ad ad

राजनीति


११ नेताको निष्कर्ष दुई अध्यक्षलाई बुझाउन बालुवाटार पुग्दै भुसाल

११ नेताको निष्कर्ष दुई अध्यक्षलाई बुझाउन बालुवाटार पुग्दै भुसाल

सागर न्यौपाने
असार १९, २०७७ शुक्रबार ८:२९,

नेकपा विभाजन रोक्न सक्रिय दोस्रो तहका नेताहरुको निष्कर्ष दुई अध्यक्षलाई बुझाउन कृषि मन्त्री घनश्याम भुसाल बालुवाटार जाने तयारीमा छन्।

पार्टीको जारी स्थायी समितिको बैठकमै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि फुटको दिशामा पुगेको पार्टीलाई जोगाउन दोस्रो तहका नेताहरु शुक्रबार बिहान छलफलमा जुटेका थिए।

ओली पक्षका ३, प्रचण्ड पक्षका ५ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३ नेता सहभागी रहेको सो बैठकले वार्ताकै माध्यमबाट जारी विवादको अन्त्य गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

सोही निष्कर्ष ओली–प्रचण्डलाई सुनाउन मन्त्री भुसाल बालुवाटार जान तयारीमा रहेको भेलामा सहभागी एक नेताले बताए।

‘वार्ता र छलफलको माध्यमबाट विवाद सुल्झाउनुपर्ने, एकताको लागि वातावरण बनाउन हरसंभव प्रयास गर्ने र त्यसमा चैत्र २, २०७४ को सहमति र २०७६ मंसिर ४ को सहमतिलाई आधार मानेर फेरि एकता कायम गर्न पहल गर्नुपर्ने निष्कर्ष निकालेका छौ,’ भेलामा सहभागी एक नेताले भने, ‘हाम्रो निष्कर्ष सुनाउन मन्त्री भुसाल बालुवाटार जानुहुनेछ, उहाँले दुबै अध्यक्षलाई ११ जनाकाे टीमको निष्कर्ष सुनाइ सहमतिको मिलनविन्दूबारे जानकारी दिनुहुनेछ।’

भेलामा प्रदेश ५ का मुख्यमन्त्री एवं स्थायी समिति सदस्य शंकर पोखरेल, प्रदीप ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई, बन मन्त्री शक्ति बस्नेत, उर्जा मन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका

राजनीतिक सल्लाहकार बिष्णु रिमाल सहित स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, र मणि थापा पनि थिए।

सो भेला कृषी मन्त्री घनश्याम भुसालकै निवासमा बसेको थियो।

‘ओली प्रचण्ड र नेपालतिरै प्रभाव पार्नसक्ने (अगाडि बढ भन्दा पनि बढ्ने र पछाडि पनि हट्न सक्ने) ११ जना बिहान बसेका थियौं’, भेलामा सहभागी नेता रायमाझीले नेपालखबरसँग भने, ‘विवाद समाधानका लागि आवेगमा भन्दा पनि विवेकसम्मत तरिकाले निकास निकाल्न पर्नेमा जोड दिएको छ।’

‘दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल चलिरहेको छ, त्यो सकिने वित्तिकै म आजकोे छलफलको निष्कर्ष बोकेर बालुवाटार जान्छु र दुईजनै अध्यक्षलाई भेटेर दिन्छु,’ मन्त्री भुसालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .