अधिकांशले सेता लुगा लगाएका छन्। सबै अबिरले रंगिएका। अनुहारभर रंगैरंग।
युवादेखि वृद्धसम्म गोलो घेरामा छन्। एक जना बीचमा ढोलक बजाइरहेका, अर्का गीत गाउँदै। गोलो घेरामा रहेका अरू सोही गीतको भाकालाई पछ्याउँदै दोहोर्याएर गाउँदैछन्।
यो कञ्चनपुरको भीमदत्त नगरपालिका–४, महेन्द्रनगरमा देखिएको रुपाली होलीको दृश्य हो।
डडेल्धुराको रुपाल क्षेत्रमा मनाइने होली हुनाले यसलाई रुपाली होली भनिएको हो। हाल बसाइँसराइसँगै महेन्द्रनगरमा पनि रुपाली होली मनाउने गरिएको छ।
बसाइँ सरी तराई झरेका रुपाल समुदायका बासिन्दाले संस्कृति संरक्षणका लागि तराईमै रुपाली होली मनाइरहेका छन्। वृद्धहरू नयाँ पुस्तालाई सँगै लिएर मौलिक पहिचान बोकेको आफ्नो समुदायको होली सिकाउँदै छन्।
‘असत्यमाथि सत्यको जितको खुसीयालीमा होली पर्व मनाइन्छ,’ रुपालका आरडी जोशी भन्छन्, ‘यो परापूर्वकालदेखि मनाइँदै आएको हो। संस्कृति संरक्षणका साथै पुस्तान्तरणका लागि नयाँ पिँढीलाई सँगै राखेर पर्व मनाउँदै छौँ।’
उनका अनुसार रूपाली होली अष्टमीदेखि चतुर्दशीसम्म चल्छ। देवीदेवताको मन्दिरबाट होलीको सुरुवात गरिन्छ। मन्दिरमा बाँसको लिंगो गाडेर त्यसको टुप्पोमा चीर बाँधेपछि होलीको शुभारम्भ भएको मानिन्छ। उक्त दिन देवीदेवताकै गाथा र गीतहरू गाइन्छन्।
रुपाल क्षेत्रमा गाउँगाउँमा गएर होली खेल्ने चलन छ। त्यसपछि अन्तिम दिन सबै गाउँको होली एकै ठाउँमा जम्मा भएर समापन गरिन्छ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्तर्गत पर्ने जिमुवा, निम्बुखेडा, महुलिया र गोबरियालगायत क्षेत्रमा अचेल रुपाली होली अधिक मनाउने गरिएको छ।
भारतको मथुराबाट पुर्खौँ पहिले रुपालमा होली भित्रिएको बुढापाका बताउँछन्। पहाडबाट कञ्चनपुर र कैलालीका विभिन्न ठाउँमा छरिएर रहेका रुपाल क्षेत्रका बासिन्दा मौलिक रुपाली होलीमा रमाउने गरेको विवेक जोशी बताउँछन्।
‘डडेल्धुराको रुपालमा पुर्खादेखि होली खेलिँदै आएको हो। बसाइँ सरेर छरिएपछि अहिले जहाँ छौँ, त्यहीँ जुटेर होली मनाउँछौँ,’ उनले भने, ‘यो सुदूरपश्चिमको ऐतिहासिक होली हो।’
रुपाली होलीका जानकार स्थानीय देवदत्त जोशीका अनुसार यसमा देवीदेउताको गीत गाउने गरिन्छ।
सामाजिक सद्भाव र भ्रातृत्व अभिवृद्धिका लागि पनि होली मनाउने गरिएको छ। रुपाली मात्रै होइन, सुदूरपश्चिमका हरेक जिल्लामा ठाउँअनुसार होली पृथक तरिकाले मनाउने गरिएको छ।
होलीको अवसरमा घरभन्दा टाढा गएकाहरू घर फर्किने गर्छन्।
पहाडमा मनाइने होली बसाइँसराइसँगै तराई झरेको छ। कञ्चनपुर र कैलालीका रानाथारू समुदायको होली पर्व भिन्न छ। अछामी समुदायले सेतो जामासहितको लुगा लगाएर रङ नलगाई होली खेल्ने गर्छन्।
Shares
प्रतिक्रिया