नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि अन्तत: चुनाव भएको छ। अहिले मतदान जारी छ।
नेतृत्वका आकांक्षीबीच सहमति नजुटेपछि एमाले कैलालीको नेतृत्वसहित पदाधिकारी चयन प्रक्रिया निर्वाचन प्रक्रियामा गएको हो।
त्यसका लागि अधिवेशनस्थल कैलालीको सुख्खडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा जारी मतदान दिउँसो १ बजेसम्म चल्ने छ।
नेताहरुले सहमतिमा नेतृत्व टुंगो लगाउन एक सातादेखि भगीरथ प्रयास गरे। तर सो प्रयास सफल हुन सकेन।
सहमति खोज्न अधिवेशन सुरु हुनुअघि नै एमालेले आकांक्षीबाट इच्छापत्र मागेको थियो। आइतबार अध्यक्ष केपी शर्मा ओलीले रातिसम्म सहमति नभए सोमबार नै निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।
तर मंगलबार मात्र प्रक्रिया थालेको निर्वाचन कमिटीले पटक-पटक समय सारेको थियो। बिहीबार पाँचौँ दिनसम्म अधिवेशनलाई अनिर्णयको बन्दी बनाएको भन्दै प्रतिनिधिले अधिवेशनस्थलमै नाराबाजी नै गरेका थिए।
आकांक्षीबीच सहमति खोज्न निर्वाचन प्रक्रिया सारिए पनि सहमति नजुटेपछि नेतृत्व चयनका लागि शुक्रबार मतदान भइरहेको हो।
एमालेको नेतृत्वका लागि कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्वप्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा छन्।
एमाले कैलालीका नेताहरुका अनुसार उपाध्यक्षमा ढुंगानाको प्यानलबाट दलबहादुर विष्ट, जोशी प्यानलमा विष्णु चौधरी र पाण्डे प्यानलमा लोकेन्द्र शाही छन्।
यस्तै उपाध्यक्षमा गजेन्द्र स्वार, मदन ओझा र वीरेन्द्र बहादुर रावलको पनि उम्मेदवार छन्। सचिव पदमा ढुंगानाको प्यानलबाट विष्णुकुमार चन्द, जोशीको प्यानलबाट दानबहादुर विश्वकर्मा र पाण्डेको प्यानलबाट ममताप्रसाद चौधरी उम्मेदवार छन्।
उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजाल उम्मेदवार छन्।
महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी र शान्ति देवी सिंहले उम्मेदवारी दिएका छन्।
अध्यक्षसहित ५ पदाधिकारी गरेर १५२ सदस्यीय जिल्ला कमिटी चयन गर्न कैलालीका १३ वटा स्थानीय तहबाट ५९१ जना प्रतिनिधि छन्।
Shares
प्रतिक्रिया