नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य नरेन्द्र बिष्टसहित बैतडी जिल्ला अध्यक्ष महादेव भट्टसहित केही नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन्।
बिहीबार बैतडीको गोठालापानीमा आयोजित आमसभामा उनीहरुलाई एमाले अध्यक्ष ओलीले स्वागत गरेका छन्।
एकीकृत समाजवादीका दार्चुला जिल्ला इन्चार्जसमेत रहेका बिष्ट एमाले बैतडीका अध्यक्ष पनि थिए।
उनी एमाले विभाजन भएर माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका थिए।
एमालेले सुरु गरेको झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा आयोजित आमसभामा ओलीले टीका लगाएर उनीहरुलाई स्वागत गरे।
एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारी पनि एमालेमा फर्किएका छन्।
प्रभावशाली नेतासहित पार्टीको ठूलो पङ्क्ति एमालेमै फर्किएपछि माधव कुमार नेपालको एकीकृत समाजवादीलाई बैतडीमा झट्का लागेको छ।
कांग्रेसबाट कारबाहीमा परेका सरस्वती कोली र रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन्।
गत स्थानीय तहको निर्वाचनमा असहयोग गरेको भन्दै उनीहरुलाई कांग्रेसले कारबाही गरेको थियो।
Shares
प्रतिक्रिया