कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँका ४७ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सेका छैनन्।
त्यस बेला बाढीले उनको करिब ३ बिगाह जमिन बगायो। दोदाको कटान अझै रोकिएको छैन। प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ।
दोदाले विस्थापित भएर अहिले कञ्चन सामुदायिक वनमा घर बनाएर बस्नु परेको छ, उनलाई। वर्षेनी बर्खायाममा दुःख दिने दोदाको बगर अहिले उनको आम्दानीको स्रोत बनेको छ।
‘सुरुमा घरमै खानलाई थोरै मात्रै खेती गथ्र्यौं, आम्दानी राम्रो हुन थालेपछि व्यवसायिक रुपमा बगर खेती गर्न थाले,’ मोलसिंह भन्छन्, ‘बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ।’
उनका अनुसार सिजनमा २ लाखदेखि ३ लाखसम्म आम्दानी हुने गरेको छ। अहिले दोदाको बगरभर लटरम्मै लहरेबाली फलेका छन्। बीचमा सानो छाप्रो पनि भेटिन्छन्। दोदाले बर्खायाममा वर्षेनी बिद्रुप रुप देखाउँछ। तटीय क्षेत्रका स्थानीयको रातको निद र दिनको चैन उडाउँछ।
दोदा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ। वर्षेनी तटीय क्षेत्रमा कटान र डुबान हुन्छ। बर्खायाममा दुःख दिने दोदाको बगरमा स्थानीयले गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन्।
‘बर्खामा दोदाको बाढीले सास्ती गर्छ, उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नु पर्छ,’ लालझाडी गाउँपालिका–४ डाँगाजाईँका किसान नन्दराम रानाले भने, ‘अरु समयमा दोदाको बगरमा तरकारी खेती गर्छौं।’
उनले दोदाको बगरमा तरकारी खेती गर्न थालेको दशक बितिसक्योे। वि.सं. २०६४ सालमा आएको बाढीले खेतीयोग्य जमिन बगर बनायो।
‘डेढ/दुई बिगाह जमिन दोदाले बगायो, बस्नलाई पनि जमिन नभएपछि विस्थापितहरु अहिले पनि सामुदायिक वनमै घर बनाएर बस्नु परेको छ,’ उनले भने, ‘बगर खेतीमा राम्रै आम्दानी हुने गरेको छ, त्यसैबाट आएको पैसाले घरखर्च चलेको छ।’
लालझाडी गाउँपालिका–४ मा दोदाले करिब ४ सय भन्दा बढी परिवारलाई विस्थापित गरेको छ। जमिन बगाएर उठीबास लागेपछि उनीहरुले वर्षौंदेखि सामुदायिक वनमा बसिरहेका छन्।
लालझाडीका स्थानीयलाई बर्खामा दोदाको डर हुन्छ। बाँकी समय दोदाकै भरमा अर्थोपार्जन गरेर जीवन धान्ने गर्छन्।
लालझाडी गाउँपालिका–४ खल्लापट्टीकी सिठ्ठो रानाको केही महिनायता दैनिकी फेरिएको छ। दोदाको बगरमा बनाइएको छाप्रो उनको बासस्थान बनेको छ।
नदीको ५ कठ्ठा बगर क्षेत्रमा उनले तरकारी खेती गरेकी छन्। त्यहीँ बगरको तरकारी कुर्न बगरमा बास बस्नु परेको सिठ्ठो बताउँछिन्।
बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ। माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ। चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिन्छ।
‘वर्षौंदेखि बगरमा खेती गर्दै आएका छौँ, यहीँबाट घरखर्च चलाउँछौँ,’ उनी भन्छिन्, ‘माघदेखि जेठसम्म बगरमा खेती गर्छौं, अरु समयमा मजदुरी।’
खेतीमा परिवारका सम्पूर्ण सदस्य नै जुट्ने गरेका छन्। श्रीमान् मीनबहादुर दिनभर तरभुजालगायत उत्पादन ट्रयाक्टरमा लगेर गाउँ–गाउँमा बिक्री गर्ने गर्छन्। २८ सदस्यीय रानाको संयुक्त परिवारको खर्च बगर खेतीबाटै चलेको छ।
‘जंगली जनावरबाट खेती जोगाउन हम्मेहम्मे छ, चोरी पनि हुने गरेको छ’, उनले भनिन्, ‘जंगली जनावर र चोरीबाट उत्पादन जोगाउन छाप्रोमै बास बस्ने गरेका छौँ।’
उनका अनुसार दिनमा आफू र राति श्रीमान् मीनबहादुरले खेतीको हेरालु बस्ने गरेका छन्। बगरमा उत्पादित तरकारीबाट वार्षिक ६० हजार भन्दा बढी आम्दानी गर्ने गरेको सिठ्ठो सुनाउँछिन्।
लालझाडी गाउँपालिका–४ डाँडापट्टीकी डुठ्ठो रानाको पनि दैनिकी यस्तै छ। उनका श्रीमान् शारदा रोजगारीको शिलशिलामा भारतको सिम्लामा छन्। छोरीसहित डुठ्ठो भने बगर खेतीमा व्यस्त छिन्।
तरकारी किन्न ग्राहकहरु बगरमै पनि आउने गरेका छन्। बगरमा व्यवसायिक तरकारी खेती गर्ने नदी तटीय क्षेत्रका स्थानीय किसान खेती जोगाउन बगरमै बास बसेका छन्।
दोदा नदीमा करिब ५ सय भन्दा बढी परिवारले बगर खेती गरेका छन्।
‘दोदा नदीको किरानमा बस्ने हामीलाई धेरै डर छ, बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन,’ डाँगाजाईँका किसान दानसिंह गिरीले भने, ‘उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ।’
Shares
प्रतिक्रिया