राष्ट्रिय फुटबल टोली तथा एपीएफकी साबित्रा भण्डारी साम्बा दक्षिण एसियाकी उत्कृष्ट फरवार्डमध्ये एक मानिन्छिन्।
राष्ट्रिय टोली र व्यवसायिक फुटबलमा पछिल्ला केहि वर्षदेखि निरन्तर सशक्त प्रदर्शन जारी राखेर उनले आफूलाई एक उत्कृष्ट फरवार्डको रुपमा स्थापित गरेकी छन्।
सन् २०१४ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी साम्बाले हालसम्म देशका लागि ३८ गोल गरेकी छिन्। अन्तर्रािष्ट्रय फुटबलमा नेपाली खेलाडीको यो सर्वाधिक गोल हो।
भर्खर २३ वर्षमा टेकेकी साम्बाबाट अझै धेरै आशा गर्ने ठाँउ छ। केहि वर्षदेखि घरेलु फुटबलमा आफ्नो दबदबा कायम गरेकी सावित्राले व्यावसायिक रुपमा पनि निकै सफलता प्राप्त गरिसकेकी छिन्।
सुरुको दुई वर्ष मालदिभ्समा फुटसल खेलेकी साम्बाले पछिल्लो दुई सिजन भारतमा महिला आइलिग खेलिन्। दुई अलग अलग क्लबबाट खेल्दा दुवैलाई विजेता बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरिन्।
गत सिजन गोकुलम केरला एफसीलाई च्याम्पियन बनाउँदा उनी सर्वाधिक गोल (१६ गोल) गर्ने खेलाडी बनिन्।
दक्षिण एसियामै चर्चा बटुलिसकेकी साम्बाले पछिल्ला ६ वर्षमा आफ्नै देशको एकमात्र अन्तर्राष्ट्रिय मापदण्डको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्न भने पाएकी छैनन्।
उनीमात्र होइन, उनको पुस्ताका कुनैपनि खेलाडीले दशरथ रंगशालामा खेलको अनुभव बटुल्न पाएका छैनन्। यो पुस्ताले अन्तर्राष्ट्रिय त कुरै छाडौ घरेलु प्रतियोगिता पनि दशरथ रंगशालामा खेल्ने अवसर पाएका छ्रैनन्। दशरथ रंगशालामा खेल्नु, सो रंगशालाको गोलपोष्टको नेटमा बल चुमाएर त्यहाँको प्यारापिटबाट दर्शकको साथ पाउनु नेपाली खेलाडीको आमसपना हुनेगर्छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु कुनै पनि प्रतियोगिता रंगशालामा आयोजना गर्ने निर्णय नगर्दासम्म साम्बा र उनको पुस्ताले अझै रंगशालामा खेल्ने अवसर देखिदैन।
सो रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने संभावना उनीहरुका लागि न्यून देखिन्छ।
नेपालले दक्षिण एसियाका पछिल्ला दुई ठूला महिला फुटबल प्रतियोगिता आयोजना गर्दा पनि दशरथ रगशालामा गर्ने अवसर पाएन।
साम्बाले विराटनगरमा भएको साफ च्याम्पियनसिपमा ४ र पोखरामा भएको १३औं दक्षिण एशियाली खेलकुद सागमा ३ गोल गरेकी छिन्। ति दुवै प्रतियोगिता काठमाडौं बाहिर भएका थिए।
गत वर्ष १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष टोलीले दशरथ रंगशालामा स्वर्ण पदक जित्दा महिला टोलीले भने पोखरामा भारतसँग फाइनल खेल्नु परेको थियो।
महिला टोलीले पोखरामा सागको फाइनल खेलेको भोलिपल्ट पुरुष टोलीले भुटानसँग दशरथ रंगशालामा खेलेको थियो। हजारौं दर्शकले प्रत्यक्षरुपमा रंगशाला पुगेर फाइनलको मज्जा लिइरहँदा महिला टोलीले फाइनल हेर्नका लागि निकै संघर्ष गर्नुपरेको तितो अनुभव साम्बालगायतका खेलाडीले अझै बिर्सेका छैनन्।
‘खेल्ने सपना त पुरा भएको छैन छैन, पुरुष टोलीले खेलेको फाइनल पनि झन्डै हेर्न नपाएका थियौं। बल्लतल्ल हामीले भीआइपी प्यारापिटतर्फ जान पाएका थियौं,’ उनले अनुभव सुनाइन्।
त्यसको झन्डै एक वर्षअघि नेपालले महिला साफ च्याम्पियनसिपको आयोजनाको अवसर पाएको थियो।
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पको कारणले दशरथ रंगशाला पूर्ननिर्माण गरिरहेको हुँदा त्यो साफ च्याम्पियनसिप विराटनगरमा आयोजना गरिएको थियो। नेपालले खेल्ने दुई अन्तर्राष्ट्रिय साग र साफ च्याम्पियनसिप अब केहि वर्ष नेपालले आयोजना गर्न पाउनेछैन।
नेपालले खेल्ने अर्काे अन्तर्राष्ट्रिय प्रतियोगितामा ओलम्पिकको छनोट खेल हो।
सन् २०२० को ओलम्पिक छनोटमा नेपालले दोस्रो चरणसम्म खेलेको थियो। ती सबै छनोट विदेशी भूमिमा भएका थिए। अर्कोपटक छनोट आयोजना गर्ने अवसर पाए पनि त्यसका लागि चार वर्ष कुर्नुपर्ने हुन्छ।
त्यसैले दशरथ रंगशालाले अन्तर्राष्ट्रिय महिला फुटबल आयोजना गर्न तत्काल सम्भावना देखिदैन।
एन्फाले महिलाका घरेलु प्रतियोगिता पनि काठमाडौंबाहिर आयोजना गर्नेमा जोड दिदै आएको छ। त्यसैले अहिलेका जल्दाबल्दा महिला खेलाडीको खेल दशरथ रंगशालामा हेर्न तत्काल सम्भव देखिदैन।
त्यसमाथि पछिल्लो झन्डै ६ महिनादेखि कारोना महामारीका कारण खेलकुद ठप्प छ। यो महामारी नियन्त्रण कहिले हुने, फुटबल कहिले सुरु हुने र दशरथ रंगशालामा खेल खेल्न कहिले पाउनु भनी महिला खेलाडी आशावादी हुन नसकेको बताउँछन्।
एन्फा वा अन्य कुनै संस्थाले महिला फुटबल खेलाडीका लागि लक्षित गरेरै कुनै प्रतियोगिता आयोजना गरेको खण्डमा भने दशरथ रंगशालामा खेल्ने अहिलेको पुस्ताको सपना पुरा हुने सम्भावना रहन्छ।
दशरथ रंगशालामा महिला फुटबलको इतिहास
दशरथ रंगशालामा पहिलोपटक २०३८ सालमा महिला फुटबल आयोजना भएको थियो। तत्कालीन महारानी ऐश्वर्या राज्यलक्ष्मी शाहको जन्मोत्सवमा २०३९ सालमा ९ अञ्चल सहभागी महिला फुटबल आयोजना भएको थियो।
त्यसपछि भने लामो समय त्यहाँ महिला फुटबल नभएको जानकारहरु बताउँछन्। लामो अन्तरालपछि २०५६ मा आमन्त्रण खेल आयोजना भएको थियो।
फिलिपिन्समा प्रतियोगिताका लागि जानुअघि खेलाडी छनोटका लागि नेपालका निलो, रातो, हरियो र भारत मणिपुरका दुईवटा टोलीको सहभागितामा दशरथ रगंशालामा महिला फुटबल आयोजना भएको एन्फाका लिग निर्देशक सञ्जीव मिश्र सम्झन्छन्।
‘फिलिपिन्समा १९९९ मा एसियन च्याम्पियनसिप आयोजना भएको थियो। त्यसमा नेपालले भाग लिएको थियो,’ उनले भने, ‘त्यो टोलीमा मीरा चौधरी, पेमा लामाजस्ता खेलाडी थिए। उनीहरुको छनोट रंगशालामा आयोजना भएको फुटबलबाट भएको थियो।’
२०६१ सालमा नेपालको दुई टोलीसहित भारत र सिंगापुरका टोलीबीच महिला फुटबल आयोजना भएको थियो।
त्यहि वर्ष एपीएफको स्थापना दिवसमा दशरथ रंगशालामा महिला फुटबल आयोजना भएको थियो।
नवौं महिला फुटबल प्रतियोगिता समेत बताइएको सो प्रतियोगिताको फाइनल एपीएफ र पाँचथरले खेलेका थिए। त्यसमा पाँचथर विजयी भएको थियो।
अहिलेको सिनियर महिला टोलीले दशरथ रंगशालामा खेल्न नपाए पनि १४ वर्षमुनिको (यू–१४) टोलीले भने पछिल्लो पटक त्यहाँ खेल्ने अवसर पाएको थियो।
नेपाल र बंगलादशेबीच फाइनल खेल तय भएकै दिन वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो। जसका कारण फाइनल खेल रद्द गरिएको थियो।
अन्जना रानामगर, पुजा राना, रश्मी कुमारी घिसिङ लगायतका खेलाडीले त्यो प्रतियोगिता खेलेका थिए।
नेपाली महिला टोलीकी पूर्वकप्तान रमा सिंह महिला संघको अध्यक्ष रहेका बेला सन् २००४ मा जुनियर टोलीको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा भएको इतिहास छ।
सिनियर टोलीको मैत्रीपूर्ण खेल भने दशरथ रंगशालामा भएको छैन। कुमार थापा २०१६ मा मुख्य प्रशिक्षक हुँदा महिला टोलीले मलेसियासँग मैत्रीपूर्ण खेल एन्फा कम्प्लेसक्मा खेलेको थियो।
दशरथ रंगशालामा पूर्वकप्तान अनुको अनुभव
राष्ट्रिय महिला टोलीकी पूर्व कप्तानसँग दशरथ रंगशालामा थोरै खेल खेलेको अनुभव छ। २००४ मा चीनमा आयोजना भएको यू–१९ एसियन च्याम्पियनसिपमा भाग लिन जानुअघि नेपाली टोलीले भारतको बिहार र सिंगापुरको टोलीसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेलेको थियो।
त्यो टोलीमा अनु थिइन्। सन् २०११ मा पनि दशरथ रंगशालामा राष्ट्रिय टोलीको प्रशिक्षण गरेको अनुलाई स्मरण छ। अनुले रंगशालामा खेल्न रहर हुने भएपनि खेल्न नपाएको बताइन्।
‘रगंशालामा खेल्ने इच्छा त थियो, तर त्यो बेला नेपालले प्रतियोगिता आयोजना गरेन वा गर्न पाएन,’ उनले स्मरण गरिन्, ‘महिला फुटबलको घरेलु प्रतियोगिता पनि दशरथ रंगशालामा खासै भएन। महिला फुटबललाई काठमाडौंबाहिर आयोजना गर्ने परम्पराले पनि हामीले त्यहाँको अनुभव धेरै गर्न पाएनौं।’
Shares
प्रतिक्रिया