ad ad

राजनीति


यसरी जुट्यो ओली–प्रचण्डबीच समझदारी

यसरी जुट्यो ओली–प्रचण्डबीच समझदारी

सागर न्यौपाने
साउन ३०, २०७७ शुक्रबार १५:५,

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकार र पार्टी सञ्चालनका सम्बन्धमा समझदारी जुटेको छ। यससँगै नेकपा नेतृत्वमा ५० दिनदेखि जारी गतिरोध अन्त्य हुने देखिएको छ।

शुक्रबार भएको समझदारीअनुसार प्रधानमन्त्री ओलीले पाँच वर्ष पूरै सरकारको नेतृत्व गर्नेछन्। एकलौटी सरकार सञ्चालन गरेको आरोप खेपेका उनले आइन्दा सरकार सञ्चालन गर्दा पार्टीसँग समन्वय गर्नेछन्।

त्यसैगरी नेकपालाई महाधिवेशनतर्फ केन्द्रित गर्ने कामको नेतृत्व अध्यक्ष प्रचण्डले गर्नेछन्।

सरकार सञ्चालनको निश्चित विधि र संयन्त्र बनाउने समझदारी पनि भएको एक स्थायी समिति सदस्यले जानकारी दिए। यसको खाका तयार गर्ने जिम्मा शुक्रबार गठन गरिएको ६ सदस्यीय कार्यदललाई दिइएको छ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको सो कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल छन्।

सोही कार्यदलले वरिष्ठ नेता माधवकुमार नेपालको भूमिका पनि परिभाषित गर्नेछ।

‘महाधिवेशनसम्म पार्टी कामकारवाहीको मुख्य भूमिका प्रचण्डले गर्ने समझदारी बनेको छ,’ ती स्थायी समिति सदस्यले नेपालखबरसँग भने।

‘पार्टीभित्र अहिले देखिएका सबै विवादको अन्त्य गरेर महाधिवेशनमा होमिने समझदारी भएको छ,’ प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने, ‘बाँकी सहमतिको बुँदा तयार पार्ने जिम्मा कार्यदललाई दिइएको छ।’

कार्यदलको कार्यावधि तोकिएको छैन। तर, छिट्टै सहमतिका मस्यौदा तयार पारेर बुझाउन भनिएको छ।

‘दुई अध्यक्षको अधिकार प्रयोग गरी कार्यदल गठन भएको हो,’ संयोजक पौडेलले भने।

स्थायी समितिको बैठकमा उठेका सबै विषयलाई सूत्रबद्ध गरेर मस्यौदा तयार पारी अध्यक्षद्वयलाई बुझाउने जिम्मेवारी कार्यदललाई दिइएको छ।

असार १० गतेदेखि जारी स्थायी समितिमा एक व्यक्ति एक जिम्मेवारी, पार्टीले सरकार चलाउनुपर्ने, विधिसम्मत पार्टी सञ्चालन, केन्द्र र प्रदेश सरकारको पुनर्गठन लगायतका विषय उठेका थिए।

कार्यदलले व्यवहारिक रुपमा पार्टीभित्रका समस्या केलाउने र सैद्धान्तिक विषयमा पनि मस्यौदा तयार पार्ने बताइएको छ।

‘स्थायी समिति बैठकमा उठेका सबै विषयलाई कार्यदलले सूत्रबद्ध गर्छ,’ प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले थपे, ‘कार्यदलको मस्यौदालाई स्थायी समितिमै लगेर छलफल गराइ त्यसले दिएको निष्कर्षलाई कडाइका साथ कार्यान्वयन गरेर महाधिवेशनमा जाने नै भन्ने भएको छ।’

मंसिर ४ गते पनि ओलीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने सहमति भएको थियो।

तर, सो सहमति पालना नगरेको भन्दै प्रचण्ड–नेपाल समूहले ओलीसँग राजीनामा माग गरेको थियो। त्यसपछि ओली स्थायी समिति बैठकमै उपस्थित हुन छाडेका थिए।

नौ दिनपछि अध्यक्षद्वय ओली र प्रचण्डबीच बिहीबार भएको छलफलमा महाधिवेशनको कार्यतालिका, प्रचण्डको अधिकार विस्तार, पार्टीको वैचारिक कार्यदिशा जनताको जनवादलाई थप व्याख्या गर्ने लगायतमा ओली–प्रचण्ड समझदारी जुटेको थियो। त्यसपछि शुक्रबार पनि छलफलले निरन्तरता पाएको थियो।

माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय समितिको बैठकले २०७७ चैत २५ देखि ३० सम्म एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो। तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा २०७५ जेठ ३ गते पार्टी एकता भएको थियो।

पार्टीभित्र ओलीलाई एक जिम्मेवारीबाट हट्न दबाब बढ्दै गएपछि उनले साउन ३ गते बसेको सचिवालय बैठकमा मंसिरमै अर्ली महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेका थिए।

नेताहरुको अनुसार अब मन्त्रिमण्डल पनि फेरबदल हुनेछ।

‘दुई अध्यक्षबीचमा सहमति जुट्यो, पार्टीमा देखिएको अन्योल हट्ने क्रममा छ, अब मन्त्रिमण्डल पुनगर्ठन पनि छिट्टै हुने सम्भावना छ’, एक स्थायी समिति सदस्यले भने, ‘चाडपर्व ढिला भएकोले त्यसअघि नै फेरबदल हुन्छ।’

उनले प्रदेशका मुख्यमन्त्री समेत फेरिन सक्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .