सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार (आज) प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका छन्। त्यसका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्दै छ।
सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादले शाहले विश्वासको मत पाउने सम्भावना भने कम छ।
शाहले विश्वासको मत नपाए कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार ढलेर नयाँ सरकार गठनको बाटो खुल्ने छ।
नागरिक उन्मुक्ति पार्टीको विवादले मुख्यमन्त्री शाह विश्वासको मत पाउनेमा ढुक्क हुन सकेका छैनन्।
नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलले बिहीबार प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन र तटस्थ नबस्न ह्विप नै जारी गरेको छ।
त्यसअघि बुधबार नै अध्यक्ष रञ्जिता श्रेष्ठले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप लगाएकी छन्।
रेशमको इच्छाविपरीत नयाँ गठबन्धनप्रति लचिलो रहेर कांग्रेस नेतृत्वको सरकार ढाल्न कस्सिएकी श्रेष्ठले बुधबार नाउपाकी समानुपातिक सांसद इन्द्रिरा गिरीलाई बर्खास्त गरेको पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेकी छन्।
रेशमकै जोडबलमा रञ्जिताको चाहनाविपरीत नाउपाका ७ सांसदमध्ये ५ जना सुदूरपश्चिम प्रदेश सरकारमा सामेल छन्। सरकार बाहिर रहेका सांसदद्वय कैलाश चौधरी र टीका थापा रञ्जितानिकट प्रदेश सांसद मानिन्छन्।
उनीहरूले विश्वासको मत नदिन सक्ने सम्भावना छ। विश्वासको मत लिँदा नाउपाका कुनै सांसद अनुपस्थित भए, विपक्षमा रहे वा तटस्थ बसे भने मुख्यमन्त्री शाहलाई विश्वासको मत पुर्याउन कठिन छ।
प्रदेश सभामा विश्वासको मतका लागि जोखिम मोल्ने कि त्यसअघि नै राजीनामा दिएर सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने मुख्यमन्त्री द्विविधामा छन्। त्यसअघि बिहान संसदीय दलको बैठकमा छलफल गरेर निर्णय लिने उनको तयारी छ।
नाउपाका सांसद एकढिक्का भएर विश्वासको मत दिए पनि मुख्यमन्त्री शाहलाई सरकार जोगाउन थप दुई सांसदको आवश्यकता पर्ने छ। ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन चाहिन्छ।
नेपाली कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ सांसद मात्र समर्थनमा रहेको कांग्रेस नेतृत्वको सरकार अल्पमतमा छ। नाउपा एकढिक्का भएर विश्वासको मत दिए सरकार जोगाउन राप्रपा र स्वतन्त्र एक/एक सांसद निर्णायक छन्।
सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १० र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्।
Shares
प्रतिक्रिया