बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गठबन्धनको मूल स्पिरिट कायम हुनेगरी आगामी कदम तय हुने बताएका छन्।
बागमती प्रदेश सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण पनि पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुने उनले जानकारी गराएका छन्।
मुख्यमन्त्री पाण्डेका विरुद्ध कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर अभियान सुरु गरेका समाचारहरु बाहिरिएपछि पाण्डेले यस्तो बताएका हुन्। आधा–आधा समय पाण्डे र कांग्रेसका इन्द्र बानियाँले मुख्यमन्त्री पद लिने सहमति पछिल्लो पटक भएको थियो।
गोप्य राखिएको उक्त सहमतिपत्र बाहिरिएपछि पद छाड्नुपर्ने दबाबमा मुख्यमन्त्री पाण्डे छन्।
पाण्डेले यसअघि बजेट पारित भएपछि केन्द्रको निर्णयलाई सम्मान गर्ने बताएका थिए। आजमात्रै बागमती प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित भएको छ। बजेट पारित भएसँगै कांग्रेस र माओवादीका सांसदहरुले दबाब बढाउन हस्ताक्षर संकलन अभियान नै संकलन गर्न थालेका छन्।
‘बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुनेछ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन्।’
Shares
प्रतिक्रिया