ad ad

सुदूरपश्चिम


बाजुरामा बाढीपहिरोले १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा, रातभर जाग्राम बस्न बाध्य

बाजुरामा बाढीपहिरोले १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा, रातभर जाग्राम बस्न बाध्य

बाजुरामा पहिरोले जोखिममा परेको घर। तस्बिर : रासस


नेपालखबर
साउन १३, २०८० शनिबार ८:१९, बाजुरा

बाजुरामा बाढी र पहिरोका कारण १३ परिवार विस्थापन भएका छन्। शुक्रबार आएको बाढी र पहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार विस्थापित भएका हुन्। साथै दर्जनौँ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

हिमाली गाउँपालिका ३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिंह कठायतका अनुसार शुक्रबार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको हो। 

पहिरोले घर बगाएपछि तीन जनाको परिवार बिचल्लीमा परेको छ। उनीहरूको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले जानकारी दिए। पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ। युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ। 

साथै गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन्। लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका सात गरी १२ परिवार विस्थापित बनेको गौमूल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले जानकारी दिइन्।  

उनका अनुसार बेहरीका चीन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित भएका हुन्। साथै ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा झाँक्री बोहरा, गङ्ग बोहरा अफिलाल बोहरा, ब्रिजित बोहराको परिवार विस्थापित बनेका छन्। 

सिङ्गो बस्ती नै विस्थापित हुनेगरी पहिरो खसेको छ। दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन्। पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई  स्थानीय थुमथला आधारभूत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष थापाको भनाइ छ। 

घरभित्र राखिएका केही अन्नपात, लत्ता कपडा र अन्य सम्पत्ति भने जोगाउन सफल भएको विस्थापित परिवारको भनाइ छ। वर्षा जारी रहेकाले पहिरो अहिले पनि नियमित बगिरहेको छ।

गौमूलका अन्य बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। विसं २०७७ मा पनि पालिकाका १ र २ का अधिकांश बस्ती पहिरोबाट प्रभावित भएका थिए। सयौँ बिघा जमिनमा क्षति पुगेको थियो भने दर्जनौँ पशु चौपाया मरेका थिए। त्यो बेला पनि पालिकाका तर्फबाट उद्धार सम्भव नभएपछि तत्कालीन सरकारका गृहमन्त्रीकै नेतृत्वमा टोली अवस्था अध्ययनका लागि बाजुरा आइपुगेको थियो।

साविक २७ गाविसमध्ये १६ भन्दाबढी गाविसको मानव बस्ती सार्नुपर्ने भूगर्भविद्ले सुझाव दिएका थिए। त्यही सिफारिसका आधारमा २०७२ सालमा एकीकृत बस्ती विकासको परीक्षणका लागि रु ७४ करोड रकम पनि विनियोजन गरिएको थियो। हाल त्यसको कुनै कार्यान्वयन र निरन्तरता हुन सकेको छैन।

बाजुराका दुई हजारभन्दा बढी परिवार अहिले पहिरोको उच्च जोखिममा छन्। उनीहरूले अहिले पनि पाँल टाँगेर बस्नुपर्ने, रातभर जाग्राम हुनुपर्ने बाध्य छन्। भिरालो र पाखो जमिन, चारैपतरबाट पहिरोको डर र बेला बेलाको भूकम्पले चिराचिरा परेका जमिन र घर झनै जोखिम रहेको स्थानीय बताउँछन्। जिल्ला प्रशासन कार्यालयले भने पनि पालिकास्तरीय तयारी पनि हुनुपर्ने र जिल्ला तहमा प्रशासनको पूर्वतयारी पनि गरिएको बताएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .