नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार अल्पमतमा छ। सरकार जोगाउन भगीरथ प्रयासमा रहेका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार मन्त्रिमण्डल विस्तार गरे।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट तीन मन्त्री थपेपछि उक्त पार्टीमा रडाको मच्चिएको छ। नाउपाको समर्थन सुनिश्चित गरेर सरकार जोगाउन थप दुई सांसद जुटाउने प्रयासमा रहेको कांग्रेस नाउपाभित्रको रडाकोले झस्किएको छ।
नाउपाले समर्थन कायम राखे राप्रपा र स्वतन्त्र सांसदलाई पनि सरकारमा सामेल गर्ने कांग्रेसको योजना थियो। राप्रपा सरकारमा सामेल हुने नहुने निर्णय शनिबार बस्ने केन्द्रीय कार्य समितिको बैठकले गर्ने र सोहीअनुसार अघि बढ्ने यस पार्टीकी एक मात्र सांसद खेमादेवी विष्ट बताएकी छन्।
नाउपा एक ढिक्का भए सुदूरपश्चिममा कांग्रेसलाई सरकार जोगाउन राप्रपा र स्वतन्त्र सांसद ताराप्रसाद जोशीको साथ आवश्यक पर्छ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। प्रदेश सभामा रहेका कांग्रेसका १८ र नाउपाका ७ सहित २५ जनाको साथ अहिले सुदूरपश्चिम सरकारलाई छ। नाउपा प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले पार्टी केन्द्रको निर्णयबिनै सरकार विस्तारमा सामेल हुने निर्णय गरेपछि उक्त पार्टीभित्रै रडाको मच्चिएको छ। पार्टी अध्यक्ष रञ्जिता चौधरीले कारबाहीकै चेतावनी दिइसकेकी छन्।
यस्तो अवस्थामा सरकारमा सामेल हुन स्वतन्त्र सांसद पनि हच्किएका छन्।
कांग्रेस नेतृत्वको सरकारमा सामेल हुन स्वतन्त्र सांसद जोशीलाई प्रस्ताव गरिएको छ। नेकपा एमालेले पनि जोशीसँग निरन्तर संवाद अघि बढाइरहेको छ।
कांग्रेस नेतृत्वको सरकारमा सामेल हुनुहुन्छ? भन्ने प्रश्नमा जोशीले राजनीतिक स्थिरताका लागि भूमिका निर्वाह गर्ने भन्दै अमूर्त जवाफ दिए।
‘सरकारमा सहभागी हुन प्रस्ताव आएको हो। सरकारमा सामेल पार्टीभित्र समस्या देखियो। यस्तो अवस्थामा कसरी बहुमत जुट्छ?’, उनले भने, ‘मैले राजनीतिक स्थिरताका लागि भूमिका निर्वाह गर्छु। अहिले म एक्लै व्यक्तिभन्दा पनि स्थिरताको लागि भूमिका पार्टीको बढी देखिन्छ।’
Shares
प्रतिक्रिया