दोधारा चाँदनी नगरपालिका–७ बाबास्थानकी कमलादेवी उपाध्यायले वि.सं. २०७१ सालमा गाउँकै सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २ लाख ऋण लिइन्।
त्यसका लागि उनले श्रीमान् सन्दिपसहित दुवै जनाको संयुक्त नाममा रहेको ८ कट्ठा र आफ्नो नाममा रहेको आधा कट्ठा जमिन सहकारीमा धितो राखिन्।
बाबाथानमै उनीहरु व्यापार व्यवसाय गर्ने गर्छन्। सहकारीबाट निकालेको ऋणको साँवा, ब्याज गरेर उनीहरुले २०७६ सालमै चुक्ता गरिसके। तर अझै उनीहरुले सहकारीमा धितो राखेको जग्गाधनी पुर्जा फिर्ता पाएका छैनन्।
‘ऋण चुक्ता गरेको ४ वर्ष भइसक्यो, अहिलेसम्म सहकारीमा राखेको धितो फिर्ता पाएका छैनौँ,’ उपाध्यायले भनिन्, ‘अध्यक्षज्यूलाई सोध्दा भोलिभोलि भनेर टार्ने गर्नुभएको छ।’
प्रधान टोलकी हीरादेवी सुनार जग्गाधनी पुर्जा फिर्ता माग्न सहकारी धाउँदा धाउँदै बितिन्। दुई वर्षअघिसम्म उनी बिहान र बेलुका सहकारी धाइरहन्थिन्।
धितो राखेको १० कट्ठा जमिनको लालपुर्जा माग्न अचेल उनकी बुहारी सुनिता सहकारी धाउँछिन्। तर उनी न सहकारीका अध्यक्षलगायत पदाधिकारी भेटाउँछिन्, न सहकारी खुलेको नै देख्छिन्।
‘अहिले सहकारी बन्द छ, अब त लालपुर्जा कसरी फिर्ता मिल्ला’, सुनिताले भनिन्, ‘लालपुर्जाकै चिन्ताले आमाको ज्यान गयो, अब हाम्रो उठीबास पो हुने हो कि?’
दोधारा चाँदनीका ११ जनाको जमिनका लालपुर्जा सगरमाथा सहकारीमा छन्। ऋण चुक्ता गर्दा पनि वर्षौंसम्म उनीहरुले पुर्जा फिर्ता पाएका छैनन्।
गणेश सार्की, गगन सुनार, मधुदेवी बहेक क्षेत्री, भीमबहादुर गुरुङ, पार्वतीकुमारी राना मगर, नरबहादुर सुनार र दलबहादुर सुनारले सहकारीमा लालपुर्जा धितो राखेका छन्।
सहकारी नेतृत्वकर्ता वडाध्यक्ष
सगरमाथा सहकारीको स्थापनाकालदेखि अध्यक्ष छन्- ज्ञानेन्द्र बहेक क्षेत्री। जो दोधारा चाँदनी–७ का वडाध्यक्ष पनि हुन्।
यसपटकको स्थानीय तह चुनाव जितेर उनी दोस्रो पटकका लागि अध्यक्ष निर्वाचित भएका हुन्। उनकै नेतृत्वमा रहेको सहकारीमा बदमासी हुँदा सेयर सदस्य मारमा परेका हुन्।
११ जनाले सहकारीमा राखेको धितो अध्यक्ष बहेकले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कुन) मा राखेर ऋण निकालेका थिए।
वर्षौंदेखि सो ऋण चुक्ता नगर्दा सावाँ-ब्याज गरेर नेफ्स्कुनलाई सहकारीले अहिले एक करोड १० लाख तिर्नुपर्ने छ।
नेफ्स्कुनले ऋण चुक्ताका लागि सहकारीलाई पटकपटक पत्राचार गरेर जमिन लिलाम गर्ने चेतावनी दिइरहेको छ। सम्पूर्ण ऋण चुक्ता भए मात्रै धितो फुकुवा गर्ने उसको अडान छ।
तर सहकारीका पदाधिकारी ऋण चुक्ता गरेर पुर्जा फुकुवा गर्नुको सट्टा बेखबर बन्ने गरेको पीडितको गुनासो छ।
बचतै फिर्ता पाउँदैनन् बचतकर्ता
सहकारीमा १ हजार ३ सय जनाभन्दा बढी सदस्य छन्। उनीहरु बचत गरेको पैसा पनि फिर्ता नपाएको बताउँछन्। सहकारीमा प्रत्येक सदस्यले २० हजारदेखि एक लाखसम्म बचत गरेका छन्।
‘बचत निकाल्न सहकारी गएँ, तर बचतै अहिलेसम्म फिर्ता पाएकी छैन’, पूर्णादेवी सिंहले भनिन्, ‘तरकारी बेचेर कमाएको पैसा सुरक्षित होला भनेर सहकारीमा जम्मा गरेको थिएँ, अहिले त्यही गुम्ने खतरा छ।’
दोधारा चाँदनी क्षेत्रका बासिन्दाले सहकारीमा बचत गरेको करोडौँ रकम फिर्ता नपाएपछि गुम्ने खतराले चिन्तित बनेका छन्। अचेल सहकारीका कर्मचारी बचत संकलनका लागि आउनै छाडेका छन्।
अध्यक्ष बहेक भन्छन्– सबै पैसा फिर्ता गर्छौं
सहकारीका अध्यक्ष बहेकले बचतकर्ताको पैसा फिर्ता गर्ने बताएका छन्। नेफ्स्कुनबाट लिएको ऋण पनि तिरेर धितो फुकुवा गर्ने उनले बताए।
‘केही समय लागे पनि सबै बचतकर्ताको बचत फिर्ता गर्छौं, सहकारीबाट लगेको ऋणको साँवा, ब्याज उठाउनुपर्नेछ’, उनले भने, ‘त्यो संकलन गरेर जसरी भए पनि बचतकर्ताको बचत फिर्ता गर्छौं।’
सहकारीको नयाँ भवन निर्माण र जमिन खरिदमा केही रकम खर्च भएको उनले बताए। नेफ्स्कुनबाट लिएको ऋणको पनि केही किस्ता तिरेकाले रकम त्यसमा खर्च भएको उनको दाबी छ।
नयाँ भवनमा सरेकाले केही समय सहकारी बन्द भएकाले अब नियमित खोलेर समस्या समाधानतर्फ लाग्ने अध्यक्ष बहेकको भनाइ छ।
Shares
प्रतिक्रिया