ad ad

बागमती


भरतपुर अस्पताल : २४ घण्टासम्म चिकित्सक नआउँदा...

भरतपुर अस्पताल : २४ घण्टासम्म चिकित्सक नआउँदा...

नारायण अधिकारी
असार २६, २०७९ आइतबार १३:३१, चितवन

चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ। विडम्बना! यहाँस्थित भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन्। अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा  २४ बिरामी छन्। 

पुरुष मेडिकल वार्डका १४ नम्बर शय्यामा रहेका ५५ वर्षीय श्याम सार्कीले भने, ‘डाक्टर साहेब नआनुभएको २४ घण्टा भयो।’ उसो त अस्पतालको क्याबिनमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकसँग भेट्न पाएका छैनन्। 

क्याबिनका नर्ससँग ‘चिकित्सकको रोस्र्टर’समेत छैन।  बिहान वार्डमा पुग्दा सबै बिरामी चिकित्सकको पर्खाइमा थिए। वृृद्धवृद्धा वार्डका १० बिरामी पनि चिकित्सक ‘कहिले आउलान्’ भनेर प्रतिक्षा गरिरहेका देखिन्थे। आक्कल झुक्कल आउने ‘मेडिकल अफिसर’ र ‘आवासीय चिकित्सक’को सुझावअनुसार बिरामीलाई औषधि दिने गरेको नर्सहरूले बताए। 

महिला मेडिकल वार्डका नर्सहरुले दिएको जानकारीअनुसार शनिबार साँझको पालो डा ऋतुराज तिवारीको हो। बिरामीका आफन्तका अनुसार शनिबार बिहानको राउन्ड सिध्याएपछि एकजना चिकित्कसकले पनि वार्डमा ‘राउन्ड’लगाउनुभएन’, उनीहरू भन्दै थिए, ‘कम्तीमा चिकित्सकले हेरिदिएको भए, मन सन्तोष हुन्थ्यो।’

त्यसो त चिकित्सकले बिरामी हेरेपछि आधा निको यसै हुने उनीहरूको बुझाइ छ। 

शनिबार दिउँसो भर्ना भएका बिरामीले चिकित्सकीय परामर्श आज बिहानसम्म पाउन सकेका छैनन्। अस्पतालका २० क्याबिनसहित मेडिकल वार्डका सबै शय्यामा बिरामी छन्। 

चितवनसहित २१ जिल्लाबाट विपन्न बिरामी यहाँ उपचार गर्न आउने गर्छन्। आफ्नो ड्युटीमा नगएका डा तिवारीले टेलिफोनमा भने, ‘गल्ती भयो, अब म गर्दिनँ।’ यसअघि पनि डा तिवारी राउन्डमा नजाने गरेको नर्सहरूको गुनासो छ। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले राउन्डमा नजाने चिकित्सकलाई कारबाही गर्ने जानकारी दिए। उनले भने, ‘तालिकाअनुसार आफ्नो जिम्मेवारी पूरा नगर्ने चिकित्सकलाई तत्काल कारबाही हुन्छ।’ 

भरतपुर अस्पताल सङ्घीय अस्पतालभित्र पर्छ। पछिल्ला दिनमा अस्पताल सुधारोन्मुख भए पनि केही चिकित्सकको अटेरीका कारण बिरामीले दुःख पाउने गरेका छन्। 

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुनासो आफूले सुनेलगत्तै मेडिकल सुपरिटेन्डेन्टसँग यस विषयमा कुरा भएको बताए। उनले अस्पताल विकास समितिको कर्मचारी भए समितिले र निजामतीको भए प्रशासनमार्फत कारबाहीका लागि सिफारिस गरिने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .