अर्को सदस्यसचिव नियुक्ति वा निजको निलम्बन फुकुवा नभएसम्मको लागि मन्त्रालयले संघीय निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को वरिष्ठतम कर्मचारीलाइ सदस्यसचिवको रुपमा कामकाज गर्ने गरि तोक्ने व्यवस्था गरिएको छ।

राखेपमा नयाँ सदस्यसचिवको नियुक्ती नहुँदा सम्म कार्यवाहकको रुपमा कसले जिम्मेबारी सम्हाल्नेछन् भनेर अहिले चासोका साथ हेरिएको छ।

ऐनमा उल्लेख भए अनुसार मन्त्रालयमा २ जना र राखेपमा १ जना सम्भावित कार्यवाहक सदस्यसचिवको रुपमा रहेका छन।

ऐनको व्यवस्था अनुसार मन्त्रालयका प्रसाशन शाखाका सह–सचिव एवं प्रवक्ता डा. मान बहादुर विके र खेलकुद महाशाखा सहसचिव भक्त बहादुर ढकालले कार्यवाहकको जिम्मेवारी पाउन सक्छन।

यस्तै राखेपकै तर्फबाट वरिष्ठतम कर्मचारी कमल खनालले पनि कार्यवहाक पाउनसक्ने सम्भावना छ। उनी १३औं दक्षिण एसियाली खेलकुद(साग)को सचिवालय प्रमुख समेत थिए।

नयाँ कार्यवाहक सदस्यसचिव नआउने बेलासम्म वरिष्ठ अधिकृतले नै काम कारवाही सम्हाल्ने मन्त्रालय श्रोतको दावी छ। 

कसरी नियुक्त हुन्छन नयाँ सदस्यसचिव?
ऐनमा राखेपको सदस्य सचिव बन्नको लागि स्नातक उत्तीर्ण गरी खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको र ३० वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने गरी योग्यता तोकिएको छ।

योग्यता पुरा भएका व्यक्तीमध्येबाट सदस्यसचिवको पदमा नियुक्तीको लागि सिफारिस गर्न मन्त्रालयको सचिवको संयोजकत्वमा मन्त्रालयले तोकेको सम्वन्धित क्षेत्रका एक जना महिलासहित २ जना विज्ञ रहेको ३ सदस्यीय सिफरिस समिति गठन गर्नेछ।

सिफारिस समितिले योग्यता पुरा भएका व्यक्तीबाट सदस्यसचिव नियुक्तिको लागि १ जना महिलासहित ३ जना उपयुक्त व्यक्तीको नाम मन्त्रालयमा सिफरिस गर्नेछ। ती व्यक्तीमध्ये नेपाल सरकार, मन्त्रीपरिषद्ले उपयुक्त ठानेको व्यक्तीलाइ सदस्यसचिवमा नियुक्त गर्ने प्रावधान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .