सत्ता गठबन्धन फेरबदलसँगै सुदूरपश्चिम प्रदेशमा निर्णायक शक्तिका रूपमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र किचलो देखिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाउने विषयले नागरिक उन्मुक्ति पार्टी दुई धारमा बाँडिएको हो।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार राति मन्त्रिमण्डल विस्तार गर्दा नाउपा संसदीय दलका नेता घनश्याम चौधरी अन्य दुई सांसदका साथ मन्त्री बनेका छन्।
नाउपाका घनश्यामलाई आर्थिक मामिला मन्त्री, खुसीराम चौधरीलाई बिनाविभागीय र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री बनाइएको छ।
नाउपाकै राज्यमन्त्री रहेका कैलाश चौधरीलाई भने फिर्ता बोलाइयो। उनले पार्टीभित्र कुनै छलफल नै नगरी मन्त्रीबाट हटाएको गुनासो गरेका छन्।
‘मैले समाचार हेरेर थाहा पाएँ। छलफल नै नगरी मन्त्रीबाट हटाइयो’, चौधरीले नेपालखबरसँग भने, ‘पार्टी विधि र पद्धतिबाट चल्नुपर्छ। विधिभन्दा व्यक्ति हाबी भएको महसुस भएको छ।’
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पनि चौधरीलाई बल पुग्ने गरेर बोलेकी छन्। यो निर्णय आफूहरूको सल्लाहबिनै भएकाले सरकारमा थपिने मन्त्रीलाई कारबाही गर्ने केन्द्रीय अध्यक्ष श्रेष्ठले बताइन्।
निर्वाचन आयोगले रेशमलाल चौधरीलाई पार्टी अध्यक्षको मान्यता नदिएर श्रेष्ठ नेतृत्वकै कार्यसमितिलाई ब्युँताएको छ।
पुस २६ गते कैलालीको टीकापुरमा राष्ट्रिय महाअधिवेशनमार्फत चौधरीको नेतृत्वमा नाउपाको नयाँ कार्यसमिति गठन भएको थियो।
सत्ता फेरबदललगत्तै निर्वाचन आयोगले नाउपाको अध्यक्षमा रेशमलाल चौधरीलाई मान्यता नदिएर रञ्जिता श्रेष्ठलाई नै कायम गरेको थियो।
रेशमले केन्द्रीय समिति अद्यावधिक गराउन माघ २९ मा आयोगमा पत्र पठाएका थिए।
कैलालीको टीकापुरमा ७ प्रहरी र एक नाबालकको हत्याका योजनाकार भएको ठहरसहित सर्वोच्च अदालतबाट जन्मकैद तोकिएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले माफी दिएपछि बाँकी कैद मिनाहा भएको थियो।
महाधिवेशनमै नाउपामा रेशम र उनकी पत्नि रञ्जिताबीच अध्यक्षका लागि विवाद चुलिएको थियो। कैदमुक्तपछि खुला राजनीतिमा सक्रिय हुन खोजिरहेका रेशम र रञ्जिता दुवैले अध्यक्षमा दाबी गरे।
त्यसबेला रञ्जिता उम्मेदवारी नदिएरै महाधिवेशनस्थल समेत छाडेर हिँडेकी थिइन्। अहिले उनै रञ्जिता अध्यक्षमा पुन:स्थापित भएकी छन्।
अध्यक्षमा मान्यता नपाएका रेशम चौधरी अहिले धनगढीमा छन्।
शुक्रबार राति मन्त्री बनेका सांसदहरू उनीनिकट मानिन्छन्।
नाउपाका नेताहरूका अनुसार रेशमकै जोडबलमा अहिले उनीहरू सुदूरपश्चिम सरकारमा सामेल भएका हुन्।
निर्वाचन आयोगले आधिकारिक अध्यक्ष ठहर गरेकी रञ्जिताले मन्त्री फिर्ता बोलाउन निर्देशन नै जारी गरेकी छन्।
आर्थिक मामिलामन्त्री बनेका नाउपा सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता घनश्याम चौधरी समर्थन फिर्ता नलिएको अवस्थामा मन्त्रिमण्डलमा आफूहरू सहभागी भएको बताए।
‘हामी सरकारबाहिर थिएनौँ। मन्त्रालय रिक्त हुँदा थपिएका मात्रै हौँ’, उनले भने, ‘अल्पमतमा हुँदा सरकार ढल्छ। त्यपछि हामी स्वत: बर्हिगमन हुन्छौँ। बहुमत जुटाउनेले सरकार बनाउँछ।’
रञ्जितानिकट उन्मुक्तिको एउटा पंक्ति एमाले नेतृत्वको नयाँ गठबन्धनसँग निरन्तर संवादमा छ।
रञ्जिता कांग्रेससहितको गठबन्धन भत्किनुअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री थिइन्।
पार्टीभित्रको आन्तरिक कलहकैबीच नागरिक उन्मुक्ति सरकारमा सामेल पनि हुने र नयाँ गठबन्धनसँग संवाद पनि अघि बढाउने रणनीतिमा देखिएको छ।
Shares
प्रतिक्रिया