ad ad

खेल


शहरमा संक्रमण बढेसँगै खेलकुदमा फेरि अनिश्चितता

शहरमा संक्रमण बढेसँगै खेलकुदमा फेरि अनिश्चितता

लक्ष्मी जि.सी
साउन २९, २०७७ बिहिबार ७:५६,

सरकारले भदौ १ बाट अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण सुरु गर्नसक्ने गरी निर्णय गरेको थियो।

त्यसैलाई आधार मानेर अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा होस्टेललाई सेनिटाइज गर्नेदेखि खेलाडीहरुको कोरोना परीक्षण गर्नेसम्मका काममा लगाइसकेको थियो। प्रशिक्षणमा आबद्ध खेलाडी, प्रशिक्षक र अन्य गरी ५४ जनाको कोरोना परीक्षण सोमबार र मंगलबार गरिएको थियो।

ती परीक्षणको नतिजा नआइपुग्दै भदौ १ गतेका लागि तय भएको प्रशिक्षण भने रोकिएको छ।

एसियाली मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण दिनहुँ बढ्न थालेपछि एसियाली फुटबल महासंघ (एएफसी) ले पनि सन् २०२१ सम्मका लागि विश्वकप छनोटका खेलहरु स्थगित गरेको छ।

असोज र कात्तिकमा काठमाडौंको दशरथ रंगशालामा नेपालले अष्ट्रेलिया, चाइनिज ताइपे र जोर्डनसँग तीन खेल खेल्ने तय भएको थियो।

ती सबै खेल स्थगित भएका छन्। असोजका खेललाई लक्षित गरेर सुरु गर्न लागेको नेपाली फुटबल टोलीको प्रशिक्षण पनि रोकिएको छ।

FootballTeam male 1main

काठमाडौं उपत्यकाबाहिर रहेका खेलाडीलाई एन्फाले साउन १६ गते सम्पर्कमा आउन सूचना जारी गरेको थियो।

काठमाडौंकै खेलाडीलाई आआफ्नै घरमै र काठमाडौं बाहिरबाट आउनेलाई एन्फाले होटेलमा बस्ने व्यवस्था गरेको थियो। होटेलमा काठमाडौं बाहिरबाट आएका ११ जना खेलाडी र दुई जना अफिसियललाई राखिएको थियो।

त्यहि क्रममा पीसीआर परीक्षण गरेर त्यसको परिणाम आएपछि सबै खेलाडीलाई एन्फाको होस्टेलमा राख्ने तयारी थियो।

तर, काठमाडौं उपत्यका, अन्य ठूला शहरमा समेत कोरोना संक्रमण बढेसँगै फुटबलसहित प्रशिक्षण सुरु गरेको खेलले अनिश्चित कालका लागि प्रशिक्षण स्थगित गरेका छन्।

कोरोनाका कारण चैत सुरुवातबाट शून्यमा झरेको खेलकुद गतिविधि केहि दिन अघिबाट केहि खेलका प्रशिक्षण विस्तारै सुरु भएका थिए।

तर यहिबीच काठमाडौंमै समेत संक्रमितको संख्यामा तीब्ररुपमा बढेको र खेलक्षेत्रका केहिलाई संक्रमण समेत देखिएपछि प्रशिक्षण स्थगित गर्नुपरेको ओलम्पिक छनोटको तयारीमा रहेका करातेका अनु अधिकारी र नवीन रसाइलीका प्रशिक्षक दीपक श्रेष्ठले बताए।

‘यसले खेलाडीलाइ मनोवैज्ञानिक दबाबका साथै फिटनेस कायम राख्न नसक्दा शारिरिक रुपमा असर पर्छ। विस्तारै लय समाउँदै गरेको खेलकुद क्षेत्रका गतिबिधिले निरन्तरता नपाउँदा खेलाडीलाई पनि समस्या पर्छ नै,’ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘लयमा फर्कन नसक्ने हो की भन्ने चिन्ताले खेलाडीको मनोबल पनि खस्किन सक्छ।’

महामारीको अवस्था पुर्वानुमान गर्न नसकिने हुँदा कहिलेबाट प्रशिक्षणमा फर्कने भन्ने पनि अन्योल रहेको उनले बताए। अवस्था सामान्य भएपछि प्रशिक्षणमा फर्कने उनले जानकारी दिए।

Karate training 1

स्क्वासका खेलाडीले पनि केहि दिन अघिबाट प्रशिक्षण सुरु गरेका थिए।

तर स्क्वासका प्रशिक्षक हिराबहादुर थापालाइ कोरोना पोजिटिभ देखिएपछि स्क्वास हल साउन २५ गतेबाट बन्द गरिएको थियो। स्क्वास संघका सदस्य तथा नेपाल स्क्वास एण्ड र्याकेट संघका उपाध्यक्ष मनोजबहादुर श्रेष्ठलाई कोरोना पोजिटिभ देखिएको थियो। त्यसपछि थापाले परीक्षण गराउँदा उनलाई पनि संक्रमण भएको पाइएको थियो।

यसैबीच, मिर्गौलाकाे उपचार गराइरहेका क्रिकेट खेलाडी कुन्दन सिंहलाई पनि कोरोना संक्रमण भएको छ। दुवै मिर्गौला खराब भएपछि झन्डै १० महिनादेखि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका कुन्दनलाई ९ दिनअघि कोरोना संक्रमण भएको पुष्टी भएको थियो।

नियमित रुपमा डाईलासिस गर्दै आएका कुन्दनको जनकपुर प्रादेशिक अस्पतालमा जाँचगर्दा कोरोना संक्रमणको पुष्टी भएको थियो। त्यसपछि उनलाई प्रादेशिक अस्पतालले धरान पठाएको हो। उनमा कोरोना संक्रमण देखिनासाथ सो कुरा सार्वजनिक नगरेपनि एक हप्तापछि सबैलाई जानकारी गराएका थिए।

प्रशिक्षण स्थगित भएपछि हाेटेलमा रहेका ११ जना खेलाडीलाई एन्फाले घर जान स्वीकृति दिएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले नेपालखबरलाई जानकारी दिए।

राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङले संक्रमण बढ्दै गएकाले प्रशिक्षण स्थगित गर्नुलाई स्वभाविक रुपमा लिनुपर्ने बताए।

‘फिटनेसको लागि हामीले प्रोफेसनल भएर साेँच्नुपर्छ। आफ्नो स्वास्थ्यको ख्याल आफैँ गर्नुपर्छ। सावधानी अपनाउन सकियो भने तिहारसम्म अवस्था सामान्य होला भन्ने अपेक्षा छ,’ उनले भने, ‘यो समय सबैले सतर्कता अपनाउनुपर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .