कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्का महाकाली सिँचाइको नहरको भित्री सडक किनारमा भइरहेको फोहर व्यवस्थापनको तयारीमा थिए। फोहर व्यवस्थापनको दिगो समाधान गर्न बिहीबार टोलबासीसँग छलफलका लागि उनले सूचना जारी गरेका थिए।
यद्यपी खड्काले टोलबासीसँग छलफल गर्न पाएनन्।
सडक सफाइको पहल लिएका खड्का त्यही सडकमा असरल्ल छोडिएका खानेपानी पाइपको धरापमा परे। बिहीबार बिहान उनी मृत भेटिए।
भीमदत्त नगरपालिका–६ ऐंठपुरस्थित महाकाली सिँचाई नहरको सडकमा खड्काको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो। सँगै उनले चलाएको म १ प ४८५२ नम्बरको मोटरसाइकल लडेको थियो। हेल्मेट पहिरिएका खड्का घोप्टो अवस्थामा थिए।
उनको खुट्टाको एउटा जुत्ता फुत्किएर सडकमै थियो। मृतक खड्काको निधारमा चोट छ भने हात खोस्रिएको छ।
घटनास्थल नजिकै सडक छेउमा खानेपानीको पाइपहरु छन्। एउटा पाइप सडकको बीचमा रहेको प्रहरीले जनाएको छ।
‘त्यही पाइपमा ठोक्किएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक आशंका छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर डीएसपी प्रकाश डाँगीले भने।
घटना बुधबार राति भएको हुनसक्ने आशंका छ। बिहीबार बिहान सडकमा मानिस र मोटरसाइकल लडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
वडाअध्यक्ष खड्का बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा सहभागी भएका थिए। त्यसपछि प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीको बिदाइ कार्यक्रममा पनि उनी सहभागी भएका थिए।
खड्का भीमदत्त नगरपालिका–६ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्ष बनेपछि उनले भीमदत्त नगरको प्रवक्ताको जिम्मेवारी पनि पाएका थिए।
उनका दुई छोरा छन्। एक छोरा एमबीबीएस अध्ययन गरिरहेका छन् भने अर्का आइटी इन्जिनियर हुन्। दिल्ली र काठमाडौँमा रहेका उनीहरु घटनापछि महेन्द्रनगर फर्किरहेका छन्।
विद्यार्थी जीवनदेखि नै खड्का नेपाली कांग्रेसमा आबद्ध भएका थिए। वि.सं. २०५४/०५६ तिर उनले कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए। विभिन्न संघ संस्थमा आबद्ध भएर सामाजिक कार्यमा उनी अग्रसर हुन्थे।
खड्काको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीम भट्ट बताउँछन्।
‘उहाँ सरल र मिलनसार स्वभावको हुनुहुन्थ्यो। पार्टीमा विभाजन आउँदा पनि समन्वयकारी भूमिका निर्वाह गर्नुहुन्थ्यो’, उनले भने, ‘दुःखद खबरले पार्टीलाई निकै ठूलो क्षति पुगेको छ।’
खड्काको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको छ। प्रहरीले मुचुल्का तयार पारेर घटनास्थलबाट शव पोष्टमार्टमका लागि अस्पताल पुर्याएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने डीएसपी डाँगीले बताए।
‘शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ’उनले भने।
Shares
प्रतिक्रिया