मण्डेकाजी श्रेष्ठ खेल जीवनको उत्तरार्धतिर छन्। तर उनले खेल जीवनबाट विश्रामको औपचारिक घोषणा भने गरेका छैनन्।
गतवर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेमा दोहोरो स्वर्ण पदक जितेपछि मण्डेकाजीको चर्चा चुलिएको थियो।
नेपालले ५१ स्वर्णसहित पदक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो। मण्डेकाजी जस्तै तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले पनि दुई–दुई वटा स्वर्ण पदक जितेका हुन्।
नेपाली खेलाडीहरुमध्ये सबैभन्दा बढी पदक भने पौडीकी गौरीका सिंहले जितिन्।
एउटै संस्करणमा ४ स्वर्ण पदक जित्ने गौरिका पहिलो नेपाली बनेकी हुन्।
साग सकिएको ९ महिना भइसकेको छ। यो बीचमा स्वर्ण पदक जित्ने खेलाडीमध्ये सबैभन्दा बढी चर्चा भने मण्डेकाजीको भयो। त्यसको कारण हो, उनले पाएको नगदसहितको सम्मान।
एकल र टिम कातामा स्वर्ण पदक जितेका मण्डेकाजीले सागमा टिम बसेकै हिमालयन होटलबाट सम्मान थाप्न सुरु गरेका थिए। उनले होटलमै सम्मान थाप्न सुरु गर्दा सागका खेलहरु जारी नै थिए।
नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठबाट ५० हजार रुपैयाँबाट सुरु भएको मण्डेकाजी सम्मानको सिलसिला जारी छ।
पछिल्लो पटक साउन १६ गते उनलाई नेपाली कांग्रेसको खेलकुद विभागले सम्मान गरी १५ हजार रुपैयाँ प्रदान गरेको थियो।
त्यसको केहि दिनअघि नेकपाको युवा संघका रमेश आचार्य, धादिङ जिल्ला फुटवल संघका अध्यक्ष दिपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका मालिक, गुडविल बिल्डर्सका सीईओ कराँतेका पुर्व राष्ट्रिय खेलाडी रबि महर्जनबाट संयुक्त रुपमा ५ लाख रुपैयाँ सम्मान स्वरुप प्राप्त गरेका थिए।
यी केहि उदाहरण मात्रै हुन्।
सागमा सफलता पाएपछि उनले कतिपटक सम्मान पाए भन्ने संख्या मण्डेकाजी आफैँलाई नै सम्झना छैन।
‘ठ्याक्कै कति ठाँउमा सम्मानित भएँ भन्ने याद छैन,’ उनले भने, ‘४० देखि ५० वटा संस्थाबाट सम्मानित भएँ होला।’
क्लब, वडा, नगरपालिका, प्रदेश सरकार हुँदै संघीय सरकारबाट उनी सम्मानित भएका छन्।
सरकारले २ स्वर्ण पदक जित्नेका लागि २२ लाख रुपैयाँ दिएको थियो। त्यसबाहेक नै अहिलेसम्म मण्डेकाजीले सम्मानस्वरुप प्रदान गरिएका पुरस्कारमा ५० लाख रुपैयाँ भन्दा बढी प्राप्त गरिसकेका छन्।
उनी सम्मान ग्रहणकै लागि देश बाहिर पनि जाने तयारीमा थिए।
तर, विश्वव्यापी कोरोना महामारीका कारण उनको विदेश यात्रा भने तत्कालका लागि रोकिएको छ।
संख्याका आधारमा मण्डेकाजीले जति सम्मान गतवर्ष सागमा स्वर्ण पदक जित्ने अन्य कुनै खेलाडीले पाएका छैनन्।
उनले आफै सम्मान प्राप्तिका लागि पहल लिने गरेको चर्चा समेत खेलकुद क्षेत्रका केहिले गर्ने गरेका छन्। तर मण्डेकाजी त्यसलाई पूर्णतः अस्वीकार गर्छन्।
‘मैले कहिँ पनि मागेर सम्मान लिएको छैन। मेरो मेहनतको कदरस्वरुप सम्मान पाएको हुँ,’ उनले भने, ‘मागेर लिइने सम्मानको केहि महत्व हुँदैन।’
अन्य खेलाडीले आफुले जति सम्मान नपाएको भन्ने हेक्का उनलाई पनि छ।
‘पदक जितेपछि सबै खेलाडीले सम्मान पाइरहेका छन। धेरै र थोरैको कुरा मात्र हो। सम्मान पाउने भनेको खेलाडीको मेहनतका आधारमा हो,’ उनले भने, ‘मैले आफ्नै क्षेत्रबाट सबैभन्दा बढी सम्मान पाएको छु।’
मण्डेकाजी सानो थिमीका स्थायीवासी हुन्। उनलाई नगरपालिकाले गरेको सम्मान पनि चर्चामा रह्यो।
त्यस्तो सम्मान अरु कुनै खेलाडीले प्राप्त गरेको समाचार बाहिर आएको छैन।
नगरपालिकाले मण्डेकाजीलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदले सम्मान गर्नुका साथै अहिलेसम्म जितेका पदक र ट्रफी राख्नको लागि उनको घरमा सोकेस पनि बनाइदिएको छ।
उक्त सोकेस केहि दिन अघिमात्र नगरपालिकाले उनलाई हस्तान्तरण गरेको थियो। नगरपालिकाबाटै नगद र सोकेस गरी झन्डै १० लाख रुपैयाँ उनले पुरस्कारमा प्राप्त गरेका हुन्।
‘नगरपालिकाबाट धेरै सम्मान थाप्ने म नै हो। दराज र पैसासहित लगभग १० लाख रुपैयाँ पाएँ। त्यो मेरो मेहनतको कदर हो,’ उनले थपे, ‘म कुनै राजनीतिक पार्टीको होइन। मैले सबै पार्टीबाट सम्मान पाइरहेको छु। मैले देशको झण्डा बोकेको हुँ। मलाई सबै पार्टीले सम्मान गर्छन्। माया गर्छन्। त्यसमा म गर्व गर्छु।’
पुरस्कार राशीबाट प्राप्त सबै रकम उनले बैंकमा जम्मा गरेका छन्। त्यसमध्ये केहि रकम भने उनले कोरोना प्रभावितका लागि खाद्यान्नलगायत अन्य सामाग्री वितरण गर्न खर्चेका थिए।
अझै पनि उनी केहि रकम सामाजिक काममा खर्च गर्ने योजनामा छन्। उनले भने, ‘सम्मानबाट पाएको रकम जहाँ पायो त्यही खर्च गर्न हुँदैन। सहि ठाउँमा सदुपयोग गर्नेछु।’
२७ वर्ष लामो खेल जीवनलाई अब बिट मार्ने बेला आएको उनलाई पनि महसुुुस भएको छ।
उनी आफैलाई ठ्याक्कै कति समय खेल्छु भन्ने यकिन छैन। ‘तर म अब खेल जीवनको उत्तरार्धतिर छु भन्दा फरक पर्दैन,’ उनले प्रष्ट्याए।
आगामी योजना
उनको अबको योजना आफुजस्तै खेलाडी उत्पादन गर्ने हो। कहिलेबाट सुरु गर्ने भन्ने विषयमा भने उनी निर्णयमा पुगिसकेका छैनन्।
खेलाडीका जीवनमा सधै सुखका दिनमा आउँछन् भन्ने छैन। राष्ट्रिय खेलकुदमा करातेतर्फ कुमुते र काता दुवैमा स्वर्ण पदक जितेका नेपाल पुलिस क्लबका मण्डेकाजीका लागि ११औं सागको अनुभव भने नमिठो छ।
एक दशकअघि बंगलादेशमा भएको सागको लागि उनी छनोट भएका थिए। एक महिना थाइल्यान्डमा प्रशिक्षण पनि गरे।
तर, सबै खेलाडीलाई सहभागी गराउन नसक्ने भनिएपछि उनीसँग ५ खेलाडी बंगलादेश जान पाएनन्।
उनी सम्झन्छन्, ‘त्यो बेलाको पीडाको कुनै तुलना हुँदैन। म र अरु खेलाडी रुँदै घर फर्केका थियौं।’
उनलाई त्यति नै बेला खेल्न छाडौं भन्ने नलागेको पनि होइन। तर आमाबाबुको साथले उनले खेल त्यागेनन्।
उनले त्यो दुःखलाई आत्मविश्वासमा बदल्ने प्रतिज्ञा गरे र थप मेहनत गरे। १२औं सागमा कराते समावेश थिएन।
गतवर्ष १३औं साग स्वदेशमा आयोजना हुँदा मण्डेकाजीले आफूलाई प्रमाणित गरे।
थप्छन्, ‘त्यो बेलाको मनमा एउटा इख पनि थियो, त्यसैको प्रतिफल हो। भाग्यमा पनि विश्वास गर्नुपर्छ। मेहनत र भाग्यले साथ दिँदा सफलता पनि मिल्नेरहेछ।’
सागमा पदक जितेर खेलाडीलाई निश्चित रकमले सम्मान गरेर मात्र खेलाडीको भविष्य सुनिश्चित हुन नसक्ने मण्डेकाजीको भनाइ छ।
सरकारले गरेको सम्मानलाई पैसाकै आधारमा तुलना गर्दा आठौ सागको पुरस्कार धेरै भएको उनको बुझाइ छ।
‘अहिलेको पैसाले त केही हुँदैन। खेलाडीलाई पुरस्कार मात्र दिने भन्दा खेलाडीको भविष्य सुनिश्चित हुनेगरी योजना ल्याउनुपर्छ।’
सन् १९९९ मा स्वदेशमै आयोजना भएको आठौं सागका स्वर्ण पदक विजेतालाई तत्कालीन सरकारले ३ लाख रुपैयाँ दिएको थियो।
घडेरी दिने घोषणा गरेपनि पछि भने रकम दिइएको थियो। यसपटक एउटा स्वर्ण पदक जित्ने खेलाडीले सरकारबाट ९ लाख रुपैयाँ प्राप्त गरे।
प्रतिक्रिया