कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलिमिलाका मंगल बुढा तीन दशकअघि बाजुराबाट तराई झरे। पहाडको जमिनमा अन्नपात उब्जाउ नभएर तराईमा झरेका उनी खेती गर्ने जमिनको खोजी गर्न थाले।
वि.सं. २०४८ सालमा बेलडाँडीको झिलमिलास्थित उर्वरभूमिमा लटरम्म धानको बाला झुलेको देखेपछि १० कट्ठा जग्गा किने, मंगलले। त्यसपछि झिलिमिलामै बस्दै आएका उनले करिब ४ वर्ष उक्त जमिनमा राम्रैसँग खेती गरे।
तर अहिले भने मंगलको जमिन सिमसारमा परिणत भएको छ। ‘उत्पादन देखेर अत्तरिया छोडेर यहाँ जग्गा किनियो, केही वर्ष त खेतीपाती पनि राम्रै भयो,’ उनी भन्छन्, ‘तर अहिले खेतीभर पानी नै पानी भएर खेती लगाउनै सकिदैन।’
भएको जमिनमा खेती गर्न नसकेर खाद्यन्न किनेर खानु पर्ने अवस्था आएको उनले बताए। उनी खेतमा उब्जाउ नभएपनि भारतमा मजदुरी गरेर कमाएको पैशाले बजारबाट खाद्यन्नको जोहो गर्ने गरेका छन्।
‘जमिन छ भन्नु मात्रै हो। पानी भरिएर जमिन पूरै सिमसार भएको छ’, उनले भने। झिलमिलाका नारायण रोकाया अचेल ट्याक्टरले जमिन जोत्ने प्रयास गरिरहेका छन्।
यहाँ उनको अढाइ बिगाह जमिन छ। उनी चैते धान खेतीको लागि तयारी गरिरहेका हुन। ‘चिम्ट्याउलो हिलोले ट्याक्टरका दुई क्याचह्विल तोडिसक्यो। बिहानदेखि १५/२० लिटर डिजेल सकिँदा पनि अहिलेसम्म दुई गह्रा जोत्न सकिएको छैन,’ नारायणले भने, ‘जमिनमुनिबाट पानी आउँछ। पूरै जमिन दलदल छ।’
उनका अनुसार चैते धान खेतीका लागि बेर्ना तयार भइसकेको छ तर अझै जमिन जोत्न सकिएको छैन। गतवर्ष १५ बोरा मात्रै धान उत्पादन भएको उनले बताए।
‘सुरुमा जमिन किन्दा ३०/४० क्विन्टल धान उत्पादन हुन्थ्यो। खानलाई प्रशस्त भएर बाँकी बेच्थ्यौँ’, उनले भने, ‘घरखर्च पनि चलेको थियो। अहिले खेती नै गर्न नसकेर कमाउन भारततिर जानुपर्छ।’
उनी बझाङको खप्तडछान्नाबाट झिलमिला बसाइँसरेका हुन। वि.सं. २०५२ सालमा महाकाली सिँचाइको नहर आएपछि जमिन सिमसारमा परिणत भएको थियो।
नारायणका अनुसार नहरका लागि चौधर नदीको धार परिवर्तन गरिएपछि जमिन दलदल बनेको हो। ‘चौधर नदीमा बाढीले माटो भरिएर अग्लो भयो। हाम्रो जमिन होचो भूभागमा पर्यो। जसले गर्दा पानीको प्रेसर तलतिर परिरहेको छ,’ उनी भन्छन्, ‘त्यसपछि जमिन सिमसार बन्यो। नहर आउनुअघि जमिन यस्तो थिएन।’
उनका अनुसार नहर आउनुअघि चौधरी नदी स्थानीय इमलिया बन्ने ठाउँबाट सीधै भारततर्फ बग्ने गरेको थियो। नहरका लागि चौधरी नदीको धार परिवर्तन गरेर इमलिया, शिवनगर, भुडा हुँदै भारततर्फ लगाइएको उनको भनाइ छ।
बेलडाँडी गाउँपालिका–१ र ५ को झन्डै ३ सय विगाह जमिन सिमसारमा परिणत भएको छ। खेतमा पानीको मूल फुट्न थालेपछि खेती गर्न नपाएर किसान समस्यामा छन्।
‘ट्याक्टरले जोतेर खेती गर्ने धेरै प्रयास गर्यौँ। धेरै खर्च लागेर पनि खेती गर्न सक्ने अवस्था छैन,’ स्थानीय तेजबहादुर रावतले भने, ‘कुनै बेला बेलडाँडीको सबैभन्दा उर्वर जमिन अहिले सिमसार बनेर बाँझै छाड्नुपरेको छ।’
झिलमिलामा रावतको ८ कट्ठा जमिन छ। चैते धान खेतीमा पनि लगानी धेरै लाग्ने र उत्पादन नै नहुने गरेको उनले बताए। ‘किसानले बाँझै छाडेको जमिन सित्तैमा ठेक्कामा लिएर खेती गर्न खोजे। तर खेती गर्नै सकिएन,’ उनले भने, ‘लगानी धेरै लाग्न थाल्यो। सिमसार हुनाले उत्पादन नै भएन।’
उनका अनुसार भाद्रदेखि चैत्रसम्म महाकाली नहरमा पानी बन्द गरे खेती गर्न सकिने सम्भावना छ। इमलियास्थित चौधर नदीमा पानी छोड्ने गेट बनाएर हिँउदमा शिवनगरतर्फ र बर्खामा चौधर नदीको पुरानै धारतर्फ पठाउन सके किसानलाई खेतीमा सहजता हुने उनको भनाइ छ।
बेलडाँडी गाउँपालिका–५ का अध्यक्ष इन्द्र बहादुर खड्काले करिब ३ विगाह जमिन सिमसार बनेर खेती गर्न लायक नै नरहेको बताए। यो क्षेत्रलाई सरकारले सिमसार क्षेत्र घोषणा गरेर यहाँका किसानका लागि राहतको प्याकेज ल्याउनु पर्ने उनको भनाइ छ।
‘पानी भरिएर सयौँ मेट्रिक टन धान गहुँ उत्पादन हुने उर्वर भूमि सिमसार बनेको छ,’ उनले भने, ‘यसलाई सरकारले आधिकारिक रुपमा सिमसार क्षेत्र घोषणा गरेर किसानका लागि राहतको प्याकेज ल्याउनुपर्छ।’
Shares
प्रतिक्रिया