ad ad

सुदूरपश्चिम


जो पढाइ खर्च जुटाउन महाकालीमा बालुवा चाल्छन्

जो पढाइ खर्च जुटाउन महाकालीमा बालुवा चाल्छन्

नेपालखबर
जेठ ३१, २०८० बुधबार १४:१६, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा पढ्छिन्। दिउँसोको समयबाहेक हरेक दिन उनी महाकाली नदीमा बालुवा छानिरहेका भेटिन्छिन्। विद्यालय समयबाहेक महाकालीमा बालुवा, गिट्टी छानेर पढाइको खर्च जोहो गर्ने गरेको रेश्माले बताइन्।

‘परिवारको आर्थिक अवस्था कमजोर छ, त्यसैले लेखपढका लागि कापी, किताब किन्न पैसा होस् भनेर बालुवा छान्ने काम गर्छु’ , उनले भनिन्, ‘विद्यालयबाट फर्किएर दिउँसोदेखि बेलुकासम्म बालुवा छान्छु।’

रेश्माका अनुसार बुबा कामको सिलसिलामा भारतमा छन्। आमा महाकालीमै बालुवा छान्ने काम गर्छिन्। आमासँगै महाकालीमा बालुवा छानेर विद्यालय खर्चका साथै बिहान–बेलुकाको छाकसमेत जुटाउने गरिएको उनको भनाइ छ। 

ब्रह्मदेवकै करिश्मा दमाईंले यसपटक कक्षा १० को परीक्षा दिइन्। उनी एसईई दिएर फुर्सदको समयमा बालुवा, गिट्टी छान्ने काम गर्छिन्। ‘उच्च शिक्षा पढ्न पैसा छैन, परीक्षा दिएपछि फुर्सदको समयमा बालुवा छान्ने गर्छु। त्यसबाट आएको पैसा बचत गरेर राख्छु’ , उनले भनिन्। बालुवा छानेर पाएको पैसाले उच्च शिक्षा पढ्ने सपना पूरा हुने र घरपरिवारलाई आर्थिक सहायता हुने करिश्माको भनाइ छ। 

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा गिट्टी, बालुवा छान्नेको अचेल ताँती देखिन्छ। आमाबुवासँगै विद्यालय पढ्ने उमेरका बालबालिका पनि बालुवा, गिट्टी छान्ने काममा खटिरहेका देखिन्छन्। आर्थिक अवस्था कमजोर भएका तटीय क्षेत्रका बासिन्दा तराईको उखरमाउलो गर्मीकैबीच असिनपसिन भएर नदीजन्य पदार्थ उत्खनन गरेर जीविकोपार्जन गर्ने गर्दछन्। 

‘घरपरिवारको सबै खर्च बालुवा छानेरै चलेको छ, अरू केही काम पाइँदैन’ , ब्रह्मदेवकी कलावती पालले भनिन्, ‘बालुवा नछाने भोकै बस्नुपर्ने अवस्था छ।’ उनका अनुसार विद्यालयको समयबाहेक अन्य समयमा बालबालिका पनि बालुवा, गिट्टी छान्ने काम सघाउन आउने गरेका छन्। कलावतीका श्रीमान् मानसिंह पनि महाकालीमै बालुवा छान्ने काम गर्छन्। उनका चार छोराछोरी छन्। ‘खेतीपाती गर्न पर्याप्त जमिन छैन, बस्नलाई छाप्रो मात्रै छ, घरका सबै सदस्य यो काममा जुट्छौँ’ , मानसिंहले भने, ‘महाकालीकै भरमा जीवन चलेको छ, गहुँ, चामल किनेरै खानुपर्छ।’  

सात/आठ महिना बालुवा छानेर कमाएको पैसाले विद्यालय खर्च जोहो गर्ने गरेको कक्षा ९ मा अध्ययनरत माया भुलले बताइन्। उनका अनुसार कार्तिक सुरुआतदेखि नदी तटीय क्षेत्रका आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य बालुवा छान्ने काममा जुट्ने गर्छन्। गिट्टी बालुवा बेचेर मासिक रु १५ हजारसम्म आम्दानी गर्ने गरेको मायाले बताइन्। 

बालुवा प्रतिट्रली १ हजार ५ सय र गिट्टी रु २ हजार ७ सयमा बिक्री गर्ने गरेको दुरा भुलले बताइन्। ‘एक मान्छेलाई ट्रली बनाउन हप्तादिनभन्दा बढी लाग्छ। दुई/तीनजना मिलेर दुई/तीन दिनमा एक ट्रली तयार हुन्छ’ , उनले भनिन्, ‘ट्र्याक्टर धनी यहीँ आएर गिट्टी, बालुवा किन्छन्।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .